काठमाडौँका शिक्षकलाई बिदा बस्दा स्वीकृति अनिवार्य

काठमाडौँका शिक्षकलाई बिदा बस्दा स्वीकृति अनिवार्य

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने  भएको छ ।  

महानगरले सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै रितपूर्वक स्वीकृत लिएर मात्र शिक्षक, कर्मचारीलाई बिदा बस्न आग्रह गरेको हो । महानगरबाट पत्राचार गरी खटाइएका कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रममा सहभागी हुँदा वा विद्यालयमा अनुपस्थित रहँदा  बिदा स्वीकृत गराउने व्यवस्था मिलाउन पनि महानगरले भनेको छ । 

‘यस महानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयहरुले विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीलाई महानगरबाट आयोजना गरिएका वा आयोजक संस्थाको अनुरोधमा महानगरबाट पत्राचार गरी खटाइएका कार्यक्रमभन्दा बाहेक अन्यत्र कुनै पनि कार्यक्रममा सहभागी हुन जाँदा वा विद्यालयमा अनुपस्थित रहँदा विद्यालयमा रितपूर्वक बिदा स्वीकृत गरी गराई मात्र जाने व्यवस्था मिलाउन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।

साथै, बिदा अभिलेख प्रमाणित गर्दा काजको हकमा महानगरले खटाएको पत्र र बिदाको हकमा रितपूर्वक बिदा स्वीकृत भएको पत्र रुजु गरिने पनि प्रष्ट पारिएको छ । त्यसकारण बिदा प्रमाणित नभए त्यसबाट पर्ने असरप्रति सम्बन्धित शिक्षक तथा प्रधानाध्यापक जिम्मेवार हुने महानगरले जनाएको छ ।

टिप्पणीहरू