बूढीखोलाको बाढीमा युवतीको मृत्यु, दुई बेपत्ता

बूढीखोलाको बाढीमा युवतीको मृत्यु, दुई बेपत्ता

मोरङको सुन्दरहैरचामा बूढीखोलाले बगाउँदा एक युवतीको ज्यान गएको छ । सुन्दरहरैचा नगरपालिका–५, गौशलानजिकै बूढीखोलामा माछा मार्ने क्रममा आज दिउँसो १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको छ । 

बाढीमा बगेका चार महिलामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार स्थानीय २२ वर्षकी प्रेमकला चौधरीको शव फेला परेको छ । 

बाढीमा बगेकी स्वस्तिका चौधरीको भने सकुशल उद्धार गरिएको उनले बताए । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजतलास जारी रहेको एसपी कार्कीले बताए । 

‘बिहानैदेखि वर्षा भइरहेको थियो । तर, उहाँहरु माछा मार्न जानुभएको रहेछ र एक्कासी बाढी आएपछि सबैलाई बगायो,’ उनले भने, ‘बेपत्ता दुई जनाको खोजतलास जारी छ ।’
 

टिप्पणीहरू