काठमाडौँमा एसईई सहायता शिविर चलाइने

काठमाडौँमा एसईई सहायता शिविर चलाइने

काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८१-०८२ को गौरव योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजामा सुधार ल्याउन महानगरले एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो । दशैँ र तिहारको बीच जाडो बिदा पारेर महानगरका आठ वटा स्रोत विद्यालयमा शिविर सञ्चालन हुने जनाइएको छ । 

आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा कक्षा १० मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई सहभागी गराउन महानगरले अनुरोध गरेको छ । स्रोत केन्द्र विद्यालयको हकमा सम्बन्धित स्रोत शिक्षकले तथा अन्य विद्यालयमा प्रधानाध्यपाकले अगुवाई गर्नुपर्ने महानगरले बताएको छ । 

महानगरका अनुसार शिविरमा न्यूनतम डेढ सय विद्यार्थी सहभागी हुनैपर्छ । गणित, सामाजिक विषय अध्यापन गर्न तथा प्रयोगात्मक सिकाईका लागि स्टिम (एसटीईएम) को आधारमा अभ्यास गराउन सकिने छ । त्यस्तै, विषयगत शिक्षकको व्यवस्थापन सम्बन्धित केन्द्रको अगुवाईकर्ताले गर्नुपर्ने जनाइएको छ । 

उक्त शिविरमा लिट्रेचर, फाइन एण्ड भिजुअल आर्ट, पर्फमेन्ट आर्ट एण्ड डिजिटल आर्टसम्बन्धी क्रियाकलाप, मोटिभेसन क्लाससँगै क्याम्प फाइर, ट्यालेन्ट शो, गेम, सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने महानगरले जानकारी गराएको छ ।
 

टिप्पणीहरू