दक्षिण एसियाका पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको सम्झनामा ‘स्मृति सभा’

दक्षिण एसियाका पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको सम्झनामा ‘स्मृति सभा’
सुन्नुहोस्

दक्षिण एसियाका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आदर्श नेता स्वर्गीय मनमोहन अधिकारीको १०४ औं जन्मजयन्ती विशेष कार्यक्रम गरेर मनाइएको छ । मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ ले अधिकारीको योगदानको सम्झनामा स्मृति सभा आयोजना गरेको हो । 

मोरङको बूढीगंगा गाउँपालिका ४, हात्तीमुढास्थित विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उपस्थित सबैले अधिकारीको राज्यप्रतिको योगदान अनुकरणी रहेकाले कहिल्यै बिर्सिन नहुने बताए । 

त्यसअघि विश्वविद्यालयका उपकुलपति डा.सुवाश्री पोखरेल, पूर्वमन्त्री जीवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्ट्रार डा.दिलनाथ फुँयाल, डिन प्रा.डा. प्रचण्डमान प्रधान, कानुनी सल्लाहकार कोषराज न्यौपानेले अधिकारीको शालिकमा माल्यार्पण गरेका थिए । 

सो क्रममा उनीहरुले नेपाली राजनीतिमा निष्ठा र सदाचारको प्रतिक मानिँदै आएका अधिकारीको आदर्श, सिद्धान्त र मूल्य मान्यतालाई पालना गर्नुपर्नेमा जोड दिए । वि.सं. १९७५ असार १५ गते राजधानीको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी अधिकारीको माइला छोराका रुपमा जन्मिएका अधिकारीले २००३ मा विराटनगरमा भएको मजदूर आन्दोलनको नेतृत्व गरेका थिए । धेरै राजनीतिक संघर्ष गरेका उनले १७ वर्ष जेलमा बिताए । 

२०५१ को मध्यावधि निर्वाचनपछि नौ महिना प्रधानमन्त्रीको कार्यभार सम्हालेका अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ र वृद्धभत्ता कार्यक्रमको प्रारम्भ गरेका थिए । त्यसपछि उनको लोकप्रियता झन् चुलिएको हो । प्राविधिक जनशक्तिको उत्पादनमा जोड दिएका उनको निधन २०५६ वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंमा हृदयाघातबाट भएको हो । 

अधिकारीको सम्मानमा भारत सरकारले मनमोहन स्मृति प्रतिष्ठानलाई प्राविधिक विश्वविद्यालय बनाएर सञ्चालनमा ल्याउन सहयोग पुर्याएको छ । उक्त विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिकल र स्कुल अफ एप्लाइड हेल्थ स्थापना भएर सञ्चालनमा आएको छ । 
विश्वविद्यालयले आगामी १० वर्षमा मुलुकभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न स्नातकदेखि विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

टिप्पणीहरू