नापीबाट तानेर भाञ्जालाई पिए

नापीबाट तानेर भाञ्जालाई पिए

लाभको पदमा पुगेका राजनीतिकर्मीले योग्य र काममा पोख्त कार्यकर्तालाई पन्छाएर एकाघरका आफन्तलाई स्वकीय सचिव राख्ने विकृतिले निजामती प्रशासनमा पनि घर गर्न थालेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलका सचिव गोकर्णमणि दुवाडीले आफ्नै भाञ्जालाई निजी सचिवको जिम्मेवारीमा राखेका छन् । मन्त्रालयमा दरबन्दी नै नभए पनि नापी विभागमा कार्यरत भाञ्जा सर्वेक्षक आनन्द बुर्लाकोटीलाई काजमा लागेका हुन् ।

गोकर्णमणि आफैं पनि भूमिव्यवस्था विभागअन्तर्गतका मालपोत कार्यालयहरूमा काम गर्दै सचिव बन्न सफल कर्मचारी हुन् । सुब्बादेखि मालपोत अधिकृत हुँदै भूमिव्यवस्था विभागको महानिर्देशकसमेत बनिसकेका सचिवलाई मालपोत र भूमिसुधारको इतिवृत्ति जानकारी छ ।

केही महिनाअघि उपत्यकासँगै जोडिएको जिल्लाको राम्रो कमाई हुने एक नापी कार्यालयमा सचिवले निमित्त प्रमुख बनाएर एक कर्मचारीलाई पठाएका थिए । दरबन्दीमा पारिदिन सचिवले फेरि अत्तो थपिएपछि काभ्रेतिरका ती हाकिम मन्त्रालयकै सचिवमुनिका उच्चपदस्थसँग गुनासो गरिरहेका पाइन्छन् । 

असोजको शुरुमा एक सर्वेक्षकसँग ललितपुर सरुवा गरिदिने शर्तमा ६ लाख रूपैयाँ लिइएको आरोप छ । तर उनीभन्दा बढी रकम दिने कर्मचारी भेटेर हो वा प्राथमिकतामा पार्न नसकेर हो ती कर्मचारीको सरुवा चाबहिलमा भयो । त्यसलगत्तै २ लाख निकालेर कर्मचारीलाई अनामनगरमै दिन लगाइयो ।

ती कर्मचारीले पनि फिर्ता आएको रकम आफूलाई फिल्डमा नपठाएर फाँटमै राखिदिनका लागि चाबहिलका प्रमुख नापी अधिकृतलाई बुझाए । कार्यालय प्रमुखले अप्रत्यासित रूपमा प्राप्त सो २ लाख रूपैयाँ फेरि माथि लगेर बुझाए । बिहान आफैंले फिर्ता गरेको लाखका गड्डी हाकिमले सहजै चिनिहाले । ती सर्वेक्षक र नापी अधिकृत हाल चाबहिलमै कार्यरत छन्​​​​​​ । 

 

टिप्पणीहरू