के देख्न पाइयो, के लेख्न पाइयो

के देख्न पाइयो, के लेख्न पाइयो
सुन्नुहोस्

नेकपा (एस) को महाधिवेशन भर्खरै सम्पन्न भएको छ । सामान्यतया महाधिवेशन सकिएपछि नेता तथा कार्यकर्ताहरू ठोस सन्देशसहित ठूलो ऊर्जा बोकेर कार्यक्षेत्रमा फर्किन्छन् । तर, यो महाधिवेशनले न कुनै सन्देश दिन समर्थ रह्यो न त नेता, कार्यकर्तामा विशेष किसिमको उत्साह र ऊर्जा नै भर्न सक्यो । अधिकांश कार्यकर्ता खङर¨ परेर गाउँ फर्किए ।

महाधिवेशनमा भाग लिइरहेका अधिकांश नेता–कार्यकर्ता नेकपा (एमाले) को सौराहा महाधिवेशनको सम्झना गर्दै एकापसमा फुस्फुसाइरहेका सुनिन्थे । ओली भनेको त मान्छे नभएर प्रवृत्ति पो रहेछ भन्दै गरेका भेटिन्थे । सौराहामा प्रकट भएको त्यो प्रवृत्तिभन्दा कैयौं गुणा डरलाग्दो प्रवृत्ति प्रज्ञाप्रतिष्ठानमा देखापर्‍यो भन्ने केहीको कथन छ । सौराहामा त बरु महासचिव स्वयं उम्मेदवार बनेर पराजित भएका थिए तर यहाँ उम्मेदवार बन्नै नदिएर पराजित गराइयो । उम्मेदवार नै नबनेर पराजित हुन पुगेका अधिकांश नेता विजेताहरूलाई बधाई र शुभकामनासमेत नदिई सोही राति नै गाउँ फर्किए । महाधिवेशनमार्फत अध्यक्ष र महासचिव बनेकाहरूलाई अबिर, माला र बधाई नदिई कार्यकर्ता घर फर्किएको सम्भवतः यो पहिलो घटना हुनुपर्छ । 

महाधिवेशन प्रतिनिधिहरू कसरी चुनिएर आए त्यसको अर्कै निबन्ध तयार हुन्छ, त्यसतर्फ नलागौं । तर, यो प्रक्रियाले उही नवौं महाधिवेशनमा जस्तै कार्यकर्ता कसका हुन् भनेर एक्स्पोज गरिदियो । आज कस्तो छर्ल¨ भएको छ भने को–को माधव गुटका, कोको झलनाथ गुटका वा कोको घनश्याम गुटका भनी नामै लिएर भन्न सकिन्छ । जनताको मुद्दामा केन्द्रित राखेर पार्टी निर्माणमा डटेको भए अहिले यो महाधिवेशन गर्नुपर्ने आवश्यकता थिएन र पार्टी लगातार ओरालो पनि लाग्ने थिएन । कतिपय प्रतिनिधि त कस्तासमेत छन् भने कमिटी अध्यक्ष आफैँ, सूचना आफैँले प्रकाशन गर्ने, उम्मेदवारी आफैँले दिने, दाबी विरोध आफैँले गर्ने र प्रतिनिधि पनि आफैँ बन्ने । यस्तो स्थिति रहेको जान्दाजान्दै महाधिवेशनको तयारी गरेर गुटबन्दीको निम्ति बाध्य पार्ने जुन काम हुन गयो यसले जग हँसाउने काम मात्रैै गरेको छ । 

मुखमा टेप टाँस्नुपर्दैन बोल्न पाइन्छ भन्ने कमरेडहरू नै नेतृत्वमा दोहोरिनुभएको छ । 

महाधिवेशन उद्घाटनसत्र बाहेकको अरु कुनै एउटा पनि दिन महाधिवेशन हो जस्तो लाग्दै लागेन । हुन त सहभागी प्रतिनिधिले छलफल गरेको त देखिएको थियो तर पार्टीका पदाधिकारीलाई त्यस प्रांगणमा न कसैले देखे न त भेटे । किनभने तीन मूर्धन्य कमरेडहरू आफ्नो पदको सुनिश्चितताका निम्ति होटलको वातानुकुलित कोठामा कफीको चुस्की लिँदै तानातानमा ब्यस्त थिए । यता, धेरैजसो कार्यकर्ता भात खाने लाइनमा थिए । किनभने महाधिवेशनबाट केही उपलब्धि हुने आशा रहेको भए पो भोकै प्यासै भए पनि हलमा बस्थे । केही नहुने भएपछि किन भोकै बस्ने भनेर भात खाने लाइनमा लागे जुन स्वाभाविक पनि हो । 

‘खोदा पहाड, निकला चुहा’ भन्ने उखान छ तर यहाँ त चुहा पनि निस्केन । विभिन्न क्लस्टरबाट सीधै केन्द्रीय सदस्य बन्न सक्ने कति धेरै युवा नेता थिए जो सीधै खुलाबाट चुनिएर नेतृत्वमा जान चाहन्थे । धेरै कार्यकर्ता आफ्नो मत आफूले चाहेको नेतालाई हालेर नेता बनाउन चाहन्थे । तर, यस्तो वातावरण बन्न सकेन, बन्न दिइएन । हिजो र भोलिमा फरक केही नहुने भएपछि उत्साह, जोश र जाँगर केही पनि आउन्न, आखिर यही भयो । 

यो महाधिवेशनमा खट्किएको कुरा के हो भने यो एक महिनाको बीचमा कसैले पनि देशको आर्थिक अवस्थामा सुधार ल्याउन मेरो नेतृत्व जरुरी छ भनेको सुनिएन । देशमा रोजगारी सिर्जना गराउने कामको अगुवाइ गर्न मेरो नेतृत्व भनेको पनि पाइएन । सबैका लागि न्याय, समानता र अवसरबारे चर्चा गरेको त झनै देखिएन । हामीसँग अर्थात् पार्टीसँग भएको ज्ञानलाई जनताको हितमा प्रयोग गर्छौं भनेको सुनिएन । गरिबका, दलितका, महिलाका मुद्दाउपर पनि छलफल भएको पाइएन । नयाँ र जरुरी विषयमा कुरा नगरेपछि नयाँ नेतृत्व नचाहिने भयो, नयाँ विचार पनि नचाहने भयो र नयाँ कार्यकर्ताको आवश्यकता त नपर्ने नै भयो । हामीले जे–जस्तो काम गर्‍यौँ, जे–जस्तो बहस र छलफल गर्‍यौँ यो अन्तरालमा त्यसको नतिजा उही पुरानै नेतृत्व दोहोरिने कुरा नै हुने थियो । आखिरमा भयो पनि त्यही नै ! अब एउटा लामो समय उही पुराना र समाजसँग तादात्म्य नराख्ने लफ्फाजी सुन्न विवश पारिएका छौँ । 

अन्त्यमा, मुखमा टेप टाँस्नुपर्दैन बोल्न पाइन्छ भन्ने कमरेडहरू नै नेतृत्वमा दोहोरिनुभएको छ । यस कारण असहमति राख्न पाउने अधिकारको उपयोग गर्दै महाधिवेशन प्रक्रियामा असहमतिसहित  महाधिवेशनबाट नेतृत्वमा दोहोरिनुुभएका सबै कमरेडलाई बधाई तथा पूर्ण कार्यकालको निम्ति शुभकामना !

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू