पार्वतीका जँड्याहा भदाहरुद्वारा अस्पतालमै प्रलय

पार्वतीका जँड्याहा भदाहरुद्वारा अस्पतालमै प्रलय
सुन्नुहोस्

जिल्ला अस्पताल बैतडीको अस्पताल विकास समितिकी अध्यक्ष एवं एमाले नेतृ पार्वती भट्टका नातेदारहरुले मादक पदार्थ सेवन गरेर अस्पतालभित्रै रडाको मच्चाएको खुलेको छ । मेलौली नगरपालिका–२, सलेनानिवासी भदाहाहरु कपिल र पारसले मदिरा पिएर हंगामा गरेका हुन् । 

नशामा लठ्ठिएका उनीहरुले बबाल मच्चाएपछि प्रहरी बोलाउनुपरेको थियो । उनीहरुले रक्सी खाएर अस्पतालमा होहल्ला गरेको भिडियो फेला परेको छ, जसमा एक जना  वरिष्ठ सईले तिनलाई सम्झाइरहेको देखिन्छ । तीमध्ये एक जनाले तीन क्वार्टर पिएको स्वीकारेका छन् । झुम्म भएका पारस भन्छन्, ‘मैले तीन क्वार्टर खुकुरी रम खाएको छु । १८ सय रुपैयाँ खर्च गरेको छु ।’

झण्डै चार–पाँच दिनअघि राति साढे ९ बजे अस्पतालको पहिलो तल्लामा भएको घटना हो यो । अध्यक्ष भट्ट त्यतिबेला बाहिर गएकी थिइन् । आफ्नो निवासको चाबी माग्दै आएका भदाहाहरुले रक्सी खाएर बवण्डर मच्चाएको एक जना सुरक्षाकर्मीको भनाइ छ । 

उनले भने, ‘अध्यक्षले भदाहालाई तेस्रो तल्लास्थित आफ्नो निवासको चाबी दिएकी रहिछन् । उनीहरुले मादक पदार्थ ल्याएका रहेछन् । अध्यक्ष नभएपछि अस्पतालको पहिलो तल्लामै बसेर पिएछन् । त्यसपछि त बवण्डर मच्चाइहाले । प्रहरी नै बोलाउनुपरेको थियो । तेस्रो तल्लामा क्वार्टर छ, दुई तल्लामा अस्पताल छ । ठूलै लफडा भयो ।’

उनीहरुले बिरामीका कुरुवाहरुसँग लफडा गरे पनि कुनै कारबाही भएको छैन । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई त्यत्तिकै छोडेपछि अस्पतालका कर्मचारीहरुले असन्तुष्टि पोखेका छन् । 

एक कर्मचारीले आक्रोश पोख्दै भने, ‘जिल्ला अस्पताल कसैको निजी संस्था हो र जो जतिखेर आएर जे पनि गर्न सक्ने ? अध्यक्षले आफ्नो नातेदारलाई बोलाई रक्सी खुवाएर मोज गराउने ठाउँ हो यो ? अस्पतालजस्तो संवेदनशील ठाउँमा रक्सी खाएर हो–हल्ला गर्नेमाथि कारबाही हुनुपर्दैन ? जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय के हेरेर बसेको !’

उनीहरुलाई नसमात्न भनेर एमालेका नेताबाटै दबाब आएको स्रोत बताउँछ । यता, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले उनीहरुले अस्पताललाई क्षति पु¥याउने कार्य नगरेकाले कारबाही नगरिएको बताए । उनीहरुले अस्पतालमा नभई क्वार्टरमा रक्सी खाएको डिएसपी गिरीको दाबी छ । 

हाल सो विषयमा मिलापत्रसमेत गरिसकेको उनले बताए । उनको बुझाइमा यो सामान्य कुरा हो । भन्छन्, ‘हो, उनीहरुले मादक पदार्थ सेवन गरेका हुन् । तर, अस्पताललाई क्षति पु¥याएका छैनन् । क्वार्टरमा रक्सी खाएका रहेछन् । अध्यक्ष हुनुहुन्नथ्यो । सामान्य वादविवाद भएपछि प्रहरी त्यहाँ गएको हो । कुनै हंगामा भएको छैन । त्यो घटनाविरुद्ध उजुरी पनि परेको छैन । एउटा बेनामे निवेदन परेको थियो । वडाका प्रतिनिधि राखेर मेलमिलाप गरिसकेका  छौं ।’

अस्पतालभित्र मादक पदार्थ लिएर जानु, सेवन गरेपछि हंगामा गर्नु र प्रहरी बोलाइनुलाई डिएसपी गिरीले सामान्य रुपमा चित्रण गर्नु आश्चर्यजनक छ । संवेदनशील स्थानको शान्ति भंग पार्ने उक्त घटनालाई ढाकछोप गर्न प्रहरी नै लागेको अस्पतालका कर्मचारीहरुको आरोप छ । भदाहाहरुले गरेको हर्कतका कारण विवादमा तानिएकी अध्यक्ष भट्टले आफ्नो कारणले अस्पताल दुई पटक उत्कृष्ट ठहरिसकेको बताइन् । हाल उनी सामाजिक सञ्जालमा लेखेको स्टाटसका कारण पनि चर्चामा छिन् । उनले दुई दिनअघि छोरी–बहिनी बलात्कार गर्ने हाकिम चाहिँदैन भन्दै सनसनीपूर्ण स्टाटस लेखेकी थिइन् । 

उक्त स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । लेखेकी छिन्, ‘हाकिमको पनि हाकिम हुँ भन्ने, पाँच–पाँच वर्षसम्म एउटै कार्यालयमा बसिरहने जबकी नियमानुसार दुई–दुई वर्षमा सबै कार्यालय प्रमुखहरुको सरुवा हुन्छ, तर छोरी–बहिनीलाई बलात्कार गर्ने हाकिम अब चाहिँदैन । अत्ति भयो, अब म सहनेवाला छैन, कानुनी प्रक्रियामा जान्छु ।’

उनको स्टाटसमा आएका कमेण्टहरुमा उनैमाथि प्रश्न गर्ने धेरै छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंजत्तिको मान्छेले यतिसम्मको कुरा गर्नुभयो, साँचो हो भने तत्काल सार्वजनिक गरियोस् हैन भने तपाईंमाथि प्रश्न उठ्यो ।’

त्यस्तै, अर्कोले भनेका छन्,‘यस्तो हाकिम को हो ? नाम खुलाउनुप¥यो पार्वती भट्ट म्याम ! अपुष्ट कुरा राखेको सुहाएन ।’ आफूमाथि अन्याय गर्ने व्यक्तिलाई सामाजिक सञ्जालमार्फत चेतावनी दिएको अध्यक्ष भट्टले बताइन् । 

‘म एकल महिला हुँ । त्यो व्यक्ति को हो, नाम खुलाउँदिन । बुझ्नेले बुझिसक्यो । चेतावनी दिएको हुँ । अब पनि हर्कतहरु रोकिएन भने कानुनी उपचारमा जान्छु’, उनले भनिन् ।

टिप्पणीहरू