प्रचण्ड र म मिलेर गठबन्धन फेरेको हो, अरुलाई जस दिनुपर्दैन - ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको दावी गर्नुभएको छ ।
विश्वासको मत लिनुअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले नयाँ सत्ता समिकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले भूमिका खेलेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मुख्य नेतृत्व गरेको र आफूले साथ दिएको अध्यक्ष ओलीको भनाई छ ।
चीनको चाहानामा नयाँ सत्ता समिकरण बनेको कांग्रेसको आरोप अस्वीकार गर्दै उहाँले भन्नुभयो- सरकार परिवर्तनको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्नुहोला ।
‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस । अरुलाई एक छेउ जस दिन्छ ? यसपल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि !', ओलीले भन्नुभयो, 'सरकार परिवर्तन, यताउता । यी साना कामहरु । हाम्रो देशभित्रका कामहरु त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले गर्यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाईलाई जस पनि हुन्छ नि अलिकति !’
टिप्पणीहरू