जिबी, रविको टिभीघरमा घरपट्टीको ताला

जिबी, रविको टिभीघरमा घरपट्टीको ताला
सुन्नुहोस्

प्रधानन्यायाधीश र प्रधानमन्त्री निवाससामुन्ने सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहकारी ठगीमा फरार गितेन्द्रबाबु (जिबी) राईको सुनौलो परियोजना ‘ग्यालेक्सी फोर–के टेलिभिजन’ बसेको भवन खाली गराउन टाँसिएको ३५ दिने सूचनाको म्याद सकिन केही घण्टा मात्रै बाँकी छ । काठमाडौं महानगरपालिका ३, बालुवाटारस्थित टेलिभिजनको कार्यालय खाली गराउन गत जेठ १७ गते सूचना टाँस गरिएको थियो । वडासदस्य केशवप्रसाद श्रेष्ठको रोहबरमा स्थानीयले टाँसेको सूचनाको अन्तिम मिति असार २० गते रहेको छ । त्यसपछि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने त्यसमा उल्लेख छ । तर, अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको घरधनी मिगेन्द्रप्रसाद मिश्रले बताए । उनका अनुसार गत मंसिरदेखिको भाडा बाँकी छ । सो अवधिको करिब २५ लाख रूपैयाँ उठेको उनी बताउँछन् । ग्यालेक्सीले मासिक तीन लाख रूपैयाँ बुझाउँदै आएको थियो । भाडा आउन रोकिएपछि मिश्रलाई नै घरखर्च धान्न समस्या भएको छ । २९ आना जग्गामा बनेको भवनमा ग्यालेक्सी टिभीको कार्यालय छ । 

सो घरजग्गा तीन दाजुभाइको नाममा छ । उनीहरूले बहालबापत आएको रकम भागबण्डा गरेर घरखर्च चलाउने गरेका थिए । तर, लामो समयसम्म भाडा नपाएपछि मर्कामा परेका छन् । बालबच्चाको स्कूल फिस तिर्न नसकेको मिश्र गुनासो गर्छन् । ‘यो घरजग्गा दाजुभाइको नाममा छ । यहींबाट हाम्रो घर खर्च धानिँदै आएको छ । मासिक तीन लाख आउँथ्यो । त्योबाट १० प्रतिशत घरबहाल कर तिरेर बाँकीले मसहित दाजुभाइको घर खर्च चल्दै आएको थियो । रवि यहाँ आउञ्जेल भाडा समयमै आउँथ्यो । उनी निस्किएपछि समस्या भएको हो,’ उनले दुःखेसो पोखे । 

यता, नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएको छ । घरधनीले लगाएको मीटर हटाएर जिबीले छुट्टै मीटर जडान गरेका थिए । लामो समयदेखि बत्तीको पैसा तिरिएको छैन । प्राधिकरणलाई झण्डै २५ लाख रूपैयाँ तिर्न बाँकी रहेको बताइन्छ । सहकारी ठगीमा जेल परेका कुमार रम्तेलले फोन गरेर बिजुलीको लाइन जोडिदिन आग्रह गरिरहने मिश्र बताउँछन् । ‘अहिले यहाँ अन्धकार छ । उनीहरूले आफ्नै मीटर जडान गरेका थिए । पैसा नतिरेपछि प्राधिकरणले लाइन काटिदिएको छ । एक जना सुरक्षा गार्ड हुनुहुन्छ । उहाँले बत्ती जडान गरिदिनु भनेर आग्रह गरिरहनुहुन्छ । प्राधिकरणकै लाखौं रूपैयाँ बाँकी छ, मैले कसरी लाइन जडान गरिदिने ? रम्तेलले पनि बेलाबखत फोन गरेर लाइन जोडिदिन आग्रह गर्छन्,’ उनले भने । 

तोकिएको समयभित्र आफ्नो घर खाली नभए वडाको रोहबरमा तारबार लगाइने मिश्रले जानकारी दिए । त्यसपछि त्यहाँ भएको सामान लिलाम गर्ने बताए । ग्यालेक्सीको कार्यालयमा हाल दुई वटा गाडी रहेको छ । भन्छन्,‘घर खाली भएन भने तारबार लगाउँछौं । त्यसपछि ६ महिनासम्म त्यो बन्द हुन्छ । त्यसबेलासम्म पनि उहाँहरू आउनुभएन भने सामान लिलाम हुन्छ । अपुग भाडा सरकारले दिनुपर्छ । ग्यालेक्सीको १०–११ वटा गाडी थियो । अहिले दुई वटा छ । अरुचाँहि के गरे थाहा भएन ।’ उनीहरूले कम्प्युटर पसलमा समेत लाखौं रूपैयाँ तिर्न बाँकी रहेको स्रोत बताउँछ । कम्प्युटरलगायतका इलेक्ट्रिक सामग्री उनीहरूले उधारोमा ल्याउने गरेका थिए । स्रोतका अनुसार गाडी पनि बैंकबाट कर्जामा लिइएको हो । 

पत्रकार अदालत धाउँदै, बचतकर्ताको बिचल्ली 

तामझामसाथ खोलिएको ग्यालेक्सी टेलिभिजन अहिले लथालिङ्ग अवस्थामा छ । दुई÷दुईवटा पाँचतारे होटलमा भव्य सम्मेलन गरेर सञ्चालनमा ल्याइएको टेलिभिजन चल्न नसकेर बन्द भएको छ । वि.सं. २०७८ असोज १५ गते खुलेको ग्यालेक्सी टेलिभिजन केही व्यक्तिको कमाउने थलो बन्दा छोटो समयमै गल्र्यामगुर्लुम डुबेको हो । टेलिभिजनसँगै हजारौं बचतकर्ता र सयौं श्रमजीवी पत्रकारको मिहिनेतको कमाइ स्वाहा भएको छ । धेरैको घरबार उजाडिएको छ । टेलिभिजन खोल्दा रवि नै प्रबन्ध निर्देशक थिए । तर, आफ्नो स्वार्थ पुरा भएपछि उनले टेलिभिजनको रङ्गिन दुनियाँ च्वाट्टै छोडिदिए । उनकै लहैलहैमा लागेर जिबीले सहकारीको करोडौं रूपैयाँ ल्याएर टिभीमा खन्याए । 

बचतकर्ताको पैसा आफ्नैझैं गरी मोजमस्ती गरे । पत्रकारहरू भने भोकभोकै छन् । टेलिभिजनमा प्रशारण बन्द भएको ६ महिना बढी बितिसकेको छ । सञ्चालक राईको अत्तोपत्तो छैन । सहकारीको नेटवर्किङ खडा गरेर ठगी गरेको आरोपमा उनीविरुद्ध डिफ्युजन नोटिस् जारी भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट सहकारीको दुनियाँमा हात हालेका जिबीको समूहले आधा दर्जन बढी सहकारी खोलेको थियो । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा जिबी आफैं अध्यक्ष थिए । उनी संलग्न सबै सहकारी संकटमा छ । अधिकांश बन्द छ । संसदीय समितिले सूर्यदर्शन सहकारीमाथि छानबिन अगाडि बढाएको छ । सहकारी डुबाउनमा रविको पनि खेल रहेको भन्दै चर्को विरोध भएपछि छानबिन समिति गठन गरिएको छ । स्रोतका अनुसार रविकै योजनामा जिबीले धमाधम सहकारीको बचत ल्याएर टेलिभिजनमा लगानी गरेका थिए । जसले गर्दा आज जिबी आफैं भागेर हिँड्नुपरेको छ । रविकै कारणले जिबी ‘घर न घाट’ को भएको स्रोत बताउँछ । यता, टेलिभिजनमा कार्यरत पत्रकारहरू तलबका लागि हारगुहार गरिरहेका छन् । ग्यालेक्सीमा कार्यरत ८७ जना पत्रकारले तलब माग गर्दै गत जेठ १ गते श्रम तथा रोजगार कार्यालय र पत्रकार महासंघमा पनि निवेदन दिएका छन् । उक्त टेलिभिजनमा गरिएको लगानी ‘बालुवामा पानी’ भएको छ । ग्यालेक्सी टेलिभिजनमा सबै आधुनिक प्रविधिको सामान प्रयोग गरिएको थियो । त्यस्तै, आफ्नै युट्युब च्यानल र एफएम पनि सञ्चालनमा थियो । सञ्चालक फरार र टेलिभिजन बन्द भएपछि बचतकर्ताको पैसामा खरिद गरिएको ती सामान बेकामको भएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू