विराटनगर जलमग्न, एयरपोर्टसमेत प्रभावित

जहाज पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । लगातार वर्षाका कारण विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो । 

हिजो साँझबाट परेको पानीले विराटनगर महानगरका दर्जनौँ स्थान जलमग्न भएका छन् । जसका कारण  महानगरवासीको जनजीवन प्रभावित बनेको छ । 

तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार बिस्थापित हुने अवस्थामा छन् । विराटनगर-१९ सरदार टोलका १० घर विस्थापित भएको प्रहरीले बताएको छ । त्यस्तै, वडा नम्बर ६ स्थित खोलामा आएको बाढी वरपरको बस्तीमा पस्दा करिब चार सय घर डुबानमा परेका छन् । 

वडा नम्बर १२ स्थित केसलिया खोला बस्तीमा पस्दा  ७० भन्दा बढी घर डुबानमा परेको बताइएको छ । यसबाहेक मोरङकाका अन्य ठाउँहरुमा पनि बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए । 

उनले भने, 'प्राय: खोला आसपासका बस्ती डुबनामा परेका छन् । अहिले पनि पानी परिरहेकोले पूऱा तथ्यांक आइसकेको छैन, हामी उद्धारको काममा खटिएका छौ ।' 

विराटनगर हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा ठूलो जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ हुँदा दर्जनौँ बस्ति डुबानमा परेका थिए । 

अहिले पनि विराटनगरवासीले त्यहि नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा शुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरु प्रभावित हुने गरेका छन् ।

टिप्पणीहरू