कर्मचारी सरुवामा शिक्षा मन्त्रालयको नयाँ मापदण्ड

कर्मचारी सरुवामा शिक्षा मन्त्रालयको नयाँ मापदण्ड

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीलाई पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन विभिन्न छ वटा सैद्धान्तिक आधार तयार पारेको छ । शिक्षामन्त्री विद्या भट्टराईले गर्नुभएको मन्त्रीस्तरीय निर्णयमा मन्त्रालय र मातहतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सोभन्दा मुनिका कर्मचारीको पदस्थापन, सरुवा तथा कामसम्बन्धी सैद्धान्तिक आधार तय गरिएको छ ।

उहाँले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० बमोजिम सरुवा, पदस्थापन गर्ने निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ । जसअनुसार तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेकाबाहेक एउटा निकायमा सामान्यतयाः दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गरिनेछ । 

त्यस्तै, अन्य निकायमा दरबन्दी रही मन्त्रालयमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास्तरका कार्यालय, अन्य मन्त्रालय तथा निकायमा खटाइनेछ । शिक्षा मन्त्रालय वा मातहतबाहेक अन्य निकायमा सरुवा तथा कामकाज गर्न खटाउन वा त्यस्ता निकायबाट मन्त्रालयमा सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि लेखी पठाउने पनि निर्णय गरिएको छ । 

यता, दुर्गम जिल्लामा कार्यरत रहेको, अन्यत्र सरुवाका लागि निवेदन पेश नगरेका कर्मचारीको अवधि पुगेपनि सो जिल्लाबाट सरुवा नगरिने र अपांगता भएका, गर्भवती, सुत्केरी महिला, दीर्घरोगी, अवकाश हुन एक वर्षभन्दा कम अवधिका र परिवारका सदस्यहरु गम्भीर बिरामी अवस्थामा रहेकाजस्ता विशेष परिस्थितिका कर्मचारीको हकमा उनीहरुको सहजतालाई ख्याल गरी निर्णय गरिने मन्त्रालयको भनाइ छ ।

टिप्पणीहरू