सेनाको सुरक्षा घेरामा एसईईको प्रश्नपत्र छापिंदै

सेनाको सुरक्षा घेरामा एसईईको प्रश्नपत्र छापिंदै
सुन्नुहोस्

यस वर्षको एसईई परीक्षाका लागि प्रश्नपत्रको छपाई काम शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कडा सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालेको हो । 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको सुरक्षा समिति बैठकले आजबाट प्रश्न पत्र छपाई थाल्ने निर्णय गरेको थियो । पश्नपत्रको छपाई काम सुरु भएसँगै जनक शिक्षा कार्यालय परिसरमा उल्लेख्य सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 

७५ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्ने काम थालिएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिए । जनक शिक्षासँग रहेको दुईवटा सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइ भैरहेको उनले बताए । 

अबको केही दिन सेक्युरिटी प्रेसमा सुरक्षाकर्मी र जनक शिक्षाकै सम्बन्धित कर्मचारीबाहेक अन्य कोही प्रवेश गर्न पाउने छैनन् । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले सम्हालेका छन् । प्रेसको भित्री घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र र बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

केन्द्रका करिब ४० जना कर्मचारी छपाईको काममा खटिएका छन् ।

आगामी चैत १५ गतेदेखि २७ गते सम्म चल्ने परिक्षाम यस वर्ष ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदैछन् । जसको लागि ५० लाख थान प्रश्नपत्र छपाइ हुनेछ ।
 

टिप्पणीहरू