कर्जन्हाका पूर्वमेयर भ्रष्टाचारमा डामिए

कर्जन्हाका पूर्वमेयर भ्रष्टाचारमा डामिए

सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासमान भ्रष्टाचारमा तानिएका छन् । उनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

मुद्दा चलाइनेमा पासमानसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदीश मण्डल र बृद्धिमान दनुवार, लेखापाल प्रविनकुमार महतो, निर्माण व्यवसायी महालक्ष्मी-पाण्डे एण्ड कम्पनी-ड्रागन जेभीका प्रतिनिधि बैजनाथ यादव छन् । उनीहरुले प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको अख्तियारको आरोप छ । 

अदलतमा दायर आरोप पत्रमा उनीहरुले उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साविक कर्जन्हा गाविसको कार्यालय स्थानबाट काम गर्न भनी जारी गरेको आदेशविपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको उल्लेख छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

टिप्पणीहरू