ओलीलाई घाँडो बनेकै हो त उहाँहरू ?
तल–तल पार्टी फैलिँदै जाने तर, नेतृत्व तहमा भने घेरा झन्–झन् साँघुरिने – समकालीन राजनीतिक दलमध्ये सबैभन्दा व्यवस्थित मानिएको नेकपा एमाले यस्तै अवस्थामा छ, अहिले ।
पार्टी विभाजनलगत्तै गठबन्धनविरुद्ध प्रतिस्पर्धामा उत्रिएर गत आमचुनावमा एमालेले पहिलो लोकप्रिय मत पाएको थियो । पछिल्लो उपनिर्वाचनमा इलाम र बझाङका दुबै सिट आफ्नो नाममा पार्न सफल भयो । जनमतका हिसाबले पार्टी ठूलो हुँदै गएको उदाहरण हो यो । तर, प्रतिस्पर्धाको श्रेष्ठतामा विश्वास गर्ने र जबजलाई आदर्श मान्ने यो पार्टीमा आन्तरिक लोकतन्त्र भने निरन्तर खुम्चिँदै छ ।
नेकपा एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसँगै आधा दर्जन उपाध्यक्ष, त्यही संख्यामा सचिव अनि दुई उपमहासचिवको पदाधिकारी टिम छ । तर, सचिवालय बैठकमा भने अध्यक्ष केपी शर्मा ओलीको बोली नै अन्तिम निर्णय हुने गर्छ । अध्यक्षको लामो प्रवचन सुन्ने र माइन्युटमा ल्याप्चे लगाएर फर्किने भूमिकामा पदाधिकारीलाई सीमित बनाइएको छ । ओलीको कोर टिमका सदस्य मात्र होइन, १० भाइ समूहका भनिने सुरेन्द्र पाण्डे, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरूले पनि ओलीसँग आँखा जुधाएर बहस गर्ने हिम्मत गर्दैनन् । बरु, अध्यक्षले भनेको कुरामा समर्थन गर्न एक प्रकारको प्रतिष्पर्धा हुन्छ ।
औपचारिक बैठक अध्यक्षको भाषण सुनाउने थलो बनिरहँदा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पार्टीमा हावी हुने गरेका छन् । कतिपय रणनीतिक निर्णय लिनुअघि अध्यक्ष ओलीले यी दुर्ईकै कुरा सुन्ने हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव प्रदिप ज्ञवालीलाई पहिले नै बनिसकेको निर्णय सुनाउन मात्र बोलाइन्छ । दोस्रो तहका नेता राजन भट्टराई र भानुभक्त ढकाल नजिक देखिए पनि नीतिगत निर्णय लिने ठाउँमा उनीहरूको उपस्थिति हुँदैन । बाहिर प्रभाव देखाउन बालकोट गैरहने उनीहरू ‘अध्यक्षलाई नमस्कार’ गरेर फर्किने मात्र हुन् ।
‘नीतिगत निर्णय गर्नुपर्दा अध्यक्षले मनको बात गर्ने शंकर र विष्णुसँग मात्र हो’, एक नेता भन्छन्, ‘अझ बढी विष्णु रिमालसँग हो उहाँले सल्लाह गर्ने । सांसदहरूले बोल्ने बुँदा उनले नै पठाउँछन् । मन्त्रीलाई कुन फाइल अघि बढाउने, नबढाउने भन्ने सबै उनको हातमा छ ।’
माधव नेपालहरूले विद्रोह गरेर हिँडेपछि यसरी विरोधीबिहीन पार्टी चलाउँदै आउनुभएका अध्यक्ष ओलीमा शक्ति केन्द्रिकरणको भोक भने अझै नमेटिएको उहाँका सार्वजनिक अभिव्यक्तिहरूबाट बुझिन्छ । अलि अगाडि पोखराको एउटा सार्वजनिक कार्यक्रममा उहाँले ‘अध्यक्षको दायाँ–बायाँ बसेर किचकिच गर्नेहरूलाई पार्टीमा ठाउँ नहुने’ घुमाउरो चेतावनी दिनुभएको थियो । हालै युवा संघको कार्यक्रममा ‘उपाध्यक्ष पद किन चाहियो ?’ भन्दै त्यस्तै भाषण गर्नुभयो । अध्यक्षको स्वभाव बुझेका दोस्रो पुस्ताका एक नेता भन्छन्, ‘त्यो युवा संघका लागि भनेको हैन ,पार्टी भित्रकालाई भनेको हो ।’ सौराहा महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष हुने र अनुकूल टिम बनाउने योजनामा भीम रावललगायत बाधक बनेपछि झस्किएका ओली अध्यक्ष र महासचिवबाहेक अन्य पद आवश्यक नै नपर्ने निश्कर्षमा पुगेको तिनै नेता बताउँछन् ।
ओलीलाई लामो समयदेखि साथ दिंदै आएर पनि अहिले सबैभन्दा टाढा छन्– उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । भनिँदै छ, सुवास नेम्वाङ बितेपछि रिक्त उपाध्यक्ष र संसदीय दलको उपनेता तोक्न आलटाल गर्नुको पछाडि उनलाई माथि उठ्न नदिने चालबाजी हो । किनभने एमालेभित्र अहिले जनजाति नेतामा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यपछि उपमहासचिव गुरुङ सिनियर छन् । माओवादीबाट आएका बादलले उपाध्यक्षको सम्मान पाए पनि एमालेको संगठनमा अझै भिजिसकेका छैनन् । त्यसकारण आफैँ ठूलो जिम्मेवारीको भारी बोक्न तयार नरहेको बुझिन्छ । अष्टलक्ष्मी प्रभावशाली महिला नेत्री भए पनि राजनीतिमा चाहिने दाउपेचको कला कमै देखिन्छ । त्यसैले जनजाति मनोविज्ञान जोड्न सुवासको ठाउँमा पिएसलाई नै लैजानुपर्ने हुन्छ, जुन कुरा अध्यक्ष ओलीको रुचिमा नरहेको प्रष्ट छ ।
एमालेका एकथरी नेताहरूको गुनासो छ– संसदमा पार्टीको प्रभावकारिता कमजोर भयो । स्वयं ओलीले पनि त्यस्तो भन्दै आउनुभएको छ । तर, ७२ वर्ष कटेर पनि एक्लै पार्टी हाँकिरहनुभएका उहाँ आफैँ दलको नेता हुनुहुन्छ । दलको कार्यालयमा नियमित जान उहाँले भ्याउने कुरा भएन । प्रमुख सचेतक र सचेतक भर्खरका युवा छन्, सिनियर नेता/सांसद उनीहरूको कोठामा हत्तपत्त छिर्दैनन् । उपनेता चयनमा उदासीन देखिनुभएका ओली सांसदहरूलाई प्रशिक्षण दिन महासचिव शंकर पोखरेललाई लिएर जाने गर्नुहुन्छ । ‘संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेबारे चुनाव हारेको मान्छेले प्रशिक्षण दिनुजस्तो त्यो भन्दा हाँस्यास्पद कुरा अर्थाेक के हुन्छ ?’, आफ्नै अध्यक्षलाई एक सांसदको प्रश्न छ ।
केन्द्रमा अध्यक्ष ओली र उहाँको कोर टिम शक्तिशाली भैरहँदा जिल्ला–जिल्लामा भने अर्कै चित्र देखिँदै छ । नेतृत्व चयनका क्रममा अधिकांश जिल्लामा अध्यक्षको चाहनाप्रतिकूल परिस्थिति देखिएको छ । जस्तो, काभ्रेको जिल्ला अधिवेशनमा गोकुल बाँस्कोटालाई गालि गर्दै चन्द्र लामाको समर्थनमा ओलीले डेढ घण्टा भाषण गर्नुभएको थियो । तर, गोकुलको मान्छे राजन भुर्तेल अध्यक्ष निर्वाचित भए । बाँके, बर्दियालगायत जिल्लामा पनि माथिको निर्देशन तलका कार्यकर्ताले स्वीकार गरेनन् ।
यता, ओलीको पेलाइले पिल्सिएका १० भाइ वालाहरू पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा सक्रिय भैदिऊन् भन्ने चाहन्छन् । वैकल्पिक नेतृत्व खोजेका उनीहरू भण्डारी आए आफूहरूलाई सहज हुनेमा विश्वस्त देखिन्छन् । तर, अहिले नै त्यो पूरा हुने सम्भवना कम छ । जानकार स्रोतले बताएअनुसार ओलीसँग मत बझाएर एमालेमा फर्किने विद्याको चाहना छैन । त्यसो भए पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउन ओली नै बाधक हो त ? भावी राजनीतिक परिस्थितिले यो विषयको छिनोफानो गर्ने बालकोटनिकट स्रोतको बुझाइ छ ।
भनिन्छ, यदि ओलीलाई अब आफूबाट मतदाता आकर्षित हुँदैनन् भन्ने लागेमा विद्यालाई पार्टीमा भित्र्याएर अघि सार्ने सम्भावना रहन्छ । किनभने यसअघिका चुनावमा जस्तो नाकाबन्दीविरुद्ध उभिएको, चुच्चे नक्सा ल्याएको जस्ता लोकप्रिय नारा अब बाँकी छैन । पानी जहाज, घर–घरमा ग्यासको पाइप, मोनो रेल जस्ता नारा बिक्दैन । वाम एकता र बलियो सरकारको नारा कसैले पत्याउनेवाला छैन । तर, आगामी चुनावमा एकल बहुमतको सरकार बनाएर शक्तिशाली प्रधानमन्त्री हुने ओलीको चाहना छ । यो सबै परिस्थितिलाई हेरेर नयाँ माहोल सिर्जना गर्न पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काउन अध्यक्ष मुश्किलले तयार हुन सक्ने एकथरी नेताहरूको विश्लेषण छ ।
एमाले–माओवादीबीच एकता हुने स्थितिमा पनि विद्या पार्टीमा सक्रिय हुने सम्भावना देखेका छन् केही नेताले । भनिँदै छ, ओली–प्रचण्ड–माधवले एक–अर्काको नेतृत्व स्वीकार गर्ने अवस्था नभएकाले उहाँ साझा विकल्प हो । आगामी निर्वाचनपछि प्रचण्ड राष्ट्रपति, ओली प्रधानमन्त्री बनेर एकीकृत पार्टीको अध्यक्ष विद्यालाई बनाउने गरी भित्रभित्र छलफल भैरहेको चर्चा पनि छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू