हाम्रा जासुसले गर्छन् चाँहि के ?

हाम्रा जासुसले गर्छन्  चाँहि के ?

नारायणकाजी भन्दै थिए, ‘समझदारी भइसक्यो त !’ प्रचण्डले कुरै बुझ्नुभएन । बरु, केपी ओलीसँग एक छिनअगाडि चार घण्टासम्म चलेको संवाद सुनाउन थाल्नुभयो । 

१७ गते राति नै कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने विषयमा समझदारी हुँदैछ भन्ने सूचना पाएपछि परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ हत्तपत्त सिंहदरबार पुग्नुभयो । ‘मसँग यस्तो सूचना छ’ भन्दा प्रचण्डले सुन्न मान्नुभएन, पत्याउनु पनि भएन । बरु, ओलीसँग भएको सहमति हर्षका साथ सुनाउन थाल्नुभयो  ।

प्रचण्डले चाहिँ भोलिदेखि नै सरकारले गर्नुपर्ने कामका विषयमा विज्ञसँग छलफल शुरु गर्ने भनेर तयारीमै जुट्न भनिरहनुभयो । ‘हामीसँग नजिक भएका र स्वतन्त्रखालका विज्ञको लिष्ट बनाऔं, भोलि नै कुराकानी गरौं’, प्रचण्डले उल्टै नारायणकाजीलाई अह्राउन थाल्नुभयो । ‘स्वर्ग गए पनि, नर्क गए पनि हामीसँगै जाने हो’, प्रचण्डको यस्तो कुरा सुनेर नारायणकाजी छक्क परे । ०८४ सम्म एमालेसँग पार्टी एकता नै भइसक्ने प्रचण्डको दावी सुनेर भनिरहेका थिए, ‘ओलीले कतिसम्म एकोहोरो पारेछन्...!’

नारायणकाजी त आफ्नै पार्टीका नेता, उपप्रधानमन्त्री नै भए, प्रचण्डको हित चिताएर पाएको सूचना सुनाउनु स्वाभाविक थियो । तर, यो काम देशका विभिन्न जासुसी संयन्त्रले गर्नुपर्ने हो । अकस्मात् सरकार फेर्ने कुरा भइरहेको छ । शीर्ष नेताबीच छिनछिनमा वार्ता, छलफल चलिरहेको छ । राज्यले करोडौं रकम खर्च गरेर जासुसी संयन्त्र परिचालन गरेको छ ।

तर, प्रधानमन्त्रीलाई कुनै पनि जासुसी सूचना पुग्दैन भन्ने कुरा यो घटनामा स्पष्ट भएको छ । गृह मन्त्रालयबाट झिकेर केपी ओलीकै पालादेखि सूचना संकलनका लागि अनुसन्धान विभागका नाममा प्रधानमन्त्री कार्यालयमातहत अलग्गै युनिट खडा छ । सेनाको डिएमआईसहित प्रहरी र सशस्त्रसँग आ–आफ्ना गुप्तचरी संयन्त्र छन् । तर, देशमा सरकार फेर्ने सहमति भइसक्यो भन्ने कुराको सूचना प्रधानमन्त्रीलाई कसैले पनि सुनाएनन् । यो सबभन्दा गम्भीर विषय हो । 
 

टिप्पणीहरू