लण्डनमा ठगी, नेपालमा वागी

लण्डनमा ठगी, नेपालमा वागी

भूतपूर्व गोर्खाका सन्तानलाई बेलायत लाने भन्दै नेपालमा करोडौं ठगी गरेको आरोपमा दुई सातादेखि प्रहरी हिरासतमा रहेका सूर्यकुमार नेम्वाङविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी परेको छ । लण्डन बस्ने एउटा सामान्य सिपाहीको जीवनशैलीमा आएको अकल्पनीय परिवर्तन देखेर उनका नम्बरीहरूसमेत दंग थिए । उनले ठगीकै पैसाबाट फिदिममा लिफ्ट जडानसहित घर बनाएको र लण्डनमा पनि चार वटा महँगा गाडी फेरेर विलासी जीवन बिताउँदै आएको उजुरीकर्ताको भनाइ छ । 

बेलायतको बोन्ड आडम्स् सोलिसिटर्स फर्ममा भूतपूर्व गोर्खा परिवारका केस लैजाने भनेर भूतपूर्व गोर्खा सैनिकसँग हजारौं पाउण्ड ठगी गरेको आरोप लागेका उनी यहांँ पनि अनुसन्धानको घेरामा छन् । नेम्वाङ आफ्नो बाबुको काजक्रिया गर्न आएको बेला पक्राउ परेका थिए । उनको पक्राउसँगै थप पीडितहरू सार्वजनिक हुने क्रम पनि बढेको छ । 

तीन जना पीडितले दिएको जाहेरीका आधारमा नेम्वाङलाई गत माघ १५ गते प्रहरीले पाँचथरबाट पक्राउ काठमाडौँको हिरासतमा राखेको छ । जिल्ला अदालतबाट दोश्रोपटक म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रहरी श्रोतका अनुसार उनको सयौं ठगी केसले अनुसन्धानमा समय लागेको हो । हिरासतमै रहँदा नेम्वाङले शक्तिकेन्द्रको आडमा उम्किन प्रयास गरिरहेको भन्दै पीडितले गत मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो रकम असुलउपर गर्न ध्यानाकर्षण पत्रसमेत पेश गरेका थिए । 

नेम्वाङले भूपू गोर्खा सैनिकका दुई छोरीसँग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजार रुपैयाँँका दरले ४ लाख ७६ हजार रुपैयाँ लिएर पनि काम नगरिदिएको आरोप पीडितको जाहेरीमा छ । शुरुमा नेम्वाङले दिदीबहिनीलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजीकरण गरिदिने आश्वासन दिएको बताइन्छ ।  

जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पेश भएको जाहेरी दरखास्तमा मुलुकी फौजदारी संहिता २०७४ को दफा २४९ (१) र (२) उल्लंघन गरी ठगीसम्बन्धी कसुर गरेको उल्लेख छ । कुनै कानुनी अध्ययन नगरेका नेम्वाङले बेलायतमा नेम्वाङ लिमिटेड र नेपालमा दि एड्भाइजर गार्डियन कार्यालय खोलेर भूतपूर्व गोर्खा परिवारसँग पैसा उठाउँदै आएका थिए । लोग्नेको ठगी धन्दामा श्रीमती लिनाको समेत साँठगाँठ रहेको पीडितको भनाइ छ । श्रीमती भने लण्डनमै छिन् ।
 

टिप्पणीहरू