ताप्लेजुङका सहश्र तोक्मा

ताप्लेजुङका सहश्र तोक्मा

– कमलप्रसाद भट्टराई, फुङलिङ नगरपालिका–७, दोखू

तोक्मा धेरै कुराले चिरपरिचित थियो । तोक्मा पोखरी, तोक्मा हाट, तोक्मा गाउँ, तोक्मा डाँडा, तोक्मा वन, तोक्मा व्यारेक, अहिले तोक्मा बजार पनि । यहीसँगसँगै सानो छँदा सुनेको थिएँ तोक्मा माधेकुटी ।

मैले विशेषतः हजुरआमाको मुखबाट माधवका विषयमा सुनेको थिएँ । माधवका परिवार दाल, चामल, सागसब्जी जे जे पाइन्छ, सबै एउटै भाँडामा हालेर एकैचोटी पकाउँथे, प्रायः नुन नहाली खान्थे । उनीहरूसँग आउने, पढ्नेलाई माधेका डुक्पा भन्थे रे, माधवलाई अलि हेय हिसाबले होच्याएर बोल्थे रे ! सबै जातजातिलाई पढाउने भएका हुँदा धर्म बिगारा धर्मछाडा पनि भन्थे रे ! मैले मेरा गाउँका बूढापाकाबाट केटाकेटी छँदा यस्तै–यस्तै सुनेको थिएँ ।

अलि पछि सुनेँ– माधव त त्यही तल बेदु पण्डितका भाइ हुन् रे ! घरबार छोडेर त्यसै हिँडेका रे तर मानिसहरू चैं काम गर्न अल्छे भएर हिँडेको भन्थे ! जति उमेर खाँदै गएँ, थप कुरा सुन्दै गएँ । तल्ला जाति भनिनेहरूलाई पढाए रे ! जोसुकैले पकाएको खाँदा हुन्छ भने रे ! पढे लेखेका तर ब्राह्मणको नीतिनियममा नबसेका पण्डित पो हुन् रे माधव । दाजुभाइलगायत अरू बाहुनसँग विचार नमिल्ने भएका कारण अरूले राम्रो नमान्ने, उनलाई दालभातबाट हटाएका रे !

माधवका भविष्यवाणी पुगे भनेर ०४०/४२ तिर मानिस भन्ने गर्थे । उनले भनेका थिए रे– यो माधेको कुटी भन्छौ, यो राजाको घर हो । यहाँ भोलि तिमीहरू बस्न त के कुरा आउन पनि पाउँदैनौ । अब विस्तारै यो ठाउँमा सलाइको एक खोल चामललाई एक रूपैयाँ पर्न जान्छ । महँगी धेरै बढेर जान्छ– यस्तै यस्ता समय सापेक्ष भविष्यवाणी गर्थे रे माधव । जब मैले थोर थोर कलम चलाउन थालेँ, लागेको थियो माधवका विषयमा एउटा कथा लेख्छु । केही ज्येष्ठ नागरिकसँग सोधखोज गर्दै थिएँ । त्यसै समयमा टंक श्रेष्ठ दाइले सोधखोज थालौँ भन्नुभयो । मैले उनलाई जान्ने देख्ने र चिन्ने दोखू नाम्लेपाटीका हर्कजंग घिसिङ र दोखू बेजम्बूका कमल पौडेललाई भेटेँ । भतिजा नाति रामप्रसाद खतिवडासँग पनि सोधपुछ गरेँ । अनि बल्ल माधवबारे थप कुरा खुल्न थाल्यो ।

पहिले–पहिले हल्लै हल्लाका गफ सुनेँ । त्यसपछि धेरैबाट सुनिएका साझा कुरालाई मात्र आधार बनाउँदा देखियो– उनी त आजका कम्युनिष्टभन्दा कैयौं गुना बढी क्रान्तिकारी रहेछन् ।

(क) सबै मानिसले पढ्नुपर्छ । जातले कोही पढ्ने र कोही नपढ्ने हुँदैन त्यसैले सबै जातजाति, महिला, पुरुषले पढ्नुपर्छ । उनको भनाइ थियो रे– शिक्षा स्त्री, शुद्र, दास सबैले लिन पाउने अधिकार छ ।

(ख) विवाह गरेकी छोरी, ब्रतबन्ध गरेको छोराले पकाएको मात्र हैन नगरेका छोराछोरीले सफासुग्घर गरेर पकाए, खाए हुन्छ । अन्य जातजातिले सफासुग्घर गरी पकाएर खाँदा हुन्छ !

(ग) विधवा विवाह गर्नु राम्रो हुनेछ । यसलाई समाजले खुला गरिदिए महिलामा आत्मबल बढ्ने उनको सोच रहेछ । समाजमा व्यभिचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबै लाग्नुपर्ने उनको धारणा रहेछ ।

(घ) धन–सम्पत्ति बटुल्ने कामले राम्रो गर्दैन । जन्मेका सबै मानिस आफैँँ गर्छन् र आफैँ खान्छन् ।

सन्तानका लागि सम्पत्ति थुपार्नु राम्रो होइन, दर्शन र ज्ञान प्रमुख कुरा हो भन्ने उनको सोच रहेछ । यस्तै सोचका कारण दाजु बेधनिधीसँग मत बाझिएको कुरा परिवारमा खुलेको भन्छन् नाती राम खतिवडा । उनका अनुसार दाजु घरजम गरेर खेतीपाति र पण्डित्याइँमार्फत कमाउने र धन सम्पत्ति जोड्ने तर भाइ माधव त्यसलाई नमान्ने भएकै कारण विवाद भएको रहेछ । फुङलिङ नाङ्गे छेउ सालडाँडामा बसोबास रहेका खतिवडा परिवारलाई ओजाहाङका बाबु जिल्लाहाङ एङदेनले आफ्नै घरबारी पुछारमा ल्याएर थोरै बारी दिई राखेका थिए रे भनेर बेदनिधिका नाती रामप्रसादले बताएका छन् । दाजु बेधनिधि ऐङदेन ​​​​​​ परिवारको जमिनमा बसे भने भाइ माधव शिक्षा र ज्ञानको खोजीका साथ शिक्षाको प्रचारमा विभिन्न स्थानमा हिँडेको पाइन्छ ।

माधवको नाम जन्मपत्रिकाअनुसार माधव नै थियो तर पछि किन र कसरी दामोदर हुन पुग्यो, दीक्षित नाम हो वा अरू केही ? उनको जन्म वि.सं. १९६० मा भएको विभिन्न पत्रपत्रिका र पुस्तकमा उल्लेख गरेको पाइन्छ । १९९० सालमा उनी बर्माको रूपीमैन भन्ने ठाउँमा बसोबास गर्न पुगेको बताइएको छ । उनले त्यहाँ विवाह पनि गरे भनिएको छ । बर्माबाट फर्केर फेरि ताप्लेजुङ आए । रुढीवादविरुद्ध संघर्ष शुरु गरे ! उनको संघर्षलाई तत्कालीन समाजले पचाएन त्यही कारण यहाँको समाजसँग बेमेल भयो । र, माधव दाजुभाइ छोडेर त्यागी बनी निस्के । स्वामी प्रपन्नाचार्यका अनुसार यो समय २००१ साल थियो ।

समय, साल बताउन नसके पनि दोखूको सालिम्बेमा एक हिउँद पढाएको र आफूले त्यहाँ माधवसँग पढेको दोखू बेजम्बूका कमल पौडेलले बताएका छन् । हर्कज¨ घिसिङका अनुसार त्यहाँ पढ्न सिकैचा, नाङ्खोल्याङ, थेचम्बूबाट मानिस आउने गरेका थिए । नाङ्गेका नेपाली छोरीहरू समेत दिनमा त्यहीं आएर पढ्ने र बेलुका घर जाने गरेको घिसिङले बताए । उनीहरूको नाम सरस्वती र भारती भन्ने सुनेको, पछि उनीहरू विद्वान भएको बताउँछन् राम खतिवडा ।

माधवले जब स्त्री, जनजातिलगायतलाई पढाउन थाले, तत्कालीन बाहुन समाजले यसलाई पचाएन र धनकुटा गौंडामा बडाहाकिमसम्म उजुर हाले ! माधवले एक वर्षसम्म धनकुटा जेलमा बिताए । सबै यथार्थ बुझेपछि बडाहाकिमले छोडिदिए । जेलबाट मुक्त भए पनि माधवलाई बाहुन समाजले भात काढ्यो, पानी काढ्यो, जात काढ्यो तर पनि आफ्नो विचारमा अडिग रहे ।

२००७ देखि उनका भनाइ आंशिक रूपमा पूरा हुन थाले । स्वामी प्रपन्नाचार्यका अनुसार २०१० सालमा माधव पाँचथर रविको मुढेमा पुगेर पदमलाल राईको घरमा बसे, त्यहीं प्रपन्नाचार्यसँग भेट भयो । प्रपन्नाचार्य निरक्षर युवा थिए । त्यसताका रविका धेरै राईहरू जोस्मुनि सम्प्रदायबाट दीक्षित थिए । ती जाँड, रक्सी, मासु नखाने र सुँगुर, कुखुरा पाल्दैनथे । पदमलाल राईको घरमा ६ महिना बसेर माधव हिँड्ने तरखरमा लाग्दा चन्द्रदास राईले आफ्नो कान्छा छोरालाई विद्धान बनाउन पठाउने कुरा गरेछन् । तर, भोलिपल्ट आमा मानेन भन्दै चन्द्रदास आएपछि प्रपन्नाचार्य पछि लागेर हृषिकेश पुगेछन् । केही समय बसेर माधव नेपाल फर्के तर प्रपन्नाचार्य काशी, वाराणसीतिर कखरा पढ्न थालेको कुरा आफैँले उल्लेख गरेका छन् । लेख्छन्– चन्द्रदासका कान्छा छोरा त्यसबेला माधवसँग गएनन्, पछि डा. नवलकिशोर राई बने, राजदूतसम्म भए ।

माधवले २००५ सालतिर काठमाडौँ गएर नगरकोट, पशुपति, मृगस्थली, विश्वरूप, आदि स्थानमा बसी जपतप र पूजापाठ गर्नुका साथै शिष्यलाई रामायण, कोमलगीता पढाएका थिए भनिएको छ । २००६ सालमा तेह्रथुमको जौबारीमा पनि अध्ययन–अध्यापन गराएका थिए भने यता भक्तपुरको विलेख गाउँ हुचीढुङ्गामा पाठशाला खोलेर पढाउने काम गरे ! २०१२ सालमा दैलेख गएर गीताको प्रचार गरे ! २०१६ देखि शरीरमा रोग पस्यो । अब भने मोरङको लेटाङ शनिश्चरेमा स्थायी बसोबास गर्न थाले । २०२९ सालमा देहलीला समाप्त भयो ।

माधवका तीन वटी श्रीमती थिए रे, जेठीतिर एक छोरी, माइलीतिर तीन छोरी र एक छोरा, कान्छीतिर दुई छोरा । अहिले कुनै पनि श्रीमती जीवित छैनन् । एक छोरी र दुई छोरा छन् रे ! छोरी ईन्द्रमाया पौडेल ललितपुर कुसुन्तीमा बसोबास गर्दै आएकी छन् । उनैकी छोरी पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल राई हुन । ईन्द्रमायाले ‘शताब्दीयात्रा’ पुस्तक निकालेर बाबु माधवका बारेमा उल्लेख गरेको नाती रामप्रसादले बताएका छन् । माधव उपदेशक, सामाजिक धार्मिक सुधारक मात्र हैन कवि पनि थिए । उनको मणिरत्नमाला कविता संग्रह धान्यप्रसाद शर्माले प्रकाशित गरिदिएका छन् ।

टिप्पणीहरू