गणेशका उपयोगी गन्थन

गणेशका उपयोगी गन्थन

व्यक्ति एक पहिचान अनेक, इ. गणेशराज वस्तीको विशेषता अब सरकारको सहसचिव (प्राविधिक) मा मात्र सीमित रहेन । जिम्मेवारीका हिसाबले प्रदेशका सचिव हुन् वस्ती । दश– पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य सिर्जनामा मात्र कलम चलाउँदैनन् । उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढुवाका लागि प्रतिस्पर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् । कहिले कविता कोर्छन्, कहिले संस्मरण ।

०७१ सालदेखि हरेक वर्ष कुनै न कुनै कृति प्रकाशन गरिरहेका उनै वस्तीले ०८० सालमा ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ कृति बजारमा ल्याए । वस्तीका हालसम्म दर्जनभन्दा बढी कृति बजारमा आइसकेका छन् । जसमध्ये सिभिल इञ्जिनियरिङसँग सम्बन्धित ७ थान पुस्तक बजारमा आइसकेका छन् । मनको आँधीमार्फत कविको रूपमा दर्ज भएका वस्तीको नियात्रा ०७५ सालमै बजारमा आइसकेको छ । आफ्नै जीवनका अनुभव, अनुभूति समेटेर संघर्ष (संस्मरण) निकाले, जहाँ स्कुले जीवनमै शिक्षक भएर अध्यापन गराउँदाका अनुभूति, आफूलाई पढाउने शिक्षकसँग आफू पनि शिक्षक हुँदा लागेको धक संस्मरणमा पोखे । ‘परेली तरेली’ कविता कृतिपछि अर्काे संग्रह बजारमा ल्याएका हुन्, उनले । 

०७२ सालको भूकम्पपछि जिम्मेवारीको हिसाबले उनी आफैँ पुनर्निर्माण प्राधिकरणमा जोडिए । भूकम्पपछि पुनर्निर्माण कार्यमा सरकारी निकायको प्रतिनिधित्व गरेका इञ्जिनियर वस्तीले पुस्तकमा भूकम्पसम्बन्धी इतिहासलाई कोट्याएका छन् । प्रकृतिलाई उछिन्न वा जित्न सकिँदैन यसलाई पछ्याउने हो । भूकम्प मानवीय वशभन्दा बाहिरको विषय हो । भूकम्प भएको अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने, व्यस्थित गर्ने, उद्धार पुनर्निर्माण कार्यलाई कसरी अगाडि बढाउनेलगायत विषयमा उनले सरल, स्पष्ट अनि यथार्थपरक रूपमा आफ्नो कार्यअनुभव पस्किएका छन् पुस्तकमा । 

सरकारी सेवामा रहेर काम गर्दा आफूले बटुलेका अनुभवलाई उनले सरल शैलीमा पाठकमाझ पस्किएका हुन् । साढे दुई सय पृष्ठ, ३१ अलग–अलग उपशीर्षकमा तयार भएको पुस्तकमा आफू सरकारी सेवामा रहँदा देखे/भोगेका अनुभूतिलाई सिधा ढंगले इमान्दारपूर्वक पस्कने प्रयास गरेका छन्, उनले । यसका अलावा भूकम्पपछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका उद्धार तथा राहत र पुनर्निर्माणका क्रममा भएका विकृति, विसंगति र बेथितिलाई प्रहार गरेका छन्, कृतिमा । भूकम्पका विषयमा अनेकन कृति भेटिन्छन्, बजारमा ।

तर, भूकम्पपछि सरकारी उच्च सेवामा रहेर पुनर्निर्माणकै काममा संलग्न रहेका वस्तीको ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ कृति विद्यालय/विश्वविद्यालयका विद्यार्थी, शिक्षार्थी, शोधार्थीका अलावा भावी पुस्ताका लागि समेत अध्ययन, अनुसन्धान, अन्वेषणका लागि संग्रहणीय कृति मान्न सकिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू