सात बुँदे गर्दै मधेसका तीन दल एकै ठाम
सत्ता गठबन्धनमा समेटिने प्रयास असफल भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसकेन्द्रित तमलोपा र जनता प्रगतिशील पार्टीसँग मिलेर मोर्चाबन्दी शुरु गरेको छ ।
यी तीन दलले आज कार्यगत एकताको घोषणा गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउत,जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका वृषेन्द्रचन्द लालले संयुक्त विज्ञप्ति जारी गर्दै सात बुँदे अभियानसमेत सार्वजनिक गरेका छन् ।
देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखी दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहने प्रण गर्दै तीन दलबीच सहकार्य गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । सहमतिको पहिलो बुँदामा संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न कार्यगत एकता गरेको उनीहरुले जनाएका छन् ।
त्यस्तै,तराई-मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्ने,देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उध्योग-धन्दा तथा कलकारखानाहरु स्थापित गर्दै रोजगारी सृजना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सुनिश्चित गर्न तीन दलबीच मिलेर जाने सहमति भएको जनाइएको छ ।
टिप्पणीहरू