लथालिङ्ग सूर्यविनायक, हैरान सर्वसाधारण

लथालिङ्ग सूर्यविनायक, हैरान सर्वसाधारण

मुलुकमा संवैधानिक व्यवस्थाअनुरुप संघ, प्रदेश र स्थानीय गरेर तीन तहको सरकार सञ्चालनमा छ । हरेक तहको सरकारसँग आ–आफ्नै अधिकार छन् । तर, क्षेत्राधिकारबारे स्पष्ट नहुँदा सर्वसाधारणसमेत दोधारमा परिरहेको अवस्था छ । मुख्यतयाः विकास निर्माण लथालिङ्ग बनेको छ । यसको उदाहरण भक्तपुरको सूर्यविनायक नगरपालिकालाई लिन सकिन्छ । 

सल्लाघारीस्थित यात्रु प्रतिक्षालय (बसस्टप) भत्किएको लामो समय भइसकेको छ । पानी पर्दा यात्रुलाई ओत लाग्ने ठाउँसमेत छैन । त्यहाँ बसस्टप बनाउन कुनै निकायको ध्यान गएको छैन । अरनिको राजमार्गअन्तर्गत पर्ने भएकाले बसस्टप निर्माण गर्न नमिल्ने नगरपालिकाको भनाइ छ । यता, नगरपालिकाभित्र भइरहेको एउटा विकास देखेर स्थानीय अचम्भित छन् । 

हिँड्दाहिँड्दै हराउने फुटपाथमा रंग लगाइएको छ । फुटपाथको नाममा डिलमा रंग पोतिएको हो । सडक डिभिजन, भक्तपुरले त्यहाँ रंग लगाएको बताएको छ । सल्लाघारीबाट सूर्यविनायक नगरपालिकाको कार्यालयतर्फ जाने बाटोको फुटपाथ निकै साँघुरो छ । एक जना पैदलयात्री हिँड्न सकस पर्ने त्यहाँ नाम मात्रको फुटपाथ छ भन्दापनि केही फरक पर्दैन । 

फुटपाथ विस्तारको सट्टा रंग पोतिएपछि स्थानीयले बजेट ‘बालुवामा पानी मिसाएझैं’ भएको प्रतिक्रिया दिएका छन् । फुटपाथमा बिजुलीको पोललगायतले अवरोध पुर्याएका छन् । यसकारण पैदलयात्री त्यही फुटपाथबाट पनि हिँड्न सक्ने वातावरण छैन । उनीहरु बीच सडकबाटै आवतजावत गरेकाले दुर्घटनाको जोखिम बढेको छ । 

उक्त सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आएको एकाध वर्ष मात्र भएको छ । सडक ठूलो त बन्यो तर पैदलयात्रीमैत्री छैन । त्यहाँबाट हिँड्न डरमर्दो रहेको पैदलयात्रीहरुको गुनासो छ । घरीघरी सवारी साधन खुट्टाबाटै जाने पैदलयात्रीहरु बताउँछन् । कटुञ्जे बस्दै आएकी कल्पना घिमिरेले भनिन्, ‘पैदलयात्री हिँड्नलाई फुटपाथ छैन् । सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । कहिलेकाहीँ खुट्टामै मोटरसाइकल आउँछ । बाटोबाट हिँड्न एकदमै समस्या हुन्छ ।’

सल्लाघारीका श्याम श्रेष्ठ नगरपालिकाले पहिले फुटपाथ फराकिलो बनाउनुपर्ने बताउँछन् । फुटपाथबिना डिलमा रंग लगाउनुको औचित्य नभएको उनको भनाइ छ । भन्छन्, ‘मान्छे हिँड्नलाई फुटपाथ छैन । डिलमा रंग पोतेर मात्र के गर्नु । बजेट बालुवामा पानी हाले सरह भयो ।’ 

यता, नगरपालिकाले भने हालको सडकमा फुटपाथ विस्तार गर्न सम्भव नरहेको जनाएको छ । फुटपाथ विस्तार गरेमा सवारी साधन गुड्न समस्या हुने नगरपालिकाका प्रवक्ता एवम् ७ नम्बर वडाका वडाध्यक्ष रविन्द्र सापकोटा बताउँछन् । उनका अनुसार स्थानीयले जग्गा छाडेमा मात्र फुटपाथ विस्तार सम्भव हुन्छ । 

‘पहिले त्यहाँ धुलैधुलो हुन्थ्यो अहिले कालोपत्रे सडक बनेको छ । फुटपाथ विस्तारका लागि त्यहाँको सडक वान वे बनाउनुपर्ने हुन्छ । जुन सम्भव छैन । नगरपालिका, सडक डिभिजन, जनस्वास्थ्यलगायत कार्यालय त्यहाँ भएकाले सवारीको चाप धेरै हुन्छ । फुटपाथ बढाउन स्थानीयले जग्गा दिनुपर्छ नत्र सम्भव छैन’, उनले भने ।

फुटपाथ पैदलयात्रीलाई लक्षित गरी सडकछेउ बनाइएको पेटी हो । सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न फुटपाथ निर्माण गरिन्छ । सडक विभागको मापदण्डअनुसार एक मीटरभन्दा काम चांैडाइको फुटपाथ बनाउन मिल्दैन । तर, नगरपालिकाभित्रका अधिकांश स्थानमा फुटपाथको हालत यस्तै छ । नाम मात्रको फुटपाथ हुँदा पैदलयात्री मर्कामा परेका छन् । 

फुटपाथको कन्तबिजोग

नगरपालिकाअन्तर्गतको सल्लाघारी, सूर्यविनायक, सिर्जनानगर क्षेत्र अस्तव्यस्त छ । फुटपाथमा हिँडिसक्नु छैन । त्यही फुटपाथमा व्यवसायीले पसल थापेका छन् । फुटपाथ व्यवसायीहरुले फोहोरसमेत सडकमै फ्याँकेर हिँड्ने गरेका छन् । यसबाट सडक दुर्गन्धित बनेको छ । 

सल्लाघारीको सडकमा साँझ परेपछि हाटबजारझैं लाग्छ । पसलै पसलले सडक ढाकिएको हुन्छ । पैदलयात्री सडकबाट हिँड्छन् । सटर लिएर व्यापार गरिरहेकाहरुले पनि सडकमा ल्याएर पसल थाप्छन् । 

तर, नगरपालिकाको नियमनतर्फ चासो देखिँदैन । पैदलयात्रीलाई हिँड्न सास्ती भइरहँदा पनि नगरपालिका देख्या नदेख्याझैं गरेर बसेको स्थानीयको आरोप छ । नगरपालिकाले फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न जग्गा खोजिरहेको भन्न थालेको पनि वर्षौं बितिसकेको छ । 

यद्यपि, अवस्था अहिलेपनि उस्तै छ । नगरपालिकाको भनाइ एकातिर र गराई अर्कोतिर हुँदा सर्वसाधारण आक्रोशित बनेका छन् । उनीहरुले नगरपालिकाको कार्यक्षमतामाथि प्रश्न उठाइरहेका छन् । यता, प्रवक्ता सापकोटा भने जग्गाको खोजी भइरहेको बताउँछन् । 

‘हामी फुटपाथ व्यवसायीमाथि निर्मम हुँदैनौं । उहाँहरुको रोजीरोटीको कुरा भएकाले छोडिदिएका हौं । जग्गा खोजी भइरहेको छ । फेरि कतिपय बहाल तिर्न नसक्ने भन्ने खालको पनि हुनुहुन्छ । त्यसैले केही समस्या भएको हो’, उनले भने । 

तीनकुनेतर्फ जाने सडकको फुटपाथ निर्माण सामग्रीले ढाकिएको छ । तर, नगरपालिकाका नगर प्रहरीले हटाएका छैनन् । नगर प्रहरीहरु सुस्त भएको भनि व्यापक जनगुनासो पनि आइरहेको छ । सडक सरसफाइ गर्न राखिएका कर्मचारीले ‘झारा टार्ने’ काम मात्र गरिरहेको सर्वसाधारणको आरोप छ । 

बिहान ९ बजेपछि सल्लाघारीमा झाडु बोक्दै सरसफाइकर्मीहरु पुग्छन् । उनीहरुले छेउमा बडारेर फोहोर सडकमै थुपारेर हिँड्ने गरेका छन् । त्यही फोहोर उडेर फेरि सर्वत्र पुग्ने गरेको छ । दिउँसो सडकको अवस्था उस्तै बन्ने गरेको छ ।

सडकभर खाल्डाखुल्डी 

नगरपालिकाभित्रका अधिकांश सडक खाल्डाखुल्डीमय बनेको छ । वडा नम्बर ५ एकता मार्गभित्र ठूल्ठूला खाल्डाखुल्डी छन् । त्यहाँको सडकमा खाल्डाखुल्डी भएको वर्षौं बितिसकेको छ । बर्खामा ती खाल्डाखुल्डी सानोतिनो पोखरी बन्ने गरेको छ । 

गाडीले फोहोर पानी छ्याप्ने भएकाले हिँड्न नसकिने भन्दै स्थानीय आजित छन् । सवारी चालकलाई पनि त्यहाँ निकै सास्ती देखिन्छ । मुश्किलले सवारी साधन गुडाउनुपर्ने बाध्यतामा उनीहरु देखिन्छन् । मध्य असार भइसक्दा सडकका ठूल्ठूला ‘भ्वाङ्ग’ पुर्नेतर्फ सरोकारवालाको ध्यान गएको छैन । यता, चुनदेवीतर्फ जाने सडकको अवस्था झन् गएगुजे्रको छ ।

टिप्पणीहरू