पूर्वी नाका खोल्न राजदूत आज चीन प्रस्थान

पूर्वी नाका खोल्न राजदूत आज चीन प्रस्थान
सुन्नुहोस्

कोरोना संक्रमणका बेलादेखि बन्द उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्ताला नाका चार वर्षपछि सुचारु गर्न चिनियाँ राजदूत छन सोङ्ग आज स्वदेश गएका छन् ।   

छङ्तु हुँदै तिब्बती बाटो भएर उच्चपदस्थ चिनियाँ पदाधिकारीहरुसहित उनी पर्सि शनिवार नेपाल-चीन सीमा नाकामा आइपुग्नेछन् । नाका सुचारु गरिवरी बल्ल १४ गते सोमबार नेपाल फर्कने उनको कार्यक्रम छ । 

कोरोना संक्रमण फैलिने डरका कारण चीनले ०७७ देखि किमाथांका नाका बन्द गरेपछि आवतजावत ठप्प थियो । नाका बन्द हुँदा भोटखोलावासी सबैभन्दा बढी समस्यामा परेका थिए । नेपाल सरकारका तर्फबाट भएको पटक-पटकको आग्रहमा चीन सहमत भएपछि पर्सि शनिवारदेखि नाका खुल्ने निश्चित भएको हो। 

नाका खुलाउन चीनका तर्फबाट औपचारिक रूपमा निमन्त्रणा आएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्‌काले बताए । शनिबार औपचारिक कार्यक्रमका बीच नाका खोल्ने तयारी छ । दुवै मुलुकका उच्चपदस्थ अधिकारीको सहभागितामा नाका सूचारु गरिने सिडिओ खड्काले जानकारी दिए । 

कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीसहित गृह र परराष्ट्रका अधिकारी सामेल हुनेछन् । 'नेपालको १४ वटा नाका एकैपटक खुला गर्ने योजना छ । तीमध्ये ११ वटा नाका कोशी प्रदेशभित्रै पर्नेरहेछ,' खड्‌काले भने ।

०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वका कारण भोटखोला गाउँपालिकाको केन्द्र हटियामा रहेको सीमा भन्सार कार्यालय ०५७ देखि सदरमुकाम खाँदबारीमै छ । लामो प्रयासपछि नाका खुला हुने औपचारिक रूपमा जानकारी आएको प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । 

चौतर्फी पहलपछि मात्रै नाका खुलाउन सम्भव भएको उनले बताए । सदरमुकाम खाँदबारीदेखि १६२ किमी उत्तरमा रहेको किमाथांका नाका खुल्ने भएपछि भोटखोलावासी खुशी भएका छन् । 

किमाथांका नाका खुलाउन सीमा प्रशासन कार्यालयले यसअघि नै ६ सय ४० जना भोटखोलाका स्थानीयलाई अस्थायी प्रवेशपत्र वितरण गरिसकेको छ । सो प्रवेशपत्रका आधारमा पालैपालो चीन प्रवेश र आवतजावत गर्न पाइने बताइएको छ ।

• प्रशासनद्वारा १३० जनालाई अनुमतिपत्र वितरण 

यता,गत मे ७ बाट खुला गर्ने भनिएको टिप्ताला नाका चीनतर्फ तयारी पूरा नभएकाले रोकिएको छ । तिब्बततर्फबाट तयारी पूरा नभएकाले केही दिन पछाडि सरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । 

आगामी मे २४ बाट नाका खुला हुने जानकारी प्रप्त भएको तर औपचारिक पत्र भने नआएको उनको भनाइ छ । स्थानीय प्रशासनले भने तिब्बत प्रवेश गर्न १३० जना ओलाङचुङगोलावासीलाई अनुमतिपत्र वितरण गरिसकेको छ । 

फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले पनि नाका खोल्नेबारे तिब्बततर्फबाट औपचारिक पत्रको पर्खाइमा रहेको बताए । ओलाङचुङगोला अर्थात् टिप्ताला नाका भएको क्षेत्रका वडाध्यक्ष छेतेन शेर्पाले २४ मेमा स्थानीयवासीलाई तिब्बतबाट बोलाइएको जानकारी दिए । 

नाका बन्दको असर सबैभन्दा धेरै ओलाङचुङगोलामा परेको छ । चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका  यहाँका स्थानीय नाका नखुल्दा मर्कामा परेका छन् । 

विराटनगरको रानी भन्सार नाका हुँदै ताप्लेजुङको टिप्तालासम्म पुग्ने सडकलाई चीन-भारत जोड्ने नेपालकै छोटो मार्गका रूपमा लिइन्छ ।

टिप्पणीहरू