अदालतमा बयान फेरेपछि सरकारी साक्षीविरुद्ध मुद्दा

अदालतमा बयान फेरेपछि सरकारी साक्षीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेको बाँकेको डुडुवा गाउँपालिका–१६, का मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । 

आयोगको नेपालगञ्जबाट खटिएको टोलीले गत माघ ११ गते सब–डिभिजन वन कार्यालय, राँझाका तत्कालिन सहायक वन अधिकृत नारायण पार्धेलाई सात हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारका अनुसार सो रकम पाण्डेले काठ चिरानको सिफारिसबापत उनलाई दिएको अनुसन्धानबाट खुलेको छ । 

विशेष अदालत काठमाडौंमा वन अधिकृत पार्धेविरुद्ध मुद्दा दर्ता गर्ने समयमा सोही बयान दिएका पाण्डेले अदालत पुगेपछि भने बयान फेरेका हुन् । उनले आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । 

‘निजले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निज मकरध्वज पाण्डेले काठ चिरानको सिफारिसबापत सात हजार रुपैयाँ घुस÷रिसवत प्रतिवादी नारायण पार्धेलाई दिइएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर रहेको,’ अख्तियारले भनेको छ । 

सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी घुस रकम जफत गर्न मागदाबीसहित अख्तियारले आज विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध आरोपपत्र दायर गरेको हो ।

टिप्पणीहरू