खोसियो पहिले चिट, उपप्राध्यापकमाथि एक वर्षपछि कुटपिट

खोसियो पहिले चिट, उपप्राध्यापकमाथि एक वर्षपछि कुटपिट

- आशिका लम्साल

एक वर्षअगाडि सञ्चालित परीक्षामा चिट खोसेका उपप्राध्यापकमाथि कुटपिट भएको छ । परीक्षामा चिट खोस्दा आफूहरु फेल भएको जनाउँदै विद्यार्थीहरुले उपप्राध्यापकमाथि हातपात गरेका हुन् । 

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङ्गले विद्यार्थीहरुले परीक्षा हलमा खुलेआम चिट चोरेको देखेपछि उनीहरुको हात र साथमा रहेको चिट खोसेका थिए । 

चिट चोर्न नदिँदा आफूहरु फेल भएको भन्दै क्याम्पसको स्ववियु सदस्य तथा नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रिंकु चौधरी, अनेरास्ववियु इकाई अध्यक्ष माधव पासवानसहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् । सो घटनापछि विभिन्न संघसंगठनले विज्ञप्ति निकालेर ती विद्यार्थीलाई कारबाहीको माग गरेका छन् । 

घटनाप्रति आपत्ति जनाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी मञ्च नागरिक विद्यार्थी समाज, अखिल समाजवादी (विप्लव) ले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । परीक्षालाई मर्यादित बनाउन चिट खोस्दा कार्यकक्षमा गएर अभद्र व्यवहार गर्नु गैरकानुनीका साथै अमानवीय हर्कत भएको उनीहरुको दाबी छ ।

 

अखिल (क्रान्तिकारी) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस शिक्षाशास्त्र संकायका निर्देशक तथा उपप्राध्यापक अर्जुन तामाङ्गमाथि कार्यकक्षमा काम गरिरहेको अवस्थामा एमालेनिकट अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष तथा स्ववियु सदस्य रिंकु चौधरीसहितको समूहले परीक्षार्थीको चिट खोसेको भन्दै कुटपिट गरेका छन् । रिंकु चौधरीलगायत समूहले हातपात गरेको, गालीगलौज र छाडा शब्द बोलेको तथा कार्यकक्षको सिसा र टेबुलसमेत फोडेको विषयमा हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) क्याम्पस कमिटीले घोर निन्दा र भत्सर्ना गर्दछौं ।’

त्यस्तै, हातपात गर्ने समूहलाई कारबाहीको निम्ति माग गरिएको छ । यता, प्राध्यापकहरुको संगठनले पनि उक्त घटनाको विरोध गरेका छन् । उपप्राध्यापकको कार्यकक्षमा गएर दिनदहाडै गुण्डागर्दी गरेका विद्यार्थीहरुलाई कारबाही नगरेमा कडा संघर्ष थाल्ने प्राध्यापकहरुको चेतावनी छ ।

 

शिक्षाशास्त्र कार्यक्रमको संयोजकसमेत रहेका तामाङ्गले आफूमाथि हमला भएपछि राजीनामा दिएका छन् । अघिल्लो वर्ष साउन २८ गतेदेखि क्याम्पसमा मानविकी संकाय बिए दोस्रो वर्षको परीक्षा चलेको थियो । सोही परीक्षामा तामाङ्ग आन्तरिक पर्यवेक्षक थिए । विद्यार्थीहरुले चिट चोरेको देखेपछि उनले खोसेर तत्कालीन क्याम्पस प्रमुख बाबुराम तिम्सिनासमक्ष बुझाएका थिए । 
चिट खोसिएका विद्यार्थीहरु फेल भएका छन् । उनको कारणले फेल भएको आरोप लगाउँदै एक वर्षपछि विद्यार्थी नेताहरुले गत बिहीकार शिक्षकमाथि नै अभद्र व्यवहार गरेका हुन् ।

टिप्पणीहरू