पूर्व प्रधानमन्त्रीका पुत्रहरु धमाधम बलात्कारमा पक्राउ

पूर्व प्रधानमन्त्रीका पुत्रहरु धमाधम बलात्कारमा पक्राउ

भारतको जनता दल (जेडिएस) को संस्थापक परिवारका नेताहरु एकपछि अर्को 'सेक्स स्क्यान्डल'मा मुछिन थालेपछि तरंग पैदा भएको छ । कर्नाटकका चर्चित नेता प्रज्वल रेवन्नाको 'स्क्यान्डल' सेलाउन नपाउँदै उनका भाइ सुरज रेवन्ना आज बिहान बलात्कार आरोपमै पक्राउ परेका छन् । 

पार्टीका एक कार्यकर्तासँग जबरजस्ती समलैंगिक सम्बन्ध राखेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कर्नाटकको रेवन्ना परिवार भारतीय राजनीतिमा प्रतिष्ठित परिवार मानिन्छ । आज पक्राउ पक्राउ परेका सुरजका हजुरबुबा सन् १९९६ जुन १ देखि सन् १९९७ अप्रिल २१ सम्म भारतको प्रधानमन्त्री थिए । त्यस्तै, बुबा एचडी रेवन्ना अहिलेसम्म दर्जनौँ पटक सांसद र मन्त्री भइसकेका छन् । 

यति मात्रै होइन,यो परिवारका अधिकांश सदस्य कुनै न कुनै उच्च राजनीतिक ओहोदामा पुगेको पाइन्छ । अहिले परिवारको राजनीतिक बिरासत सक्रिय राजनीतिमा रहेका दाजुभाइ (प्रज्वल र सुरज)को काँधमा छ । प्रज्वल पूर्व लोकसभा सदस्य हुन् भने सुरज अहिले विधान सभा सदस्य छन् । 

तर, दाजुभाइ नै सेक्स स्क्यान्डलमा मुछिएपछि उनीहरुको राजनीतिक भविष्य अप्ठेरोमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

'सेक्स स्क्यान्डल' कसरी भयो लिक ? 

गत अप्रिल २४ को बिहान कर्नाटकको हासनस्थित जिला स्टेडियममा मानिसहरु सधैँजसो मर्निंग वाक र कसरत गरिरहेका थिए । यहाँ प्राय: नेता, कलाकार र पत्रकारहरु कसरत गर्न आउने गर्छन् । त्यो दिन एक स्थानीय मिडियामा काम गर्ने पत्रकारले स्डेडियमको 'रन वे'मा एउटा पेन ड्राइभ भेटाए । 

ती पत्रकारले घर पुगेर पेन ड्राइभ ल्यापटपमा जोडे र फाइलहरु खोले । त्यसमा जेडिएस नेता प्रज्वलले विभिन्न महिलाहरुसँग यौन सम्बन्ध राखेको भिडियोहरु थियो । पहिलोपल्ट कर्नाटककै एक स्थानीय मिडियाले यो समाचार प्रशारण गरेपछि रेवन्ना परिवार रातारात राष्ट्रिय मिडियाको हेडलाइन बन्यो । 

यो घटनाले जनतामा आक्रोश बढ्दै गएपछि राज्य सरकारले केहीदिनमै छानविनको लागि समिति (एसआइटी) बनायो । उता, प्रज्वलविरुद्ध प्रहरीमा तीन जना महिलाले बलात्कारको उजुरी दर्ता गरिसकेका थिए । अन्तत: मे ३१ मा उनी बेंगलुरु एयरपोर्टबाट पक्राउ परे । 

प्रज्वलमाथि छानविन गर्न गठित समिति (एसआइटी)ले प्रतिवेदन तयार पारेपछि नयाँ तहल्का मच्चियो । उनले २२ वर्षदेखि ६१ वर्षसम्मका ५० भन्दा बढी महिलासँग यौन सम्बन्ध राखेको समितिको निष्कर्ष आयो । जसमा १२ महिलासँग जबर्जस्ती सम्बन्ध र अन्यलाई प्रलोभनमा पारेर सहमतिमै सम्बन्ध राखेको दैनिक भाष्करको रिपोर्टमा उल्लेख छ । 

यहाँसम्म कि उनले यौन सम्बन्ध राखेका महिलामध्ये केहीलाई सबइन्सपेक्टर, कतिपयलाई फूड डिपार्टमेन्टको क्यासियर र शिक्षिकाको जागिर लागाइदिएको अनुसन्धानबाट पत्ता लागेको रिपोर्टहरुमा जनाइएको छ । 

प्रज्वललाई हिरासतमा लिएर प्रहरीले अहिले पनि अनुसन्धान जारी राखेको छ । 

गम्भीर अपराधमा दाइ हिरासतमा रहेकै बेला आज विहान भाइ सुरज पनि पक्राउ परे । पार्टीकै कार्यकर्ता चेतन केएसले दिएको उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले सुरजलाई आइपिएसको धारा ३७७, ३४२ र ५०६ को कसुरमा पक्राउ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

पीडित भनिएका चेतनले उजुरीमा आफूलाई सुरजले फार्महाउसमा बोलाएर जबर्जस्ती ओठ र गालामा चुम्बन गरेको आरोप लगाएका छन् । उजुरीमा लेखिएको छ, 'जनु १६ मा सुरजले फार्महाउसमा बोलाएको थियो । उसले जर्बजस्ती मेरो ओठ र गालामा चुम्बन गर्यो । मैले डराएर केस गर्छु भनेपछि उसले मेरो परिवारको बारेमा तलाई केही थाहा छैन ? भनेर धम्क्यायो ।'

एजेन्सीकाे सहयाेगमा

टिप्पणीहरू