सामुदायिक विद्यालयलाई स्मार्ट बनाउन ललितपुर महानगरको तयारी

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउन ललितपुर महानगरको तयारी

ललितपुर महानगरपालिकाभित्र सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गरिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा उक्त घोषणा गरेको छ ।

महानगरले संघीय र प्रादेशिक प्रहरीसँग नगर प्रहरीको समन्वयात्मक सहसम्बन्ध स्थापना गरी नगरबासीको सुरक्षा र गुनासो व्यवस्थापन गर्ने जनाएको छ । त्यस्तै, विपद् व्यवस्थापन, नवीनतम, सिर्जनशील क्रियाकलाप एवम् कर संकलनलगायतका कार्यमा आवश्यकतानुसार नगर प्रहरीको प्रभावकारी परिचालन गर्न लागिएको हो ।

महानगरका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी बलमा संलग्न जनशक्तिको उत्प्रेरणा एंव मनोबल अभिवृद्धिका लागि आवश्यक व्यवस्था गर्ने बताए । उनले नगर प्रहरीको सेवालाई केन्द्रबाट प्रभावकारी रुपमा परिचालन गर्ने बताउँदै विपद् सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना विकासका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गर्ने गरी क्षमता विकास गर्ने बताए । 

यस्तै, संघसंस्था दर्ता, वडा तथा टोलस्तरीय महिला समूह, एकल महिला तथा पुरुष समूह, ज्येष्ठ नागरिक समूह, युवा समूह गठन तथा सञ्चालनका लागि छुट्टै कार्यविधि जारी गरिने मेयरको भनाई छ ।

उनले दलितहरुको परम्परागत सीप तथा पेशालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिने, महानगरअन्तर्गत सञ्चालित कम्तीमा दुई वटा सामुदायिक विद्यालयलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कार्यविधिबमोजिम नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने समेत बताए । 

महानगरभित्र सञ्चालित बालविकास केन्द्रको नक्साङ्कन गरी केन्द्रलाई एकीकरण तथा सुदृढीकरण गर्ने, संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कम्तीमा पाँच वटा बाल विकास केन्द्रलाई नमुना केन्द्रको रुपमा सञ्चालन गर्ने कार्यक्रम पनि अघि बढाइएको छ । 

दैनिक उत्पादन हुने फोहोरमैलाको व्यवस्थापनका लागि अस्थायी ट्रान्सफर स्टेशन उपयुक्त स्थानान्तरण सम्बन्धमा अध्ययन गर्ने, फोहोरमैला वर्गीकरण प्लान्ट र कम्पोष्ट प्लान्टको सम्बन्धी अध्ययनलाई आज घोषित नीति तथा कार्यक्रममा समेटिएको छ ।

टिप्पणीहरू