‘तीन वर्ष अघिको घाउ अझै आलो होला !’

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारम्बार फोन गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन नलागेको बताउनुभएको छ । आफूले महाधिवेशनको निम्तोका लागि ओलीका पिएहरुलाई समेत फोन गरेको जानकारी दिनुभएको छ ।

उहाँले तीन वर्षको आलो घाउ अझै दुखिरहेको कारण ओली कार्यक्रममा अनुपस्थित भएको अनुमान गर्नुभयो । ‘मेरो म्यासेज उहाँले पाएको पनि सूचना पाएको छु’, उहाँले थप्नुभयो, ‘तीन वर्षको घाउ अझै आलो छ, त्यसैको असर बाँकी होला ।’ 

उहाँले राजनीतिमा घृणा भाव नराख्न ओलीलाई सुझाव दिनुभएको छ । राजनीतिमा उतारचढावलाई पचाएर अघि बढ्नुपर्ने अध्यक्ष नेपालको तर्क छ । ‘राजनीतिमा यस्ता कुराहरुलाई पचाएर जानसक्नुपर्छ, त्यसैले उहाँ (ओली) नआउँदा धेरै गुनासो नगरौं, कुनै घृणा भाव राख्नुपर्ने कुनै आवश्यकता छैन, यात्रामा यस्तो भइरहन्छ’, उहाँले भन्नुभयो । 

एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञाभवनमा सुरु भएको छ । उद्घाटन सत्रमा अधिकांश राजनीतिक दलका शीर्ष नेताहरु सहभागी थिए । तर एमाले सहभागी नभएपछि अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।

टिप्पणीहरू