जतिसुकै चलाख पनि यसरी जान्छ जेल

जतिसुकै चलाख पनि यसरी जान्छ जेल

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक अनेक प्रकरणमा दोषी ठहरिएका विकल पौडेल कारागारमा छन् । जुन सरकार आएपनि उच्च तहको नियुक्ति लिँदै बिलासितापूर्ण जीवन बिताउँदै आएका पौडेलको दुर्दिन कुनै बेला साझेदार रहेका साथीभाइहरूले नै सबै प्रमाण छरपष्ट पारेर शुरु गराइदेलान् भनेर कसले पो अन्दाज गरेको थियो होला र !

कोभिड महमारीताका स्वास्थ्य सामग्री आयातमा घप्लाबाजी गरेको ओम्नी समूहमा पौडेल, तुलहरि सिंह, अकबर हुसेन र नवीन तुलाधर संलग्न थिए । उनीहरुले सिंगापुरमा दर्ता गरेको त्यही कम्पनीभित्र बेमेल भएपछि विकलको अन्तरंग कथा बाहिर आएको हो । तुलहरि ओम्नीका मुख्य हर्ताकर्ता हुन् जो एमाले नेतृत्वसँग कोभिडको बेला एकदम निकट थिए । 

उनीहरुले पहिलो पटक सेटिङमा सरकारी आइटी ल्याबको ठेक्का हाता पारे । तीन अर्ब ७० करोडमा स्वीकृत भएको ठेक्काको वास्तविक मूल्य डेढ अर्ब मात्रै थियो । ठेक्कामा ओम्नी, म्याक्स र नेपाहिमा कम्पनीको जोइन्टभेञ्जर थियो । म्याक्स अकबर हुसेनको हो भने नेपाहिमा कम्पनी तुलाधरको । नवीन तुलाधर कुपण्डोलस्थित हिमालय होटलका साहु हुन् । उक्त ठेक्कापछि नाफा भएको दुई अर्ब बढीको लेनदेनमा निस्केको लफडाले विकललाई जेल पुर्‍याएको स्रोतको दाबी छ ।

स्रोत भन्छ, ‘सिंगापुरमा विकलले एउटा बैंक खाता खोलेका थिए । त्यहाँ खाता खोल्दा एउटा स्थानीय ठेगाना हुनैपर्छ । हरेक कारोबारको जानकारी खातावालालाई इमेलसँगै पोष्ट बक्समा नियमित पत्र पठाइन्छ । त्यो ठेगाना उनले ओम्नीको राखेका थिए । विकलले पछि गरेका अर्बौंको कारोबारसम्बन्धी सोही सूचना ओम्नीको अफिसमा नियमित आउन थालेपछि सबै प्रमाण  छरपष्ट भएको हो ।’ 

यसरी विकलले गरेका हरेक कारोबारबारे ओम्नीका हर्ताकर्तालाई थाहा हुन थाल्यो । विकलसँगै  सुनिल पौडेलको हिसाब विवरण पनि ओम्नी र निकटस्थहरुको हातमा पर्‍यो । अब यसैगरी नेपाहिमा र म्याक्सको पनि भित्री कुरो पनि आवश्यकताअनुसार बाहिर आउने तयारीमा रहेको बताइन्छ ।

यसअघि ओम्नीको अर्को सानो कम्पनी विदल्याब युएन पार्क अघिल्तिर भीमकान्त भण्डारीले खोलेका थिए । उक्त कम्पनीले सरकारको कोरोना महामारीमा भाइरस टेष्टमाथि एकछत्र गरेको थियो । यी सबै घटनालाई नजिकबाट नियालिरहेको स्रोतले विकल र सुनिल पौडेलहरुले नेपालमा खासै सम्पत्ति नजोडेको र जयवीरसिंह देउवाका नाममा समेत विदेशमा पैसा ट्रान्जेक्सन गरेको प्रमाण छ । उनीहरुको योजना केही वर्ष जेलमा बस्ने, निस्केर बाहिर जाने हो । दुबई, जेनेभालगायत ठाउँमा राखिएको रकम जेलबाट निस्केपछि खेलाउने योजना बुझिन्छ । नेपाल सरकारले उनीहरुको विदेशस्थित अवैध अर्बौैं रकम संकलन गर्ने ल्याकत राख्दैन,’ उनले भने । विकलको हालसम्म एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति र नगद विदेशमा व्यवस्थापन भइसकेको अनुमान छ ।

आयोगले गरेको अनुसन्धानको क्रममा रमाइलो पक्ष भेटिएको बताइन्छ । विकलको एउटा च्याट कन्भरसेसनमा अख्तियारका आयुक्त चेञ्ज गर्न खोजिएको संवादसमेत थियो । 

ओम्नीले सिंगापुरबाट मगाउने सबै सामान ब्याङ्को टेकमार्फत आउने गर्छ । खेलोफड्कोमा प्रयोग भएको सिंगापुरस्थित अर्को कम्पनी इन्स्टाटेक भएको बुझिएको छ । ओम्नीले सामान ती कम्पनीबाट मगाउने, यताको भुक्तानी उनै कम्पनीको खातामा जम्मा हुने र २५ प्रतिशत सम्मको कमिसन उतैबाट दुबईतर्फ लैजाने गरेको दाबी छ । 

पौडेल दाजुभाइसँगै ओम्नी, म्याक्स र नेपाहिमा कम्पनीले नेपालभित्र ठेक्काको लागि सोझा र अनुभवहीन व्यापारी खोज्ने गरेको तथ्य पनि खुलेको छ । आफूहरुले उताको विदेशी कम्पनीसँग मिलेर २५ प्रतिशतसम्म कमिसन उतै व्यवस्थापन गरेपछि यताका स्थानीय कम्पनीलाई पाँच प्रतिशतमा मुख बुझो लगाउने गर्दथे ।

त्यसरी मुर्गा बनाइनेमध्ये भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकको कम्पनी पनि एउटा हो । यसबीच अभिषेकको नेक्स जेन कम्पनीलाई समेत दुःख दिन लागिएको बुझिएको छ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको कार्यकालमा नेक्स जेनले १२–१५ करोडका सानातिना काम गरेको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू