मेयरको बिदा अस्वीकृत

मेयरको बिदा अस्वीकृत

‘भात खानेलाई भन्दा जुठो खानेलाई हतार’ भनेझैँ भारतको अयोध्यामा सोमबार राममन्दिरको प्राणप्रतिष्ठा हुँदै गर्दा सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँनले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । भारतमै आधा दिन मात्र बिदा दिइएकोमा आइतवार राति मेयर आफैँले हस्ताक्षर गरेर अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने पत्र सार्वजनिक गरे ।

सामाजिक सञ्जालमा ब्यापक भएको मेयरको बिदासम्बन्धी पत्रमा मर्यादापुरुष भगवान् रामले नेपालकी छोरी सीतासँग विवाह गरेका कारण प्राणप्रतिष्ठाको दिन सिद्धार्थनगरका मठमन्दिरमा पूजाआजा हुने भएकाले पशुपक्षी, जीवजन्तुको बध, माछामासु तथा मदिराको बिक्री–वितरण नगर्न अपिल गरिएको थियो ।

मेयरले बिदा दिए पनि सिद्धार्थनगर नगरपालिकाका सोमबार बिदा थिएन । उपमेयर उमा अधिकारीले सोमबार कार्यालयमा बिदा नभएको जानकारी दिइन् । श्रोतका अनुसार मेयर खानको सर्कुलर उपमेयर अधिकारी, प्रशासकीय अधिकृत नवराज पौडेल र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको सल्लाहमा निष्क्रिय बनाइयो । उपमेयर अधिकारीले कोही कसैसँग सल्लाह नगरी कसरी बिदाको सूचना आयो आफूहरूलाई थाहा नभएको बताइन् । यद्यपि, नगर प्रमुखले बिदाको सूचना सार्वजनिक गरेको हुँदा सेवाग्राही भने निकै कम आएका थिए । कर्मचारी तथा सेवाग्राहीमा अलमलबीच खुलेको कार्यालयमा खासै काम नभएपछि कर्मचारी भैरहवामा सञ्चालन भैरहेको राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको खेल हेर्न सिद्धार्थ रंगशाला पुगेका थिए ।

राममन्दिरको प्राणप्रतिष्ठा गरिएको दिन सोमबार भारतको केन्द्रीय सरकारले आधा दिन सार्वजनिक बिदा दिँदा नेपालका कतिपय स्थानीय तहले पूरै एक दिन नै सार्वजनिक बिदा दिए । कपिलवस्तुका कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका, सप्तरीको राजविराज नगरपालिकामा सोमबार सार्वजनिक बिदा गरे । रूपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकाले पनि बिदा दिए । हुँदाहुँदा रूपन्देहीको मायादेवी गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले पनि बिदा दियो । यसैबीच, सिद्धार्थनगरमा राममन्दिर उद्घाटनको अवसर पारेर स्वतस्फूर्त र्‍याली निकालिएका कारण दिनभर मुख्य बजार अस्तब्यस्त बन्यो । हिन्दु धर्मसँग सम्बन्धित संस्था र स्थानीयको अत्यधिक सहभागितामा बजारभर भण्डारासमेत लगाइएको थियो ।

टिप्पणीहरू