बजेट कोतर्ने नासु मालपानीका माष्टरमाइन्ड

बजेट कोतर्ने नासु मालपानीका माष्टरमाइन्ड

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षबाट बजेट आउने दिन करका दर अनुकूल हेरफेर गराउने हैसियत बनाएका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेले अहिले रूपन्देहीका नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानीलाई सघाइरहेका छन् । मालपानीले घिमिरेलाई लजिष्टिक अधिकृतको रूपमा प्रयोग गरी आफ्नो ब्यवसायको सेटिङ्ग मिलाउन लगाएका छन् । उनै घिमिरेले दुई वर्षअघि आर्थिक वर्ष २०७९/०८० को बजेट आउनुअघि जेठ १४ गते राती अर्बपति व्यवसायी विनोद चौधरीलाई फाइदा हुने गरी मध्यराति करका दर हेरफेर गराएका थिए ।

सेटिङ्ग मिलाएर राज्यलाई कंगाल तथा सीमित ब्यवसायीलाई मालामाल बनाउन सक्ने हैसियत भएका अर्घाखाँचीका घिमिरे एक वर्षभन्दा बढी समयदेखि कमलकिशोर मालपानीका उद्योगहरू यशोदा फुड्स प्रा।लि।, श्रीराम टोबाको उद्योगलयायतमा जोडिएका छन् । उद्योगको बजारीकरणभन्दा पनि कर, अन्तशुल्कका अधिकारीहरू मिलाउन तथा नीतिगत भ्रष्टाचार गरी उद्योगी पोस्नमा पोख्त घिमिरे अख्तियारका अभियुक्त हुन् ।

‘उहाँले दैनिक रूपमा अफिस आएर हाजिर गर्नुहुन्न, बरु जहाँ आवश्यक पर्छ त्यहीं काम गर्नुहुन्छ,’ उद्योग श्रोतले भन्यो । खास के काम गर्नुहुन्छ भनेरचाहिँ श्रोतले पनि खुलाउन सकेन । घिमिरेले सुपारी आयात निर्यात खुलाउनेदेखि गुट्खा उद्योगलाई कर छली गर्न सहयोग हुने गरी नीति बनाउन सघाइरहेको बुझिएको छ । आन्तरिक राजश्व कार्यालय बुटवल, भैरहवा र कृष्णनगरमा अनुकूलका हाकिम तथा कर्मचारी ल्याउन पनि घिमिरेले पहल गरिरहेका छन् ।

तत्कालीन अर्थमन्त्री शर्मालाई प्रभावमा पारेर करका दर हेरफेर विवादमा तानिएका घिमिरेविरुद्ध अख्तियारले २०७९ चैतमा विशेष अदालतमा २ करोड १४ लाख ४६ हजार रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । मुद्धा विचाराधिन छ । उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
वि.सं. २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरे भन्सार विभागमा कार्यरत थिए । पेन्सन नपाक्दै २०७५ फागुन १ मा राजीनामा दिए । सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रूपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रूपैयाँ ४४ पैसा भेटिएकाले अख्तियारले आम्दानीभन्दा खर्च बढी देखिएको अंकलाई आधार मानी मुद्दा दायर गरेको हो । २ करोड १४ लाख ४६ हजार ६५७ रूपैयाँ २४ पैसा बिगो, त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे÷बढाइएको चल÷अचल सम्पत्ति जफत गर्न अख्तियारको मागदाबी छ ।

अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ । कलंकीमा बस्दै आएका घिमिरेले श्रीमती शारदाको नाममा भन्सार एजेन्टको लाइसेन्ससमेत निकालेका छन् ।
 

टिप्पणीहरू