हिरासतमा बेचनको प्राण झण्डै हिरिक्क

हिरासतमा बेचनको प्राण झण्डै हिरिक्क
सुन्नुहोस्

रवि लामिछानेलाई ०८४ को चुनाव जित्नदेखि श्याम ज्ञवालीलाई अहिल्यै आइजी बन्नसम्म सहज हुने गरी बनाइएको एउटा कोरा–काल्पनिक (हाइपोथेटिकल) योजना थियो, बेचन झा पक्राउ प्रकरण । 

बेचनलाई समातेर ल्याउने कुरामा न प्रचण्ड, न ओली, दुबैको हात छैन । प्रहरीभित्र हावी हुन चाहेको एउटा समूहले प्रहरी प्रमुखसमेतलाई गुमराहमा राखेर यो काम पत्ते गरेको थियो । उनलाई समातेर ल्याउन कसले भारतसँग समन्वय गर्‍यो ? जिबी राईतिर ध्यान केन्द्रित गर्न छाडेर किन अकस्मात बेचनलाई ल्याइयो ? यी कुरामा सबैको चासो छ ।

भनिन्छ, प्रहरीको केन्द्रीय कार्यदल (विशेष ब्यूरो) का डिआइजी डा.मनोज केसी आफैं यसमा सक्रिय भए । उनलाई अह्राउने काम भने सिआइबीका एआइजी श्याम ज्ञवालीले गरे । किनभने, बेचनलाई ल्याएर, जबरजस्ती भए पनि बयान गराई, त्यसमा आइजीलाई पोल्ने र त्यही बहानामा अमेरिकाबाट आउँदा आउँदै एयरपोर्टबाटै उठाउने अनि आफू आइजी बन्ने डिजाइनमा श्याम थिए ।

त्यसप्रकार दिल्लीकै प्रहरीले बेचनलाई कञ्चनपुरको गड्डाचौकी नाकामा ल्याइदियो । सीधै प्रहरीलाई बुझाउँदा शेरबहादुर देउवाले शंका गर्छन् भनेर सशस्त्रको जिम्मा लगाइयो । यो कुरामा पनि सशस्त्रका आइजी राजु अर्याल बेखबर रहे । एआइजी नारायणदत्त पौडेललाई भनेर उनीमार्फत सुदूरपश्चिमका डिआइजी दिपक अधिकारीलाई बेचनको जिम्मा लगाउने काम भयो । दिपकले डिएसपी रामेश्वर श्रेष्ठलाई पठाए । उनले मुग्लिङ पुर्‍याएर नेपाल प्रहरीको जिम्मा लगाए । यसरी सशस्त्रले मान्छे समातेर ल्याउँछ भने बेचनजस्ता थुप्रै मान्छे समात्नुपर्ने छ । तिनलाई पनि समातिदिए हुने नि, तर निश्चित उद्देश्यका निम्ति बेचन प्रकरणमा त्यस्तो काम हुन गयो । 

श्यामलालहरू प्रचण्डको सत्ता टिक्छ भन्नेमा पूरापूर विश्वस्त थिए । त्यसैले १८ गतेभित्र प्रहरीका आइजीलाई ‘भित्र हालेपछि’ र श्यामले आइजीको फुली भिरेलगत्तै अर्को उपायबाट सशस्त्रका राजुलाई पनि हटाउनेसम्मका डिजाइन थियो । त्यसअनुसार, प्रहरीमा चैत ४ गतेसम्म श्यामले चलाउने, उनी ३० वर्षे सेवा अवधी लागेर ५ गते घर जानुअघि सीधै डा.मनोजलाई आइजीको चार्ज बुझाउने र मनोजले २०८४ को चैत १७ गतेसम्म चलाउने हिसाव निकालियो । किनभने, ०३२ साल साउन २८ को जन्ममिति भएका उनलाई उमेरले पनि साथ दिन्थ्यो ।

उनी ०८४ सालमा ५२ वर्षका हुन्थे । चैतमा घर जानुअघि नै मंसिरतिर निर्वाचन हुन्थ्यो र त्यो निर्वाचन रविका निम्ति अनुकूलको होला भन्ने योजना थियो । डा.मनोजका व्याची वा प्रतिस्पर्धीहरू दानबहादुर कार्की अहिल्यै (साउन १५ बाट) ५२ का हुन्छन्, दिनेश आचार्य असार १३ मै ५३ का भइसके । गुप्तचरबाट आएको टोलीमध्ये सिद्धिविक्रम शाह माघ ७ गते ५३ का हुन्छन् । सुशील राठौर असार १९ बाट ५३ लागिसके । यस्तो हुँदा सीधै भूपेन्द्र खत्री, सोमेन्द्र राठौरहरूको टोलीबाट आइजी हुन्थे । उनीहरूमध्ये पनि भूपेन्द्र पुस २० मा ५० र सोमेन्द्र कात्तिक ३ मा ५१ का हुन्छन् । 

यस्तो कोरा–काल्पनिक योजनाका साथ केही प्रहरी अगाडि बढ्दा पक्राउ गरिएका बेचन झाको ज्यानमाथि नै जोखिम उत्पन्न भयो । कुनै पनि व्यक्तिलाई पक्राउ गरी आफ्नो जिम्मामा ल्याइसकेपछि उसको शारीरिक अवस्था, खानपान, बसाइको जिम्मा पनि प्रहरीले लिनुपर्छ, यो विश्वव्यापी मानवअधिकारभित्र पर्ने कुरा हो । तर, सुगर र प्रेसरका पुरानो बिरामी बेचनलाई न बेलामा खान दिइयो, न त बस्न र सुत्न नै । ‘आइजीको नाम भन’ भन्नेबाहेक अर्को कुरै नगर्दा उनका रोग, समय समयमा केही न केही चपाइरहनुपर्ने, विभिन्न किसिमका औषधी समयमै खानुपर्ने रुटिन बिथोलिएर ज्यान नै जोखिममा परेको थियो । तर, बेचनले कसैको स्वार्थमा अरुलाई फसाउन नभएको कुरा बोल्न चाहेनन् । अझै पनि त्यस्तो बयान दिएका छैनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू