नामबारे अनर्गल प्रचारपछि विद्यालयको आपत्ति, कारबाहीको चेतावनी

नामबारे अनर्गल प्रचारपछि विद्यालयको आपत्ति, कारबाहीको चेतावनी

विद्यालयको नामलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएपछि कारबाहीको चेतावनी दिइएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–२, गजेडीस्थित गजेडी माध्यमिक विद्यालयले यस्तो चेतावनी दिएको हो । 

सामाजिक सञ्जालमा विद्यालयको साइनबोर्डको फोटोसँगै अन्यत्रका विद्यार्थीले चुरोट पिएको, गाँजा तानेकोजस्ता फोटो पोष्ट गरेर अनर्गल प्रचार गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सिंगो विद्यालय परिवार घोर भत्र्सना गर्दछ ।’

नेपाली शब्दकोशअनुसार ‘गज’ को अर्थ ‘हात्ती’ र स्थानीय थारु भाषामा ‘गजेडी’ को अर्थ ‘हात्तीको बासस्थान’ भन्ने बुझिने भएकोले साविक गजेडी गाउँबाट स्कुलको नाम गजेडी राखिएको विद्यालयको भनाइ छ ।

 
तर, यस्ता वास्तविकता र ऐतिहासिक तथ्यलाई नबुझी विद्यालयको बदनाम गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ । विद्यालयले अब यस प्रकारका आपत्तिजनक क्रियाकलाप कँही कतैबाट भएमा कारबाहीका निम्ति सम्बन्धित निकायमा जाने बताएको छ। 

‘अब उपरान्त कँही कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानूनअनुसार कारबाही गर्नका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

टिप्पणीहरू