केपी ओलीले बारम्बार किन लिन थाल्नुभयो मोदीको नाम ?

केपी ओलीले बारम्बार किन लिन थाल्नुभयो मोदीको नाम ?
सुन्नुहोस्

अध्यक्ष बोल्ने, अरुले सुन्ने अनि माइन्युटमा सही गरेर हिँड्ने शैलीमा चल्दै आएको नेकपा एमालेको पछिल्लो सचिवालय बैठकमा भने फरक दृश्य देखियो । बैठक राष्ट्रियसभा निर्वाचनका निम्ति उम्मेदवार छान्नलाई बसेको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमा सदाचारको अभाव देखिएको गुनासोसहित लामो भाषण गर्नुभयो । त्यसप्रति चित्त नबुझाएका कोशी प्रदेश इञ्चार्ज तथा मधेसका नेता रघुवीर महासेठले मुख्य नेता नसुध्रिएसम्म अरुलाई मात्र भनेर नहुने तर्क गरेपछि अध्यक्षको ‘एकल साँझ’ चल्ने गरेको एमाले बैठक त्यसदिन फरक देखिएको हो । 

अघिल्ला बैठकमा भारतीय संस्थापनको खुलेरै विरोध गर्नुभएका ओलीले त्यसदिन भने उतैको प्रसंग ल्याएर नेताहरू सदाचारी भएमात्र पार्टी लोकप्रिय हुने बताउनुभयो । नरेन्द्र मोदी र भाजपा नेताहरूले सामान्य जीवनशैली अपनाएका कारण भारतमा उनीहरूको लोकप्रियता बढेको तर आफ्नो पार्टीमा त्यसो हुन नसकेको उहाँको भनाइ थियो । अध्यक्षको कुरा सुनिरहेका पार्टी सचिव रघुवीर भने त्यसमा सहमत हुनुभएन । र, भन्नुभयो– मोदीले १० लाखको सेरवानी लगाउँछन्, लाखौंको घडी बाँध्छन्, अनि अरुको सिम्प्लिसिटीको के अर्थ छ ! अरुलाई प्रश्न उठाउनुभन्दा आफैँबाट सुधार हुनुपर्छ भन्ने आशयमा उहाँको त्यस्तो तर्कको ओलीले खण्डन भने गर्नुभएन । 

एमाले नेताहरूका अनुसार ओलीले रघुवीरलाई जवाफ नदिनुको कारण हो– आफैंँमा रहेको बोली र व्यवहारबीचको गहिरो खाडल । हुन त, सबैजसो नेताको बोल्ने एउटा अनि गर्ने अर्कै हुन्छ नेपालमा । ओलीको हकमा पनि त्यस्तो देखिंदै आएको छ । जस्तो, उहाँ आफूलाई माक्र्सवादी भन्नुहुन्छ तर विद्यालयको छाना हाल्नेभन्दा पशुपतिमा जलहारी चढाउनेमा बढी रुची देखिन्छ । ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नुहुन्छ तर उहाँ प्रधानमन्त्री भएकै बेला भ्रष्टाचार र अनियमितताका अनेक काण्ड आउँछ । भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने उहाँकै क्याबिनेटका सदस्यले घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक हुँदा बचाउमा उत्रनुहुन्छ । अहिले सुनिँदै छ– मेडिकल माफिया भनेर बदनामी कमाएका र राजा फर्काउने अभियानमा हिँडेका दुर्गा प्रसाईंको नाममा रहेको महँगो गाडी ओलीले चढिरहनुभएको छ । 

त्यसो त ओलीलाई हजुरबा भन्ने प्रसाईं पार्टी सदस्य नहुँदै एमालेमा एकैचोटी केन्द्रीय सदस्य बनाइएका अद्भूत पात्र हुन् । आफ्नै गृहजिल्लाका उनलाई माथि तान्न अध्यक्ष ओलीको एकल भूमिका रहेको एमाले नेताहरू अहिले पनि बताउने गर्छन् । त्यसताका ‘मेरो हजुरबा जस्तो महान मान्छे अर्को कोही छैन’ भनी ओलीको चर्को प्रशंसा गर्थे प्रसाईं । ओलीलाई काठमाडौँ–झापा आवतजावत गराउने चाँजोपाँजो उनैले मिलाउँथे ।

विश्वस्त स्रोतले बताएअनुसार अहिले अध्यक्ष ओलीले चढ्ने गरेको भि–८ गाडी प्रसाईंकै हो । युवा संघका उपाध्यक्ष अमित लामाले त्यो गाडी प्रसाईंबाट खोसेर आफ्ना अध्यक्षलाई दिएका हुन् । एमालेमा हुँदै प्रसाईं र डन पृष्ठभूमिका अमितको टोलीले मिलेर कारोबार गरेको रहेछ । लेनदेनमा कुरा नमिलेपछि अमितले गाडी खोसेर लगेछन् । र, अध्यक्ष ओलीलाई दिए । तर, अहिलेसम्म नामसारी नभएकाले गाडी प्रसाईंकै नाममा छ । उदेकको कुरा चैं, न व्यवसाय छ न राज्यलाई कर तिरेको छ तर त्यति महँगो गाडी दिने अमितको हैसियत के ? भनेर ओलीले प्रश्न गर्नुभएन । खुरुक्क लिनुभयो र अहिले चढेर हिँड्नुभएको छ । 

अमित तिनै व्यक्ति हुन्, जसको नेतृत्वमा प्रसाईंमाथि यल्लो पगोडा होटलमा मोसो छ्यापिएको थियो । उनका बारेमा अहिले पनि प्रहरीहरू भन्छन् – कुमार घैंटे मारिएका बेला प्रहरीको खेदाइमा परेका उनी समातिएका थिए । प्रहरीले लात्तै लात्ताले हानेपछि ‘मलाई बचाइदिनुप¥यो हजुर !’ भनेर गुहार लगाउने मान्छे अहिले एमालेको ठूलो नेता भएछ । युवासंघको नेता हुनुपूर्व हप्ता उठाएर खानेहरूको सरदार भनेर बद्नामी कमाएका अमित अर्का डन तथा कांग्रेस नेता गणेश लामाको काकाको छोरा हुन् । गणेश भने विजय गच्छेदार हुँदै कांग्रेस प्रवेश गरेर सांसदसमेत पड्काइसके । 

ओलीले सदाचारको गफ दिइरहँदा युवासंघका धेरैजसो नेताको पृष्ठभूमि आपराधिक देखिन्छ । अपहरण कसुरमा सजायँ काटिसकेका, सहकारी ठगीको काण्डमा परेका, कुटपिट, हप्ता असुलीजस्ता अभियोग लागेकाहरू युवा संघको माथिल्लै पदमा छन् । एकजना उपमहासचिव महेन्द्र गुरुङ (भोटे) सहकारी ठगीको कसुरमा पक्राउ परेर कास्की कारागारमा छन् । कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँ भन्दै ध्वाँस लगाउने तिनीमाथि श्रमजीवी नागरिकले खाइ–नखाई जम्मा गरेको १८ करोड रकम डुबाएको आरोप छ ।

रवि लामिछानेले ग्यालेक्सी टिभीमा १ करोड शेयर हाल्न पैसा निकालेको सूर्यदर्शन सहकारी यिनै महेन्द्रको लेकसाइडस्थित घरमा छ । यिनी लेकसाइडमा ट्रेजर डिस्को पनि चलाउँछन् ।

 

टिप्पणीहरू