लमजुङ र कास्कीमा पहिरो : तीनको निधन, चार बेपत्ता

लमजुङ र कास्कीमा पहिरो : तीनको निधन, चार बेपत्ता

कास्कीका विभिन्न ठाउँमा गएको पहिरोमा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएको पहिरोले प्रकाश रानाभाटका १३ वर्षीया छोरी आयुष्मा रानाभाटको मृत्यु भएको छ । उनकी आमा ७० वर्षीया लालमाया बन्जाडीको उद्धार गरिएको छ ।

पोखराको आरुपाटामा खसेको ढिस्कोले हरि सुनारका तीन वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ । उनी श्रीमती २७ वर्षीया ऋतु गम्भीर घाइते छिन् । नौ वर्षीया छोरी अञ्जली सुनारको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

उता लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा चारजना बेपत्ता भएको बताइएको छ । पहिरोमा रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर परेको छ ।

पहिरोले घर बगाउँदा ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षीया पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू सात वर्षीया इच्छा र पाँच वर्षीया नम्रता बेपत्ता छन् ।

बेँसीशहर नगरपालिका–११, चिती स्याउतमा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ । पहिरोमा घाइते दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरो गएकाले बेँसीशहर–मनाङ सडक अवरुद्ध भएको छ । पोखराको चाउथेनजिकै विजयपुर खोला ओरालोमा बाढीका कारण सडकमा क्षति पुगेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

टिप्पणीहरू