विदेशीलाई नागरिकता कसले बेच्यो ?

विदेशीलाई नागरिकता कसले बेच्यो ?
सुन्नुहोस्

सुन तस्करीमा संलग्न विदेशी नागरिकले काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको नागरिकता र राहदानी खारेजीको प्रक्रियासँगै पक्राउ परेकाहरूसँग जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले थप अनुसन्धान शुरु गरेको छ । 

सुन तस्करीमा संलग्न भएबापत जेल पठाइएकामध्ये चार जनाले काभ्रेबाट नागरिकता खरिद गरेको बयान दिएका थिए । पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानबिनका क्रममा निमालगायत ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्यसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउँदा पनि उनीहरूमाथि कारवाही भएको थिएन । कारवाही नभएकै कारण थुप्रैले विभिन्न समयमा विभिन्न स्थानबाट नागरिकता, राहदानी बनाई अपराधको शृंखला शुरु गरे ।

प्रहरीले काभ्रेबाट नागरिकता र राहदानी लिएका चिनियाँमूलका बेल्जियन नागरिक दावा छिरिङ लामाको नागरिकता खारेजीसँगै अनुसन्धान शुरु गरेको छ । यसबीच, २०८० मंसिर ५ गते दावा छिरिङले नेपाली नाम निमा तामाङका नामबाट लिएको नागरिकता खारेज गरिएको छ । २०७४ पुस २० गते निमा तामाङले नमोबुद्ध नगरपालिका ठेगाना राखेर ३०–०१–७४–११८६८ नम्बरको नेपाली नागरिकता लिएका थिए । सोही दिन अन्य केहीलाई पनि निमाकै बाबुको नाम पेमा तामाङ राखेर नागरिकता उपलब्ध गराइएको थियो। 
मन्त्रिपरिषद्को निर्णयका आधारमा अनुसन्धान शुरु गरेको प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले बताए । उक्त प्रकरणमा संलग्नहरूमध्ये केहीसँग छानबिन समितिले बयान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएकामध्ये चिनियाँ नागरिकले चौंरीदेउराली गाउँपालिका, साविकको माझीफेदा गाविस–१ बाट सोनाम लामाका नाममा नागरिकता लिएका छन् ।

उनको नागरिकता नम्बर ३०३०४२–२०६४ छ । २०७८ पुस ८ गते बिहीबार उनले नागरिकता र राहदानी लिएका हुन् । सोही दिन गोठपानी गाविस १ ठेगाना राखेर अर्का चिनियाँ नागरिकले राम लामाको नामबाट नागरिकता लिएका थिए । उनको नागरिकता नम्बर ३०३०४१–२२५४ छ । अर्का व्यक्ति चिनियाँ नागरिक तेन्जिङ सोनाम तामाङ हुन् । उनले ३०३०७५–१८४३ नम्बरको नागरिकता २०७९ असोज १९ गते लिएका थिए । पक्राउ परेकाहरूलाई नागरिकतासम्बन्धी कसुरअन्तर्गत कारबाही हुनेछ । उनीहरू सुन तस्करीमा समेत पुर्पक्ष भएकाले दुबै मुद्दामा एकै पटक कारबाही र अनुसन्धान गरिनेछ । 

काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद–बिक्री हुने गरेको खुलासा भएसँगै उक्त फाँटमा कार्यरत कर्मचारीमध्ये केहीको काभ्रे सरुवा भयो । त्यहाँबाट सरुवा हुने कर्मचारीमध्ये अधिकृत भूपेन्द्र पाण्डेय एक हुन् । उनीसँगै सुब्बा रामचन्द्र अर्याल पनि काभ्रे आए । २०७३ कात्तिक २२ गते हाजिर भएका पाण्डेय भने ०७४ जेठ मसान्तसम्म कार्यरत रहे । सुब्बा ०७३ कात्तिक २२ गतेबाट २०७५ असार मसान्तसम्म कार्यरत थिए ।

उनीसँगै अर्का अधिकृत झपेन्द्रराज खरेल २०७४ भदौबाट इलाका प्रशासन कार्यालय महाभारत घर्तीछापको दरबन्दीमा हाजिर भए । निमाको नागरिकतामा उनै खरेल अधिकृतले २०७४ पुस २० गते हस्ताक्षर गरेका छन्् । सोही दिन जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ५१ वटा नागरिकता वितरण गरिएको थियो । ११८३० बाट ११८७१ नम्बरसम्मको नागरिकतामध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यसअघिको ४० वटा नागरिकतामा अधिकृत सीताराम थापाले सही गरेका छन् । 

पाण्डेय सरुवा भएलगत्तै जिल्ला प्रशासन कार्यालयमा नागरिकता खरिद बिक्री हुन्छ भन्ने सूचना प्राप्त भयो । पाण्डेय, खरेल र अर्यालको टिमले उक्त अवधिमा ३ सय ५० वटा नागरिकताको अनुसूची गायव पारेको अनुसन्धानबाट खुलेको छ । प्रतिनागरिकता ३ लाखदेखि ५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उक्त अवधिमा प्रमुख जिल्ला अधिकारी शिवप्रसाल सिंखडा भए पनि आफूलाई उक्त विषयमा जानकारी नभएको बताएका छन् । सिंखडापछि कृष्ण राउतको कार्यकालमा भएको छानबिनको प्रतिवेदन कार्यान्वयन हुन सकेन । सुब्बा अर्यालका दाजु म्यानपावर व्यवसायी हुन् । उनले अर्घाखाँचीका दुई जना श्रीमान श्रीमतीलाई नक्कली कागजात बनाएर नागरिकता दिलाएको समेत खुलेको छ । उनका दाजुले त्यसरी नागरिकता लिएका व्यक्तिहरूलाई विभिन्न मुलुक पठाउने गरेका थिए । उक्त विषयमा पनि अझै छानबिन भएको छैन । उनीहरूको ठेगाना बनेपा १३ साँगा राखिएको थियो । वडा कार्यालयले सिफारिस नगरेको जानकारी गराएपछि उनीहरूको नागरिकता रद्द गरिएको छ । 

सिआईबीले ३०३०५९–२८९ नम्बरको नागरिकताबाट १२६०७५९४ नम्बरको राहदानी लिने व्यक्तिबारे विस्तृत विवरण पठाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका नाममा भाद्र २४ गते आइतबार पत्राचार गरेको थियो । ०४३ साल असोज ९ गते जन्ममिति राखेर काभ्रेपलाञ्चोकको ठेगाना राखिएका सोनाम लामा काभ्रेका हैनन् । तर उनको राहदानी २०७८ पुस २१ गते काभ्रेबाटै जारी भएको छ । राहदानी र नागरिकता जारी गर्दाका बखत पेश गरिएका कुनै कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैनन् ।
 

टिप्पणीहरू