रविसँग माइतीघरमा बयान लिने तयारी
सहकारी ठगी, संगठित अपराध, कागजात किर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान जारी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आजदेखि काठमाडौंमा बयान लिन लागिएको छ ।
विभिन्न सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा उनी कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि सोही रातिदेखि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको छ । काठमाडौमा जिल्ला सरकारी वकिलको कार्यालय, माइतीघरमा बयान लिइने छ । उनी र गोर्खा मिडियाका अन्य पदाधिकारीहरुमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप छ ।
कास्की प्रहरीको हिरासतमा सोही आरोपमा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँगै कुमार रम्तेल पनि छन् । उनीहरु लगायत १० जनाले चितवनको सहारा सहकारीको रकम पनि त्यसैगरी गोर्खा मिडियामा प्रयोग गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि त्यहाँबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
लामिछाने र जोशीलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनमा आवश्यक बयानका लागि यसअघि भैरहवा पुर्याएर बयान लिइएको थियो । यसैबीच गोर्खा मिडिया र सहकारी संस्थाहरुबीचको कारोबारमा रविको प्रत्यक्ष संलग्नता भेटिएको छ । सहकारीको ब्याज भुक्तानीका लागि उनले सिंगल हस्ताक्षरमा काटेका चेक पाइएको छ ।
टिप्पणीहरू