मेडिकलमा प्रहरीको छापा, कोटेश्वरबाट लागूऔषध कारोबारी पक्राउ

मेडिकलमा प्रहरीको छापा, कोटेश्वरबाट लागूऔषध कारोबारी पक्राउ

काठमाडौंको मित्रनगरस्थित एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । प्रतिवन्धित लागूऔषध कारोबारको आरोपमा 'कविता फार्मेसी'का सञ्चालक विनिता कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले हिजो साँझ फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ६ सय ५० पिस ट्रामाडोल ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ । 

यता, कोटेश्वरबाट लागूऔषधसहित चार युवक समातिएका छन् । रुकुम पश्चिम घर भई कोटेश्वर बस्ने वर्ष २६ का दिपेन्द्र ओली, नरेफाँट बस्ने भक्तपुरका २४ वर्षीय रुकेश श्रेष्ठ, ललितपुरको मंगलबजार बस्ने सिन्धुलीका २३ वर्षीय राकेश खड्का र ग्वार्को बस्ने ओखलढुंगाका २२ वर्षीय ध्रुव कडवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले हिजो ओलीको कोठा खानतलास गर्दा ३८ हजार ९४ पिस ट्रामाडोल ट्याबलेट फेला पारेको बताइएको छ । दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू