अब विश्वकपमा कसरी चम्केलान् सन्दिप

अब विश्वकपमा कसरी चम्केलान् सन्दिप

– लक्ष्मी काफ्ले

लामो प्रतीक्षापछि सन्दिप लामिछानेले सफाइ पाए । क्यानबाट निलम्बन फुकुवा भयो । आइसिसीले विश्वकप खेल्ने अनुमति दियो । र, टी–२० विश्वकप खेल्न अमेरिका गए । लाखौँ शुभचिन्तकको प्रतीक्षाको घडी सकियो । अब सन्दिपले विश्वकप खेल्छन् ।

पछिल्ला ६ महिनादेखि उनले क्रिकेट खेलेका छैनन् । अरु खेलाडीचाहिँ महिनौँदेखि विश्वकपकै लागि कडा अभ्यासमा छन् । मुद्दाबाट सफाइ पाएर सोझै विश्वकप खेल्न गएका सन्दिपको प्रदर्शन कस्तो रहला ? लाखौँ समर्थक सन्दिपको पहिलाकै रफ्तारको खेल हेर्न आतुर छन् । सन्दिप पनि टिममा परेपछि नेपालको क्रिकेट टिम त निकै मजबुत भयो । अब विश्वकपमा नेपालले कस्तो खेल्छ होला ? समूह चरणका ४ खेलमध्ये नेपालले कतिवटा जित्छ ? ठीकठिकै खेल्छ कि ? हारेर फर्किन्छ कि ? या सुपर ८ मै पो पुग्छ कि ? यी तमाम विषयमा चर्चा शुरु भइसक्यो । दुःख र सुख जीवनकै दुई हिस्सा हुन् । दुःखपछि सुख आउँछ । सुखपछि दुःख । जीवनमा सुखैसुख पनि भइरहँदैन । दुःखैदुख पनि सधैँ हुँदैन । भगवद् गीतामा श्रीकृष्णले पनि भन्नुभएको छ– अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ।

श्रीकृष्णका अनुसार यस लोकमा नित्य केही पनि छैन । स्थायी केही पनि छैन । न सुख स्थायी छ । न दुःख स्थायी छ । न जीवन स्थायी छ । न शरीर । ‘त्यसकारण तिमी कर्म गर । असल कर्म गर । अनि मेरो भजन गर । सदा मेरो स्मरण गर । बाँकी चिन्ता छोडिदेऊ ।’– गीतामा कृष्ण यसै भन्नुहुन्छ । सन्दिप लामिछानेमा यो कुरा लागू भयो । जीवनमा उनले सुख खुबै भोगे । दुःख पनि अति नै पाए तर भजन गर्न छाडेनन् । भजन अर्थात् भक्ति । उनले भक्ति छाडेनन् ।

काठमाडौँमा घर किने । गाडी किने । नेपाली क्रिकेट टिमको कप्तान पनि बने । तर, यी सारा सुख स्थायी थिएनन् ।

सनातन धर्मप्रति दृढ आस्था छ सन्दिपको । मन्दिरहरू गइरहे । भगवान्को स्मरण र कर्म पनि गरिरहे । अर्थात् जिल्ला अदालतमा मुद्दा चलिरह्यो । क्रिकेटचाहिँ खेलिरहे । जिल्ला अदालतले दोषी ठहर गरेपछि चाहिँ क्रिकेट खेलेनन् । दुई वर्षअघिसम्म सन्दिपको जीवनमा सुखैसुख थियो । उनले जति सुख नेपाली क्रिकेट टिमका अरु कुनै खेलाडीले पाएनन् । उनले नखेलेका कुनै विदेशी क्रिकेट लिगहरू थिएनन् । देशविदेशका सारा लिग खेले । नाम र दाम दुबै कमाए । काठमाडौँमा घर किने । गाडी किने । नेपाली क्रिकेट टिमको कप्तान पनि बने । तर, यी सारा सुख स्थायी थिएनन् । सुखपछि दुःख आउनु थियो ।

सन्दिप एउटा मुद्दामा फँसे । पक्राउ परे । कप्तानी छुट्यो । क्रिकेट छुट्यो । विदेशका ती सबै चर्चित लिगहरू छुटे । मुद्दा लड्दा–लड्दा भएको पैसा सकियो । बद्नामी पनि भयो । शारीरिक र मानसिक रूपमा कमजोर हुनुपर्‍यो । सुखपछि यी दुःखका दिनहरू झेल्नुपर्‍यो । तर, दुःख पनि त स्थायी रहँदैन । दुःखपछि फेरि सुख आउँछ नि ! डेढ वर्षको दुःखपछि सुखका दिन फेरि शुरु हुँदै छन् । जिल्ला अदालतको फैसला उल्टाएर उच्च अदालत पाटनले सन्दिपलाई सफाइ दियो । यो एउटा सुख । तत्काल क्यानले निलम्बन फुकुवा गरिदियो । अर्को सुख । विश्वकपका लागि १५ जनाको टिम छानिएको २२ दिन भइसक्यो । सन्दिपले विश्वकप खेल्ने सम्भावना लगभग सकिएको थियो । तर, सफाइ पाइसक्दा क्यानले आइसिसीलाई पत्र पठायो । र, आइसिसीले सन्दिपलाई टिममा राख्न अनुमति पनि दियो । यो अर्को सुख ।

यता सन्दिपले सफाइ पाउनु र उता अभ्यासमा रहेको हाम्रो टिमले निरन्तर खेलहरू जित्नु पनि सुखद् कुरा हो । सन्दिपले अब टी–२० विश्वकप खेल्ने कुरा पक्का भयो । जेठ नेपाली क्रिकेटका लागि सुखद् महिना बन्दै छ । सन्दिपले सफाइ पाए, जेठ २ गते । विश्वकप खेल्ने अनुमति पनि पाए । र, नेपालले जेठ महिनामै विश्वकप पनि खेल्दै छ । नेपाली टिमबाट क्रिकेट खेल्न थालेदेखि नै सन्दिपका २ वटा सपना थिए । एउटा सपना–विश्वकपमा पुग्ने, विश्वकपमा राम्रो गर्ने । र, अर्को सपना भनेको क्रिकेटमा नेपाललाई टेस्ट नेशन बनाउने ।

दुईमध्येको एउटा सपना जुन विश्वकपमा पुग्ने थियो । त्यसमा सन्दिपले नै सबैभन्दा ठूलो योगदान गरेर नेपाललाई विश्वकपमा पुर्‍याएका थिए । जसले नेपाललाई विश्वकपसम्म पुर्‍यायो, ऊ नै विश्वकप खेल्न जान नपाउने भयो भनेर सबै फ्यान निराश थिए । तर, सबैको शुभकामना अन्ततः सफल भयो । उनी निर्दोष भए । विश्वकप खेल्न जानका लागि नेपालले मे १ तारिखभित्रै टिम घोषणा गर्नुपर्ने थियो । त्यसमा सन्दिप परेनन् । किनभने त्यतिबेलासम्ममा फैसला आइसकेको थिएन । यद्यपि, नपाल क्रिकेट संघले पनि सन्दिपलाई विश्वकपमा लैजानका लागि प्रयास गरिरहेकै थियो । फैसला पर्खिरहेकै थियो ।

लाखौँ फ्यानको जुन सपना थियो । त्यो त पूरा हुने भयो । सन्दिपले विश्वकप खेल्न पाउने भए । तर, विश्वकपमा सन्दिपले कस्तो खेल्छन् होला ? यो एउटा चिन्ता चाहिँ हुन्छ फ्यानहरूमा । किनभने लामो समयदेखि उनी मैदानमा छैनन् । महिनौँदेखि सन्दिप मानसिक तनावमा थिए । पछिल्लो ६ महिनादेखि टिममा पनि थिएनन् । र, ६ महिनायता कुनै खेल खेलेका छैनन् । टिमका अरु खेलाडी भने विश्वकपकै लागि निरन्तर अभ्यासमा छन् । यो बीचमा उनीहरूले लगभग ३०÷४० वटा टी–२० खेलिसके । तर, सन्दिप टिममा थिएनन् । अब एक्कासी विश्वकप खेल्न जाँदा सन्दिपको प्रदर्शन कस्तो रहला भन्ने चिन्ता फ्यानलाई लाग्नु स्वभाविक नै हो ।

तर, ‘बाघले शिकार गर्न कहिल्यै बिर्सिंदैन’ पनि भनिन्छ । सन्दिप त्यस्तै खेलाडी हुन् । तीन महिना हिरासत बसेर छुटिसक्दा टिममा फर्किएर नेपाललाई विश्वकपमा पुर्‍याउने खेलाडी सन्दिप नै हुन् । त्यही बिचमा सन्दिपले ओडिआइमा सबैभन्दा छिटो १०० विकेट लिने रेकर्ड पनि बनाए । त्यसकारण सन्दिपको प्रदर्शन बिग्रिन्छ भनेर डराइहाल्नुपर्ने देखिँदैन । विश्वकप शुरु हुन अझै केही दिन छन् । सन्दिपले अब टिमसँगै मिलेर अभ्यास गर्नेछन् । निकै पसिना बगाउने छन् । विश्वकपअघि नेपालले मे २७ मा क्यानाडासँग र मे ३० मा अमेरिकासँग वार्मअप म्याच खेल्ने पक्का भइसक्यो । सन्दिपले ती वार्मअप म्याचहरू खेल्नेछन् । र, यसपटकको टी–२० वल्र्डकपमा जर्सी नम्बर २५ ले जादु देखाउने छ । उनका शुभचिन्तकको अपेक्षा यही छ ।

विश्वकपको प्लेइङ ११ मा सन्दिप लामिछानेको नाम परिसक्दा नेपालको टिममा सन्तुलन आउनेछ । टिम निकै बलियो बन्नेछ । क्रिकेटका एक्सपर्टहरू भन्छन्– ‘खेल जित्नका लागि कुनै पनि टिममा कम्तीमा ३ जना व्याट्सम्यान र २ जना बलर उच्च लयमा रहन जरुरी छ ।’ व्याट्सम्यानहरू त लयमै छन् । कुशल भुर्तेल फर्ममा आइसके । अनिल साहले राम्रो गर्दैछन् । रोहित पौडेल फर्ममा छन् । विश्वका टप १० अलराउण्डर दिपेन्द्रसिंह ऐरी फर्ममा छन् । अब २ जना बलर फर्ममा हुनुप¥यो । चिन्ता यहीँनेर छ । न करण केसी फर्ममा छन् । न सोमपाल कामी । न प्रतीश जिसी । न त न अविनाश बोहोरा । स्पिनरमा ललित राजवंशी पनि आफ्नो पुरानो लयमा छैनन् । यस्तो बेला बिचका ओभरहरूमा कुशल भुर्तेलले लेगस्पिनको जिम्मेवारी आफ्नो काँधमा लिएर खेल नेपालको पक्षमा पारिरहेका छन् । उनलाई गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले साथ पनि दिइरहेका छन् ।

तर, पावरप्लेमा र डेथ ओभरमा नेपाली बलरहरूको धुलाई भइरहेको छ । खासगरी फास्ट बलरहरूको । अब त सन्दिप लामिछाने टिममा फर्किए । उनको ४ ओभरको लेगस्पिन र कुशल भुर्तेलको ४ ओभरको लेगस्पिनले नेपाललाई ठूलो फाइदा हुन्छ । यो ८ ओभरमा नेपालले रन रोक्छ । विकेट पनि निकाल्छ । तर, सन्दिप आइसकेपछि कुशल भुर्तेलले पूरै ४ ओभर बल फ्याँक्न पाउँछन् कि पाउँदैनन् । कप्तानले भुर्तेललाई ४ ओभर दिन्छन् कि दिँदैनन् । हेर्न बाँकी नै छ । १० वर्षअघि नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो, २०१४ मा । १० वर्षपछि दोस्रोपटक खेल्दै छ, २०२४ मा । १० वर्षअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनहरू थिए । अहिले रोहित पौडेल, कुशल मल्ल, सन्दिप लामिछानेहरू छन् । सोमपाल कामीचाहिँ १० वर्षअघि थिए । अहिले पनि छन् । १० वर्षअघिको वल्र्डकपमा नेपालले ३ खेल खेल्यो । २ वटा जित्यो, एउटा हार्‍यो । नेपालले राम्रो खेल्यो । नेपाल र बंगलादेशले २÷२ वटा खेल जिते । रनरेटका आधारमा बंगलादेश अर्को चरणमा पुग्यो । र, नेपाल बाहिरियो ।

त्यो वल्र्डकपमा नेपालले साँच्चै राम्रो खेल्यो । तीनवटै खेलमा नेपालका बलरहरूले एउटा पनि वाइड बल फालेनन् । एउटा पनि नो बल फालेनन् । अतिरिक्त रन भनेको बाइ र लेगबाईबाट मात्र गयो । अफगानिस्तानसँग बाइ र लेगबाई गरेर ५ रन । बंगलादेशसँग लेगबाइबाट २ रन । र, हङकङसँग लेगबाईबाट १ रन । ३ खेलमा ८ रन मात्र अतिरिक्त रन ।

अस्ति वेस्ट इण्डिज ‘ए’ सँग नेपालले पहिलो खेलमा १७ रन एक्स्ट्रा दियो । एउटा नो बल, ९ वटा वाइड । चौथो खेलमा २५ रन एक्स्ट्रा । त्यसमा १७ वटा त वाइड बल । अन्तिम खेलमा १७ रन एक्सट्रा । १२ वटा वाइड बल । नेपालले यसमा निकै काम गर्नुपर्ने देखिन्छ । विश्वकपमा यसपटक नेपालले समूह चरणमा ४ खेल खेल्दै छ । नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग । यी ४ मध्ये नेपालले कतिवटा खेल जित्छ होला ? यो ग्रुपबाट २ वटा टिम सुपर ८ मा पुग्नेछन् । नेपालको लक्ष्य पनि सुपर ८ सम्म पुग्ने हो । त्यसका लागि नेपालले ४ मध्ये ३ खेल त जित्नैपर्छ । दक्षिण अफ्रिकालाई जित्ने त कल्पना नगरौँ । तर, के नेपालले नेदरल्याण्ड्स, श्रीलंका र बंगलादेशलाई जित्छ होला ? चर्चा यही विषयमा चल्दै छ । 

फ्यानहरूलाई सन्दिपको पनि चिन्ता अझै छ । सन्दिपको मुद्दा पूरै सकियो भनेर फ्यानहरू ढुक्क छैनन् । मुद्दा हार्ने पक्षले सर्वोच्च जान पाउँछ । उच्च अदालतबाट अहिलेलाई सन्दिप निर्दोष भए । तर, न्याय पाऊँ भन्दै अब गौशाला २६ पक्कै सर्वोच्च जानेछिन् । र, अन्तिम छिनोफानो सर्वोच्चले गर्नेछ । विश्वकपमै सन्दिपले आफ्ना फ्यानहरूलाई पक्कै अर्को खुशी पनि दिनेछन् । सन्दिपले अबको एउटै खेलमा २ विकेट लिए भने टी–२० मा पनि सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने बलर बन्नेछन् । राशिद खानले ५३ वटा टी–२० खेलेर १०० विकेट लिएका छन् । सन्दिपले ५२ वटा टी–२० बाट ९८ विकेट लिएका छन् । अबको एउटा खेलमा सन्दिपले २ विकेट लिए भने टी–२० मा सबैभन्दा कम खेलमा १०० विकेट लिने बलरहरू २ जना बन्नेछन्, राशिद खान र सन्दिप लामिछाने । दुबैले ५३ खेलमा १०० विकेट लिएको रेकर्ड रहन्छ । सन्दिपले पक्कै यो काम गर्नेछन् । आजलाई यति नै !

टिप्पणीहरू