मोबाइलले निम्त्यायो घरैपिच्छे महाभारत

मोबाइलले निम्त्यायो घरैपिच्छे महाभारत

संसारको जग विश्वासमा अडिएको छ । अनि विश्वास भन्ने चिजचाहिँ रेशमी धागोजस्तै । जब धागो चुँडिन्छ अनि सबै सखाप । प्रविधि धेरैको जीवनमा बरदान बनेको छ तर त्यही दुरूपयोग हुँदा धेरैको घरवार उठीबास लागेको छ । यस्तै एक दम्पतीको लफडा अहिले बौद्ध प्रहरीमा पुगेको छ । 

दशकअगाडि विवाह बन्धनमा बाँधिएका हुन् मानबहादुर र मीना तामाङ । काभ्रे जिल्लाको एउटै भेगका । कुखुरे बैंशले यसरी छोयो कि, १६ वर्षकै उमेरमा प्रेमका हाँगाबिँगा फैलिए । पढ्ने, करिअर बनाउने उमेरमा विवाह गरिदिन दुबैको परिवारले स्वीकार गरेन । विवाहमा बाधा गर्ने देखेपछि भासिए काठमाडौं । कलिलै उमेरमा विवाह गरे, सात जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाए । जोडी शुरुमा काठमाडौंको साँखुमा आएर बस्यो,  साहुको जग्गा भाडामा लिएर खेतीपाती चलायो । कुखुरापालन गर्न थाल्यो । खेतीपातीसँगै होटल पनि चलायो । मनग्यै आम्दानी हुन थाल्यो । साँखुको बसपार्कनजिकै होटेल भएकाले त्यो आम्दानी प्रशस्त थियो । तर, त्यहाँ मानबहादुरको मन रम्न छाड्यो कारण होटलमा अनेकनथरीका ग्राहक आउँथे । विशेष गरी ड्राइभर, खलासीको कुदृष्टि पर्न थालेपछि आम्दानी हुँदा हुँदै पनि उक्त ठाउँ छाड्न बाध्य भए । 

ड्राइभर र खलासीले भर्खरकी कलकलाउँदी श्रीमतीमाथि आँखा गाड्न थालेपछि मानबहादुर होटेल बेचेर बौद्ध सरे । अहिले महांकाल,  पानी ट्यांकीनजिक डेराको जीवन बिताइरहेका छन् । झण्डै पाँच वर्ष भयो, बौद्ध सरेको । भन्छन्, नि बर्मा गए पनि कर्मसँगै । डेरासँगै मानबहादुरले कर्मको डेरा सारे । एउटा गोदाम कम्पनीमा काम गर्दै थिए । श्रीमतीलाई आफूसँगै काम गर्न लगाए तर त्यहाँ पनि ड्राइभर, खलाँसीजस्तै गोदामका केटाहरू निस्किए । जिस्क्याउन र कर्के नजर लगाउन थालेपछि श्रीमतीलाई घरमै राखेर आफूमात्र काम गर्न थाले, केही समय । तर, महँगो काठमाडौंमा आफू मात्र काम गरेर टिक्न सक्ने स्थिति रहेन । र, श्रीमती मीनालाई आफ्नै दिदीले बागबजारमा खोलेको फेन्सी पसलमा काममा पठाए । तर,  मीनाको मन दिदीको पसलमा धेरै रमाएन । उनी दुई महिनामै त्यहाँबाट हिँडिन् र अन्यत्र काम गर्न थालिन् । श्रीमान् एक खाद्यान्न गोदाममा काम गर्छन्, श्रीमती काठमाडौं मलभित्रको फेन्सी पसलमा । बिहान श्रीमान् अघि,  श्रीमती पछि डेराबाट निस्कन्छन् । कहिलेकाहीँ सँगै पनि हुन्छन् । दुवैलाई उतिसाह्रो जीवनमा धन सम्पत्तिको मोह छैन,  सामान्य जिन्दगी नै काफी ठान्छन् । दुःखजिलो गरेर गुजारा चलाइरहेका छन् ।

यद्यपि, बाहिरबाट हेर्दा लाग्छ तामाङ दम्पती परेवा जोडीजस्तो । अगाध मायाले कलिलो उमेरमा बिहे गरेर काठमाडौं भासिएका उनीहरूसँग अहिले र पहिलेको मायामा गहिरो खाडल छ । विवाह भएको १० वर्षमा पनि सन्तान नहुँदा मीनाको मन उजाड छ । पहिले एकछिन श्रीमती छाड्न र बाहिर हिँडाउनै नचाहने मानबहादुरले अहिले सबै विषयमा छुट दिएका छन् । श्रीमती जोसुकैसँग हिँडोस्,  बोलोस्,  खाओस् कुनै प्रर्वाह छैन । जब उनी गोदाममा काम गर्दै गए उतिउति बानी बदलिँदै गयो । बेलुकी घर आउँदा श्रीमतीले मायाले पकाएको भात र तरकारी अनि बाहिरकै भात र मात मीठो लाग्न थाल्यो । शुरु शुरुमा त श्रीमान्को बानीमा आएको परिवर्तनलाई मीनाले कामको चापले होला भन्ठानिन् ।

तर एक दिन दुई दिन होइन,  महिनौँ बित्दा पनि झन् झन् बानी बिगार्न थालेपछि वास्तविकता खोज्न थालिन् । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर गाउँ,  परिवार त्यागेको त्यो प्रण कसरी आज एकाएक यस्तो भयो ? पर्दापछाडिको कारण बुझ्न खोजिन् । कारण रहेछ– फेसबुक,  टिकटक । सोझा मानबहादुरले पनि नयाँ टच स्क्रिन मोबाइल किने । सोसल अकाउण्ट खोले । दुइटै सञ्जाल जति चलायो उति मज्जा । फेसबुकमा थरीथरीका साथी,  त्यसमा पनि अधिकांश महिला । उनीहरूसँगको गुलाबी बातचित । बेलुकी अफिसबाट महिलासँग फेसबुकमा गफिँदै घर आइपुग्थे । घरको गेट आएपछि मोबाइल गोजीमा राख्ने, च्याट सबै डिलिट गर्ने ! श्रीमान् कामबाट फर्किनेबित्तिकै श्रीमतीले मोबाइल हत्तपत्त खोज्थिन् । श्रीमान्ले कोसँग कुन हिसाबले बोल्यो भनेर फेसबुक खोल्थिन् । कल लिष्ट चेक गर्थिन् । तर केही भेट्दैनथिन् । श्रीमान् झन् झन् बिग्रिँदै गएको र आफूले सुधार्न नसकेपछि मन कुँडिँदै गयो । सम्बन्ध बनाउन पो समय लाग्छ, तोड्नका लागि कति बेर लाग्छ र ? श्रीमान्सँग कैयौँपटक घर आउनमा ढिलाइ, खाना नखानु र आफ्नो ख्याल पिटिक्कै नगरेकोबारे रोएर प्रश्न गरिन् । तर,  उल्टै श्रीमतीलाई ‘गोहीको आँशु नझार’ भन्दै थर्काउने । तैपनि, मीना उनलाई सम्झाउन खोज्थिन् । 

आठ–नौ वर्षअघि भगवान्कै रूप देखेको श्रीमान्को माया–प्रेममा आकाश र जमिनको अन्तर आएपछि मीनाले पनि मन बहलाउन फेसबुकबाटै अनेकन साथीहरू बनाउन थालिन् । अनेक साथी त हुने नै भए । बोलाइ पनि रंगीबिरंगी । दुवैको तन एउटै ओछ्यानमा तर मनचाहिँ हावाजस्तो उडिरहेको हुने । दुवैले एकले अर्काको गतिविधि लुकाइरहेका । श्रीमान् श्रीमती भएपछि सुख,  दुःख सामान्य झगडा त हुन्छ नै ! तर, अब फेसबुककै कारण दुईबीचमा दैनिक झगडा हुन थाल्यो । यही सामाजिक सञ्जालले जीवनमा ०७२ को भुइँचालोजस्तै नमिठो धक्का दियो । सम्बन्धमा कम्पन गयो । एउटा आगो, अर्काे पानी भए पो सम्बन्ध टिकिरहन्छ, दुबै आगो भएपछि हुने खरानी नै हो । हरेक दिन त्यही मोबाइल र फेसबुकका कारण लफडा पर्न थाल्यो । मोबाइल खोसाखोस गर्ने र हिस्ट्री चेक गर्ने दैनिकी हुन थाल्यो । यो क्रम दैनिक चल्थ्यो,  झगडा हुन्थ्यो,  मोबाइल फालिन्थ्यो,  टिपिन्थ्यो,  फेरि बनाइन्थ्यो र फेरि उही क्रम दोहोरिन्थ्यो । तैपनि, दुवैलाई लागेको बानी कहाँ छुट्थ्यो र ? न छुटिन सक्ने, न सँगै मिलेर बस्न सक्ने । अचम्मको जोडी बनाइदियो फेसबुकले । 

गत साता बेलुकीको ११ बज्नै लागेको हुँदो हो । खाना खाइवरी पढ्न बसेकी थिएँ । एक्कासी मेरो कोठाको ढोका सामुन्ने कोठाबाट कर्कश आवाज सुनियो । यसअघि पनि यस प्रकारको झगडा सुनिएकै हो तर त्यो परिवारमै सीमित हुन्थ्यो त्यस दिनको झगडाले उग्ररूप लियो । ‘यो कुनचाहिँ खाते हो ? पानको पात पठाउने ? किसको इमुजी पठाउने ? के हो यसको अर्थ ? मीनाको प्रतिवाद हुन्थ्यो ‘यो कुन नकच्चरी हो ? बिहे गरौँ,  बच्चा जन्माऔँ भन्ने ? अर्काेको गल्तीमा पो न्यायाधीश बन्छ मान्छे, आफ्नो गल्तीमा वकिल बन्ने नै भयो । दुबैको जवाफ रहन्थ्यो ‘मेरो पनि मिल्ने साथी हो । त्यही भएर जिस्केर बोलेको हो’ । त्यसपछि शुरु भयो महाभिडन्त । दुवैले एक अर्काको मोबाइल भित्तामा पछारे । मीनाको टाउकामा गम्भीर चोट लागेको छ । छिमेकीहरूले दैनिक करकर र लफडा सुन्नुपरेपछि यो प्रकरणलाई बौद्ध प्रहरीमा पुर्‍याएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू