करोडौंका गिफ्ट आउँछ चाहिँ कताबाट ?
सत्तामा पुगेपछि ‘भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन’ भन्न थाल्नुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अलि अगाडि भन्ने गर्नुहुन्थ्यो– जिन्दगीमा मलाई कमाउनु केही छैन, खान पुगे हुन्छ ! भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै बन्छु भन्ने उहाँ पार्टीका बैठक र सार्वजनिक सभा–समारोहमा अरुलाई सदाचारी बन्न उपदेश पनि दिने गर्नुहुन्छ । तर, आर्थिक पारदर्शिताको सवालमा आफैँमाथि उठेका प्रश्नमा भने मौन रहँदै आउनुभएको छ ।
प्रधानमन्त्री ओलीले झण्डै ३ करोडको ब्रान्डेड घडी र ४५ लाख मूल्यको महँगो चश्मा लगाएको विषय यतिबेला चर्चामा छ । जनआस्था साप्ताहिकको पछिल्लो अंकमा ‘प्रमको नाडीमा करोडौँको घडी, देशभर बाढी’ शीर्षकमा समाचार प्रकाशित भएसँगै सर्वहारा कम्युनिष्ट पार्टीको अध्यक्षमाथि गम्भीर प्रश्न उठेको हो ।
ओलीले बाँधेको उक्त घडी पातेक फिलिप नौटिलस (मुन फेज) ब्राण्डको हो । धनीमानी र घडीका सौखिनहरूले बाँध्ने यसको बजार मूल्य २ करोड ८८ लाख ९१ हजार पर्ने बताइन्छ । ओलीले लगाउने चश्माको फ्रेम ह्वाइट गोल्डबाट बनेको हो । निकै चम्किलो देखिने उक्त फ्रेमको मूल्य ३० हजार युरो अर्थात् झन्डै ४५ लाख नेपाली रूपैयाँ पर्न आउँछ ।
आफ्नो सारा सम्पत्ति सरकारलाई दान दिएको दाबी गर्दै उपचार खर्चसमेत राज्य कोषबाट लिनुभएका प्रधानमन्त्री तथा अध्यक्ष ओली घडीमात्र हैन झन् महंगा गाडी चढ्नुहुन्छ । मेडिकल माफिया भनेर बदनामी कमाएका र राजा फर्काउने अभियानमा हिँडेका दुर्गा प्रसाईंको नाममा रहेको भि–८ गाडी ओलीले नै चढ्ने गरेको अलिअगाडि चर्चा थियो । त्यसताका जनआस्थाले सोधखोज गर्दा भक्तपुरको बालकोटस्थित निजी निवासको आँगनभरि आधा दर्जनजति शानदार गाडी सजाएर राखिएको देखिएको थियो ।
प्रश्न उठ्छ– युवाअवस्थामै पूर्णकालीन राजनीतिमा लागेको र १४ वर्ष जेल बसेका ओली कुन स्रोतबाट शानदार जीवन बाँचिरहनु भएको छ ? करोडौँको घडी बाँध्ने हैसियत कसरी प्राप्त भयो ? आयस्रोत के हो ? तेह्रथुममा जन्मिएर झापामा हुर्कनुभएका ओलीको इतिहास हेर्दा उहाँको पारिवारिक अवस्था निम्नमध्यम वर्गीयभन्दा पनि अझै तल हो । व्यापार–व्यवसाय गरेको खानदानी परिवार होइन ।
राजनीतिमा लाग्नुअघि ओलीले कमाई हुने कुनै उद्यम गर्नुभएन । उहाँ आफैँले २०२५ सालमै पार्टीको पूर्णकालीन कार्यकर्ता भएर भूमिगत राजनीतिमा होमिएको बताउने गर्नुभएको छ । त्यसपछि १४ वर्ष जेल पर्नुभएका उहाँ बाहिर निस्कँदा आर्थिक हैसियत झन खराब थियो । त्यतिबेला पार्टीले टिकट काटेर काठमाडौँबाट गाडी चढाई झापा पठाएको राधाकृष्ण मैनालीले सार्वजनिक मञ्चबाट धेरैचोटी बताइसक्नुभएको छ ।
भूमिगतकालमा मात्र होइन, २०४६ पछि एमाले सत्ताको वरपर भएकै बेलासमेत ओलीको आर्थिक हैसियत उठेको थिएन । गृहमन्त्री भैसकेपछि गाडीमा तेल हाल्नसमेत शुभचिन्तकहरूसँग हात थाप्नुपर्ने अवस्था थियो । मृगौलामा समस्या देखिएपछि एयर एम्बुलेन्समा उपचारका लागि नयाँ दिल्ली जाँदा विनोद ढकालहरूले खर्चपर्च मिलाएको सन्दर्भ एमाले नेताहरू स्मरण गर्छन् । ०५१ सालतिर गाडीमा तेल हाल्ने पैसा नभएर नजिकका कमरेडहरूसँग मागेको प्रसंग एमाले नेताहरू अहिले पनि सुनाउँछन् ।
अर्कोतिर, ओलीले आफ्नो सबै सम्पत्ति राज्यलाई बुझाइसकेको र आफूसँग कौडीसमेत नभएको दाबी गर्नुभएको छ । तेह्रथुमको पुख्र्यौली सम्पत्ति आफ्नै नामको ‘केपी ओली ट्रष्ट’लाई दिनुभएका उहाँले अहिले बस्दै आएको बालकोटको भव्य घर चैं आफैँसँग राख्नुभएको छ ।
नेताहरू सदाचारी भएमात्र पार्टी लोकप्रिय हुने भन्दै ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उदाहरण बनाउने गर्नुहुन्छ । पार्टीको सचिवालय बैठकमा मोदी र भाजपा नेताहरूले सामान्य जीवनशैली अपनाएका कारण उनीहरूको लोकप्रियता बढेको तर आफ्नो पार्टीमा त्यसो हुन नसकेको गुनासोसमेत गर्नुभएको थियो । गत वर्ष माघमा बसेको सचिवालय बैठकमा उहाँले त्यसो भन्दा सचिव रघुवीर महासेठले ‘आफैँबाट सुधार हुनुपर्ने’ घुमाउरो जवाफ दिएको सन्दर्भ एमालेवृत्तमा अहिले पनि चर्चा हुने गर्छ ।
अहिले आमरूपमा राजनीतिक दलका नेताप्रति सकारात्मक धारणा छैन । ‘चप्पल पड्काउँदै काठमाडौँ छिरेका नेताहरू कसरी करोडौँको सम्पतिको मालिक भए ?’ भन्ने प्रश्न उठिरहेका छन् । त्यसैले ‘भ्रष्टाचार गर्दिन’ भन्ने प्रधानमन्त्रीले कुन हैसियतमा करोडौँको घडी बाँध्नुभएको हो ? ओलीका खाँटी समर्थकसमेत जवाफ दिनसक्ने अवस्थामा छैनन् ।
एमालेका एक नेता भन्छन्– उहाँ आफू भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्नुहुन्छ, तर त्यत्रो महँगो घडी बिनास्वार्थ कसैले देला ? अध्यक्षलाई घडी दिएर त्यसवापत उसले राज्यबाट कति लुट्यो होला ?
खर्चको स्रोत र पारदर्शिताबारे उठेका प्रश्नमा ओलीले अमूर्त जवाफ दिने गर्नुभएको छ । केही वर्षअघि राष्ट्रिय टेलिभिजनका एक पत्रकारले सोधेको प्रश्नमा उहाँको जवाफ थियो– केही साथीले मलाई गाडी चलाउन दिन्छन्, तर त्यसलाई म एकदमै अनौठो र भ्रष्टाचार ठान्दिन किनभने मैले कुनै ठेक्कापट्टाको लाइसेन्स दिएवापत हैन ।’
टिप्पणीहरू