‘आइ लभ यु’ भन्नेहरू समेत अलपत्र

‘आइ लभ यु’ भन्नेहरू समेत अलपत्र

१० भाइवाला र पूर्वमाओवादी समूहका नेता त मिल्काइने नै भए, अध्यक्ष केपी शर्मा ओलीका दाहिना हात भनिएकाहरू पनि नेकपा (एमाले) बाट क्रमशः किनारामा पर्न थालेका छन् । एमालेमा अध्यक्षलाई रिझाउन नसक्नेहरू जुनसुकै बेला ‘भीम रावल’ बन्ने खतरा छ भनिन्छ तर सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाउनेहरू समेत सुरक्षित छैनन् भन्ने पछिल्ला केही घटनाबाट पुष्टि हुँदैछ ।  

खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काएर नेतृत्वमा स्थापित गराउन कस्सिएका नेताहरू अध्यक्षको कर्के नजरमा परेको चर्चा भैरहँदा पहिलो मारमा थपिएका छन्, विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्ण दाहालहरू । तीनैजना आन्तरिक राजनीतिको जतिसुकै कठिन र प्रतिकूल अवस्थामा पनि ओलीको पक्षमा खम्बा झैँ उभिएका नेता हुन् । एमालेमा संस्थापन खेमाको जगजगी भएका बेला पनि साथ नछोडेका उनीहरू अहिले भने बालकोटको रोजाईमा पर्दैनन् । 

कोशी प्रदेश अधिवेशनमा बालकोटको प्रत्यक्ष निर्देशनअन्तर्गत आफूलाई हराइएको गुनासो गर्ने विनोद एक समय ओलीका निकट सहयोगी थिए । उनीहरूको सम्बन्ध राजनीतिकभन्दा माथि पारिवारिक तहमा थियो । ओली बिरामी हुँदा स्काई एम्बुलेन्समा राखेर दिल्ली लैजाने सबै चाँजोपाँजो विनोदले नै मिलाएका थिए । त्यसबखत उनले ठूलै धनराशी खर्च गरेको एमाले नेताहरू बताउँछन् । त्यो तहको सम्बन्ध भएका उनलाई अहिले विद्या भण्डारीको समर्थन गरेकै कारण प्रतिशोधपूर्ण तरिकाले माथि आउन नदिएको बताइन्छ । 

त्यस्तै, ओलीसँग विशेष सम्बन्ध भएका अर्का नेता हुन् मकवानपुरका कृष्ण दाहाल । सरसापट चलाउनेदेखि सँगै खानपिन, आउजाउलगायत अन्तरंग सम्बन्ध हो उनीहरूको पनि । ओली गृहमन्त्री भैसकेपछि ०५१ सालतिरको एउटा घटना स्मरण गर्दै एकजना नेता भन्छन् – त्यसबेला कृष्ण कमरेडलगायत हामी चार–पाँच जना सिंहदरबारस्थित दलको कार्यालयमा दिउँसो घाम तापेर बसिरहेका थियौँ । त्यतिबेला ओली आइपुग्नुभयो, र गाडीमा तेल हाल्ने पैसा माग्नुभयो । कृष्ण कमरेडले ३ सय झिकेर दिएपछि ड्राइभरले जर्किनमा तेल ल्याए । अनि उहाँ गाडी चढेर जानुभयो । उहाँहरूको त्यो तहको सम्बन्ध हो । 

अहिले राष्ट्रिय राजनीतिमा शक्तिशाली रहेका ओली कुनैबेला यस्तो अवस्थामा हुँदा पनि कसैले सोधखोज गर्दैनथ्यो । त्यसबेला बालकोटमा चरोमुसो हुँदैनथ्यो । तर, शक्ति पूजकको भीडमा कृष्ण दाहाल भने अपवाद थिए । अर्थात् उनी सधैंजसो बालकोट जाने गर्थे । त्यहीक्रममा एकदिन ओलीले आँगनमा ठूलो भाँडामा औषधि राखेर बसिरहेका बेला टुप्लुक्क पुगेका उनले ‘मकै, भटमास खाएजस्तो यत्रो औषधि, के भयो तपाईंलाई ?’ भनेर सोध्दा ओलीले बिरामी परेको जवाफ दिए । 

त्यसबेला ओलीको अवस्था पार्टी र राष्ट्रिय राजनीतिमा अहिलेजस्तो थिएन । अहिले त उपचार गर्न सरकारले नै पैसा दिन्छ । नभए व्यापारी, व्यवसायी, पार्टीका नेता–कार्यकर्ताले बालकोटमै बिटो पु¥याइदिने हैसियत राख्छन् । तर, त्यसबेला कृष्ण दाहालले ‘उपचार हुने कि नहुने खालको रोग’ भनेर सोध्दा ओलीले ‘उपचार त हुने तर हामीजस्तो मान्छेलाई गाह्रो छ कहाँ पाउनु पैसा’ भनेका थिए । निजी जीवनको समेत अन्तरंग कुरा शेयर गर्ने तहको सम्बन्ध भएका उनलाई भर्खरै बाग्मती प्रदेशको अध्यक्षमा हराउन बालकोटबाटै योजना बुनिएको गुनासो उनले निकटहरूसँग अहिले पनि गर्ने गरेका छन् ।

केही वर्ष अघिसम्म बालकोटमै बस्ने गोकुलको पनि त्यस्तै पारिवारिक सम्बन्ध हो, ओलीसँग । तत्कालीन नेकपाको सरकार हुँदा ओली क्याबिनेटमा सञ्चारमन्त्री बनाइएका थिए । त्यसताका र अलि पछिसम्म अध्यक्षको आलोचना गर्नेमाथि झम्टिएर जाइलाग्थे उनी । तर, अहिले गोकुलका लागि पहिलेझैँ बालकोटको ढोका सजिलै खुल्दैन । केही दिनअघि मात्र काभ्रेको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले मञ्चमै रातोपिरो हुनेगरी झपारे । गोकुलको नाम नलिई ‘आफ्नै टिकटको ठेगान छैन, अर्कालाई टिकट बाँड्ने’ भनेर चर्को भाषण नै गरे । 

त्यसैगरी, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतको पनि बालकोटसँग पुरानो घनिष्टता अहिले छैन । विष्णुलाई त, ललिता निवास जग्गा काण्ड सम्झाएर बेलाबेला बार्गेनिङ्गसमेत गर्ने गरिएको जानकारहरू दाबी गर्छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू