किन राजा फर्काउन मरिहत्ते गर्दैछन् कोही कोही !

किन राजा फर्काउन मरिहत्ते गर्दैछन् कोही कोही !

राजा अब कुनै संस्था होइन र हुन पनि सक्ने छैन । गाउँघरतिर हुनेखानेका छोराहरूलाई भन्ने वा बोलाउने शब्द बनिसकेको छ राजा । खासगरी ठिटाहरूले साँझ रमाइलो गर्न कसैलाई मुड्नुपर्‍यो भने राजा भनेर मस्का लगाउने गर्छन् । राजा शब्द आजभोलि यत्तिमै सिमित हुन पुगेको छ । बरु अहिले त देशमा राजा होइन वडाध्यक्ष बन्न चाहन्छन्, मेयर र सांसद बन्न चाहन्छन् युवाहरु । आफू राजा बन्ने र अरूलाई रैती बनाउने सोच कसैमा छैन र युवापंक्तिमा त झनै छैन ।

हिजो राजाको आडभरोसामा हैकम चलाउन पल्केकाहरू, तर मार्न बानी परेकाहरू राजालाई ल्याएर फेरि पनि पुरानै तरिकाले हैकम चलाउन चाहन्छन् । यसलाई अन्यथा भन्न मिल्दैन । लोकतान्त्रिक व्यवस्थामा आफ्नो आस्था, विचार खुलेआम प्रकट गर्न पाइन्छ । यही स्वतन्त्रता राजावादीले उपभोग गरिरहेका छन् र ज्ञानेन्द्रले पनि, बस् कुरा यही हो । तर, यी मानिसले किन देशमा राजा चाहिन्छ भन्ने हिम्मत गर्न सकेको होला भन्ने सवालमा धार्नी बराबरकै वजन छ है ! किन लोकतन्त्रमा पनि राजा मागिरहेका छन् पुराना पञ्चले र मान्छेले सुनिरहेका छन् तिनका कुरा ? यो कुरा बुझ्ने काम भने लोकतन्त्रवादी, गणतन्त्रवादीको हो । 

हामीले अपेक्षा गरेको कुरा के थियोे भने देशमा गणतन्त्र आएपछि, संघीयता लागू भएपछि, धर्मनिरपेक्षता, समावेशीता अनि समानुपातिक शासन प्रणाली लागू भएपछि बहुसंख्यक गरिब नेपालीको मुहार फेरिनेछ, देशमा सुशासन कायम हुनेछ, युवाहरूले देशमै रोजगारी पाउनेछन्, मजदुरले आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउनेछन्, किसानले मल, सिञ्चाइ र बीउ समयमा पाउनेछन् र तिनको उत्पादनले उचित मूल्य पाउनेछ, बिरामी पर्दा उपचार गर्न घरखेत बेच्नुपर्ने अवस्था रहनेछैन, शिक्षा सबैको निम्ति एउटै हुनेछ भन्ने थियोे । अरु पनि धेरै कुरा छन् जो पूरा हुनेछन् भन्ने आशा मात्रै होइन भरोसा पनि थियो जनतामा ।

किन लोकतन्त्रमा पनि राजा मागिरहेका छन् पुराना पञ्चले र मान्छेले सुनिरहेका छन् तिनका कुरा ? जनताले टोकियो, लण्डन वा न्युयोर्कजस्तो शहर पनि खोजेका थिएनन् ।

यी जनताका एकदमै साना र तल्लो तहका अपेक्षा हुन् । जनताले स्मार्ट सिटी, बुलेट ट्रेन, मेट्रो, खोजेका थिएनन् । जनताले टोकियो, लण्डन वा न्युयोर्कजस्तो शहर पनि खोजेका थिएनन् । तिनले त बिजुली, पानी, सडक, रोजगारी, स्वास्थ्य, शिक्षा यस्तै मात्रै खोजेका हुन् । हामीले खोजेको शासन प्रणाली पाउँदा पनि हामीले राखेको अपेक्षाअनुसार देश अघि बढ्न सकेन । यसमा जनताको कुनै दोष छैन र भूमिका पनि छैन । युवाहरू बिदेसिएको तथ्यांकले बताउँछ रोजगारीको अवस्था कस्तो छ भनेर । किसानको अवस्था कस्तो छ भन्ने कुरा तरकारी बजारमा पुग्दा थाहा हुन्छ ।

शिक्षा कस्तो छ भन्ने कुरा थाहा पाउन अर्थात् शिक्षाको गुणस्तर हेर्न सामुदायिक विद्यालय तथा महँगो शुल्क हेर्न संस्थागत विद्यालयमा गए पुग्छ । अस्पताल त कस्ता–कस्ता छन् भने पैसा छ बिरामीको घरमा भन्ने थाहा पाउनुपर्छ प्राण गएको बिरामीलाई पनि पुनः भेन्टिलेटरमा फर्काएर जीवितै छ भन्ने देखाउँछन् । देशको स्वास्थ्य क्षेत्र मानवता नभएको क्षेत्र बन्दै गइरहेको छ । यस्तो किन हुन गएको होला ? यस्तो भएपछि नेता र व्यवस्थाप्रति माया पलाउँछ कि वितृष्णा पलाउँछ ? स्वाभाविक छ वितृष्णा नै पलाउँछ । सुशासनको अवस्था पनि कम्ती कहालीलाग्दो छैन ।

नगरपालिकाका कार्यकारीदेखि अन्य अधिकारी घुस लिँदालिँदै गिरफ्तार भएको दृश्य टेलिभिजनमा देखिँदै छन् । मालपोत, यातायात, विद्युत्, नापी, जिल्ला प्रशासन, प्रहरी, आन्तरिक राजस्व, भन्सारमा, मालपानी आउने भनी कहलिएका अफिसहरूमा सरुवा हुन, कुनै पदमा बढुवा हुन कस्तो चलखेल हुन्छ भन्ने कुरा त शेषनागले पनि बयान गर्न नसक्लान् । पालिकाहरूमा मेयर र अध्यक्षहरूको ताण्डव नृत्य नै छ शिक्षक सरुवामा । जताततै अव्यवस्था छ, अस्तव्यस्त छ । सडक खनेर धुलाम्य छ देशैभरि, केही मतलव छैन । मीनेट मीनेटमा बत्ती जान्छ, लोडसेडिङ सकियो भनेको पनि वर्षौं भएको छ । सिञ्चाइ त छ तर पानी खेतमा हाल्न किसानले डिजेलको पम्पिङ सेट नचलाई धरै छैन । तराईका गाउँबस्ती छाडा गाईवस्तुले भरिएका छन् ।

अवस्था डाँको छोडेर रुनुजस्तो छ । अब यस्तो भएपछि मान्छे कहाँ जान्छन् ? जसले नकारात्मक परिस्थितिबाट फाइदा उठाउन खोजेका हुन्छन् र त्यस्तो परिस्थितिको पर्खाइमा बसेका हुन्छन् तिनीहरूलाई यी सबैकुरा राम्रो मसला बनिदिन्छन् । तिनीहरूले यस्तै विषयलाई उछालेर मान्छेहरूलाई भड्काउने काम गर्छन् । मान्छेहरू पनि वाक्कदिक्क भएर तिनका पछि लाग्छन् । अहिले देशमा जनता दिक्क हुने वातावरण बन्दै गइरहेको छ र राजावादी केही गर्न सकिन्छ कि भनेर हौसिएका छन् ।

जस्तो मौकाको खोजीमा थिए, अहिले ठिक्क त्यस्तै मिलेको छ । अहिले यही उपयुक्त मौका हो–हल्ला गर्ने भन्दै कन्दनी कसेर लागिरहेका छन् । यिनीहरूको पछाडि देखिएका केही मान्छे वर्तमानको अवस्था देखेर वाक्कदिक्क भएका छन् । लोकतान्त्रिक प्रणाली भएको देशमा जनता यसरी दिक्क हुने अवस्था बन्नु राम्रो होइन । के देशलाई यस्तैगरी अघि लैजाने सोच हो त गणतन्त्रवादीको ? हो भने त भन्नुपर्ने केही छैन । तर यस्तो होइन भने राजनीतिक दलले आफ्नो आचरण र व्यवहारमा आमूल सुधार गर्नु अति जरुरी भइसकेको छ । यो पाराले देश अघि बढ्दैन । यसले अराजकता र द्वन्द्वलाई बढाउने मात्रै काम गर्छ । 

लोकतन्त्रमा राजा चाहिन्छ भन्नेहरूलाई पनि भन्न छुट हुनुपर्छ । के चाहिन्छ र के चाहिन्न भनेर निर्णय त जनताले गर्ने हो । लोकतन्त्रको सुन्दरता नै देशभित्र सबैलाई असहमति जनाउन पाउने बराबरको स्पेश हुनु हो । तर, के–कति कारणले उनीहरूले यस्तो माग गर्न सके ? यसको जवाफ भने पोलिटिकल लिडरले जनतालाई दिनुपर्छ । र, मेरो बुझाइमा यसको सही जवाफ भनेको देशको वर्तमान राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा जण्ड सुधार नै हो । यस्तो अग्रगामी सुधार गरेर जनतामा भरोसा दिलाउनु नै हो ।

हुन तः देश बनाउने सबै मिलेरै हो तर देश बनाउने कामको नेतृत्व भने एउटा खास मान्छेले नै गर्ने हो, सबैमा नेतृत्व गर्ने क्षमता हुँदैन । हामीमा देखिएको ठूलो समस्या यही एकीकृत तरिकाले देशको नेतृत्व गर्ने क्षमता भएको नेता नहुनु भएको छ । देशको त कुरै छाडौं आफ्नो सानो दललाई एकीकृत राख्न सक्ने नेतासमेत देखिएनन् । आहुतीको दल फुट्छ, ऋषि कट्टेलको दल फुट्छ । कांग्रेस एमाले त कतिपटक फुटे–फुटे । रावणभन्दा नराम्रो सुनिएला, दशमुखे रुद्राक्षजस्ता छन् दलहरू । दलभित्र दल चलाएर बसेका छन् । यस्तो भएपछि जनताको अपेक्षा पूरा गर्ने काम गर्न सक्ने कुरै हुन्न । 

आजको नेतृत्वले देशमा व्याप्त नीतिगत भ्रष्टाचारलाई रोक्ने ल्याकत राख्छ त ? भन्दा राख्दैन । यो नेतृत्वले देशमा रोजगारी बनाउन सक्छ त भन्दा सक्दैन । सुशासन र पारदर्शिता अनि जिम्मेवारीबोध छ त भन्दा देखिन्न । आजको समस्या भनेका यिनै हुन् । यस्तो चिन्हित समस्याको पनि समाधन गर्न नसक्ने नेतृत्वले अरु अण्डर करेन्टमा रहेका समस्या पहिचान गर्लान् र समाधान देलान् भनेर भर पर्न सकिने अवस्था छैन । ‘जो जिता वही सिकन्दर’ भनेजस्तो सबै सिकन्दरजस्ता छन् । उसोभए उपाय के त ? यसको उपाय भनेको आजको अर्थशास्त्र, समाज, व्यापार, मुद्रा, साहित्य, कला बुझेको नयाँ नेताको हातमा नेतृत्व हुनु नै हो । 

अन्त्यमा, खासमा यी राजा चाहनेहरू र राजा बन्न चाहने ज्ञानेन्द्र शाह खुदलाई पनि जनआन्दोलन गरेर राजा फर्काउन वा राजा बन्नभन्दा लोकतान्त्रिक व्यवस्थामा चुनाव जिती मन लागेको बन्न वा बनाउन कैयौं गुणा सजिलो छ । जनतालाई रिझाउने, चुनावमा दुई तिहाई मत ल्याउने, संविधान संशोधन गर्ने र को राजा बन्ने हो, को भारदार बन्ने हो बन्ने । चुनाव जित्ने र आफूलाई अनुकूल हुनेगरी सबै व्यवस्था मिलाउने । लोकतन्त्रमा प्रधानमन्त्री, राष्ट्रपति हुन त झन् सजिलो छ, साधारण बहुमत ल्याए पुग्छ ।

चुनाव जित्नेलाई रोक्ने कौन माइका लाल होला ! बिनाचुनाव राजा ल्याउने त जनआन्दोलन गरेर मात्र हो । अनि अब गिरिजाप्रसाद जस्तो रत्नपार्कमा गएर टाउको फुटाउने काम त ज्ञानेन्द्रबाट सम्भव छैन । फेरि पशुपतितिर आरती उतार्ने उमेरमा पुगेकाबाट आजको राजनीति कसरी सम्हालिएला र जब उमेर हुँदा सम्हाल्न सकेनन् भने । तर, यहाँ एकदमै सकारात्मक कुरा त के छ भने जनताको मन जित्न सकेमा त पाँचै वर्षमा बन्न सकिन्छ राजा र भारदार, राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्री पनि । विचार गरे राम्रो है ! 
 

टिप्पणीहरू