कहाँ पुर्याइन्छ बेपत्ता बालबालिकालाई ?

कहाँ पुर्याइन्छ बेपत्ता बालबालिकालाई ?

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ४, बस्ने १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी गत चैत १२ गते बेपत्ता भए । बिहान विद्यालय जान घरबाट निस्किएका दाजुभाई बेलुका फर्किएनन् । चिन्तित परिवारले प्रहरीलाई खबर गरे तर, पाँच दिनपछि दुवै जना आफैं घर फर्किए ।

केही महिनाअघि दाङको तुलसीपुर उपमहानगरपालिका–७, गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परे । खेल्न जान लागेको भन्दै उनी गत मंसिर १४ गते घरबाट निस्किएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजतलास थाले ।

आनन्द दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि छोरो खोज्न बुबा जीवराज रेग्मी काठमाडौं आइपुगे । सो क्रममा उनले गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाएर बसिरहेको अवस्थामा आनन्दलाई फेला पारेका थिए ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–५, चिउराका १३ वर्षीय बालक अर्जुन विश्वकर्मा भने गत पुस ७ गते मृत भेटिए । उनी मंसिर २० गते बाख्रा चराउन घरनजिकै जंगलमा गएका थिए । त्यहाँबाट बेपत्ता भएका उनको १७ दिनपछि जंगलमा शव भेटिएको हो ।

करिब नौ महिनाअघि रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, दुर्गानगर बस्ने १४ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी पनि एकैसाथ बेपत्ता भए । घरबाट विद्यालय जाँदै गर्दा बेपत्ता भएका उनीहरुलाई प्रहरीले भारतको मुम्बईमा फेला पारेको थियो ।

तीन वर्षअघि कैलालीमा तीनदेखि बेपत्ता बालकको शव फेला पारेको थियो । टीकापुर नगरपालिका–१, का ३ वर्षीय बालक विवेक विष्टको घरबाट बेपत्ता भएको तीन दिनपछि सोही नगरपालिका–४, बागमारास्थित जमरा कुलाको किनारामा शव भेटिएको थियो ।

पानीमा डुबेको अवस्थामा प्रहरीले उनको शव फेला पार्यो । विवेकले कानमा सुनको मुन्द्रा र चाँदीको बाला लगाएका थिए । तर, सुन भेटिएपनि चाँदीको बाला भने भेटिएन ।

पछिल्ला केही वर्षयता बालबालिका हराउने क्रम बढ्दो छ । तीमध्ये यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । अहिले पनि मुलुकका विभिन्न स्थानबाट बालबालिका हराउने क्रम जारी छ । हराएका अधिंकाश बालबालिका लामो समयसम्म सम्पर्कमा आएको देखिँदैन । त्यस्तै, कतिपय बालबालिका मृत अवस्थामा फेला पर्ने गरेका छन् ।

नेपालमा वर्षेनी हजारौंको संख्यामा बालबालिका बेपत्ता हुन्छन् । तर, ती बालबालिका कहाँ, किन र कसरी हराए ? भन्ने सम्बन्धमा सरकारी निकाय गम्भीर देखिएका छैनन् ।

भयावह बन्दै तथ्याङ्क

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो १० वर्षमा झण्डै ३४ हजार बालबालिका बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७१÷०७२ देखि ०८०÷०८१ को चैत मसान्तसम्म ३३ हजार ८३८ जना बालबालिका हराएको बताइन्छ ।

जसअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म चार हजार ६२६ जना बालबालिका हराएका छन् । तीमध्ये दुई हजार ५९८ जना बालबालिका फेला परेको प्रहरीले जनाएको छ । जसअनुसार गत वर्ष छ हजार ८८० जना बालबालिका हराएका थिए ।
हराएकामध्ये तीन हजार ८९४ जना बालबालिका फेला परेका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा चार हजार ३८४ बालबालिका बेपत्ता हुँदा दुई हजार ३६६ जना भेटिएको प्रहरीले बताएको छ ।

यस्तै, आर्थिक वर्ष ०७७÷०७८ मा दुई हजार ३९६ बालबालिका हराउँदा एक हजार ४४९ जना फेला परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा एक हजार ९३२ जना बालबालिका हराए । तीमध्ये ९८७ जना मात्र भेटिए ।

अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा दुई हजार ८९३ बालबालिका बेपत्ता हुँदा एक हजार २१३ जना फेला परेको प्रहरीले जानकारी दिएको हो । त्यस्तै, आर्थिक वर्ष ०७४÷०७५ मा दुई हजार ३३० बालबालिका हराएका थिए ।
तीमध्ये ६४२ जना मात्र भेटिएको जनाइएको छ । आव ०७३÷०७४ मा पनि दुई हजार ७७१ बालबालिका हराउँदा छ सय जना फेला परेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

यसैगरी, आर्थिक वर्ष ०७२÷०७३ मा एक हजार ३१५ बालबालिका बेपत्ता भएका थिए । तीमध्ये ४४० जना भेटिएका हुन् । आव ०७१÷०७२ मा भने एक हजार ४१८ बालबालिका बेपत्ता हुँदा ३१४ जना फेला परेको तथ्याङ्क छ ।

हराउनेमा बालकभन्दा बालिका बढी

नेपालमा बालकभन्दा बढी बालिका हराउने गरेका छन् । यसलाई प्रहरीको तथ्याङ्कले समेत पुष्टि गर्दछ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म चार हजार ६२६ बालबालिका हराएकामा तीन हजार २९७ जना बालिका हुन् ।

गत वर्ष छ हजार ८८० बालबालिका हराएकोमा चार हजार ९४५ जना बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरी हेर्डक्वार्टरको तथ्याङ्कअनुसार आव ०७८÷०७९ मा साढे चार हजारको संख्यामा बालबालिका हराएकोमा तीन हजारभन्दा बढी बालिका छन् ।

आर्थिक वर्ष ०७७÷०७८ मा दुई हजार ३९६ जना बालबालिका बेपत्ता भए । तीमध्ये एक हजार ७४७ जना बालिका थिए । आव ०७६÷०७७ मा एक हजार ९३२ बालबालिका हराएकामा एक हजार २६६ जना बालिका बेपत्ता भएका हुन् ।

यस्तै, आव ०७५÷०७६ मा दुई हजार ८९३ बालिका हराए । त्यसमध्ये दुई हजार ३६ जना बालिका रहेका छन् । आव ०७४÷०७५ मा दुई हजार ३३० बालबालिका बेपत्ता भएकोमा ६४२ जना बालिका हराएका हुन् ।
 
आर्थिक वर्ष ०७३÷०७४ मा हराएकाको संख्या दुई हजार ७७१ रहेकोमा एक हजार ७२५ जना बालिका रहेको प्रहरीले जनाएको छ ।

आव ०७२÷०७३ मा एक हजार ३१५ बालबालिका बेपत्ता भएकामा ७३० जना बालिका रहेको पाइन्छ । यसैगरी, आर्थिक वर्ष ०७१÷०७२ मा एक हजार ४१८ बालबालिका हराएकोमा ७२४ जना बालिका थिए ।

कहाँ पुग्छन् बालबालिका ?

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकाल आर्थिक अवस्था कमजोर हुँदा वा घरपरिवारले हेला गर्दा बालबालिका आफैं पनि घर छाडेर जाने गरेको बताउँछन् । भन्छन्, ‘घरपरिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि कतिपय बालबालिकाहरु कामको खोजीमा घरै छोडेर हिँड्ने गरेका छन् । कतिपय भने घरपरिवारले बेवास्ता वा हेला गर्दा घर छोडेर हिँड्ने गरेको पाइएको छ ।’

यसरी घर छाडेर हिँडेका अधिंकाश बालबालिका सडकमा पुग्ने गरेको प्रवक्ता ढकालले बताए । उनका अनुसार पछिल्लो समय प्रहरी कार्यालयहरुमा बालबालिका हराएको उजुरी दर्ता हुने क्रम बढ्दो छ ।

बेपत्ता बालबालिकाको नेपाल प्रहरीले बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा खोजतलास गर्दै आएको जानकारी दिँदै उनले भने, ‘हराएका बालबालिकालाई जतिसक्दो छिटो फेला पारी सम्बन्धित परिवारलाई जिम्मा लगाउन हामीले आफ्नो तर्फबाट सक्दो काम गर्दै आइरहेका छौं ।’

तर, आफ्ना छोराछोरी हराउँदा प्रहरीमा उजुरी गर्ने अनि फेला परेपछि खबर नगर्ने प्रवृत्ति बढ्दै गएको उनी बताउँछन् । ढकालले थपे, ‘घर फर्किन एकछिन ढिलो भएपछि प्रहरीमा उजुरी गर्छन् । अनि भेटिएपछि खबर गर्दैनन् । यसले बालबालिका भेटिएपनि प्रहरीको तथ्याङ्कमा भने फेला नपर्ने संख्या बढ्दै गएको छ ।’
 

टिप्पणीहरू