माधव नेपालको एउटा महाभूल

माधव नेपालको एउटा महाभूल

माधवकुमार नेपालले गर्नुभएको एउटा भूल, जसका कारण उहाँ अब प्रधानमन्त्री बन्ने सम्भावना सकियो नै बरु, राष्ट्रिय राजनीति एउटा जोखिमपूर्ण श्रृंखलामा प्रवेश गरेको छ ।

संसदबाट विश्वासको मत नपाउने पक्का हुँदा पनि त्यसलाई सामना गर्न प्रचण्ड संसदमा उपस्थित भइसक्नुभएको थियो । माधवको पार्टी एकीकृत समाजवादीले प्रचण्डकै पक्षमा मत दिने भने पनि केन्द्रीय सदस्य नबनाइएका सांसद प्रेम आले त्यहाँ उपस्थित होलान् कि नहोलान् भन्ने चर्चाकै बीच उनी टुप्लुक्क पुगे । माधवलाई नमस्कार गरेर भने, ‘मैले हजुरलाई भन्या हैन, आज देखिबक्सियो नि !’ माधव चुप लागिरहनुभयो । राजेन्द्र पाण्डेतिर हेरेर प्रेमले भने, ‘हजुर त जापानमा हुनुहुन्थ्यो, नभए त्यही बेला हामीले मन्त्री नपठाएको भए यो दिन आउने नै थिएन ।’ त्यसपछि माधवले मुन्टो हल्लाउनुभयो । अनि, प्रेमले फेरि माधवसँग भने, ‘यो कुरामा चाहिँ हजुरले मसँग सरी भन्नुपर्छ, त्यसबेला हजुरबाट गल्ती भएकै हो । मैले भनेको कुरा आज प्रमाणित भएको छ ।’ तर, माधवले केही पनि प्रतिक्रिया दिनुभएन । आलेको एक एक कुरामा राजेन्द्र पाण्डेको सहमति देखिँदै थियो । 

गत फागुन २१ गते प्रचण्डले कांग्रेससँगको सहकार्य तोडी एमालेसँग मिलेर नयाँ सरकार बनाउने बेला माधवले गर्नुभएको गल्तीको प्रसंग थियो यो । प्रचण्ड र देउवाले पनि अब प्रधानमन्त्री बन्ने पालो माधवको र त्यसपछि देउवाको भन्न थालिसकेका थिए । त्यही बेला प्रचण्डले देउवासँगको साथ छाडेर ओलीसँग मिल्ने बाटो रोज्नुभयो । त्यो कुराले माधवको प्रधानमन्त्री हुने पालोलाई असर गर्ने नै भयो । वरिपरि सही सल्लाहकार नहुँदा माधवले बाटो बिराउनुभएको राजेन्द्र पाण्डेको ठहर थियो । पाण्डे त्यसबेला जापान पुगेका थिए । उनले फोनमै माधवलाई भने, ‘तपाईंलाई सञ्चो छैन । अझै दुई दिन ओछ्यानमै सुत्नुस् । म आएपछि बाँकी कुरा मिलाउँला ।’ तर, पाण्डे आउनुअघि नै माधवले सरकारमा दुई मन्त्री पठाइदिनुभयो । यदि त्यसबेला माधवले मन्त्री नपठाउनुभएको भए जसपा पनि उक्त सरकारमा जाने थिएन । र तत्कालिन गठबन्धनले विश्वासको मत पाउने थिएन । प्रचण्डले नाकको चालले देउवासँग मिल्नु जानुपथ्र्यो । त्यो स्थितिमा कि देउवा कि माधव नै प्रधानमन्त्री बन्नुहुन्थ्यो । त्यसो भएको भए आजको स्थिति देख्नुपर्ने पनि थिएन । 

माधव भावनात्मक भइदिँदा फागुनमा गल्ती भएको उक्त पार्टीका कतिपय नेता बताउँछन् । ‘हामी नमिल्दा पश्चिम बंगाल हुने भइयो’ भन्ने केपी ओली आज त्यही कांग्रेससँग मिल्न जानुभएको छ । बोलचाल नै बन्द भएका ओली आफ्नो घरमै पुगेर मिल्ने, मिलाउने, मिलेरै अगाडि बढ्नेजस्ता कुरा गर्न थालेपछि ओलीमा सुधार आएछ भनी माधवले बुझ्नुभयो । एकछिन अगाडि उहाँको घरमै बसेको सचिवालय बैठकले ‘पर्ख र हेर’ को नीति पारित गरेपछि ओली र उहाँका महासचिव शंकर पोखरेलसहितको टोली माधवको घरमा पुगेको थियो । राम्रा, मीठा कुरा गरेर माधवको मन पगालियो र उहाँको पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बूढालाई मन्त्री बन्न पठाइयो । जबकी, कांग्रेसका नेताहरूले पनि त्यसबेला सरकारलाई समर्थन नगर्ने र प्रचण्ड कांग्रेसतिर फर्किएर आएपछि माधवलाई प्रधानमन्त्री बनाउने कुरा लेखेरै दिन्छौं भनेका थिए । यसका बाबजुद पनि माधवको मन पगालियो र सरकारमा पठाउँदा आज राजनीतिले अनिश्चयको बाटो पक्डिएको छ । 

अनि, प्रचण्डको सरकारलाई फागुनको २९ मा विश्वासको मत नदिँदा कांग्रेसका नेताहरूले नै भनेका थिए, ‘यदि प्रचण्डले अहिले विश्वासको मत पाउनुभएन वा यसपछि अर्को प्रधानमन्त्री बनाउनुपर्ने भयो भने ७६ (३) मा जान्छ ।’ तर, अहिले ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस नै ७६ (२) को दाबीका साथ सरकारमा गएको छ । त्यसो त उसले पनि एमाले वा ओलीबाट पाउने त धोका नै हो । केन्द्रमा भएको यस्तो राजनीतिको बाछिटा अब प्रदेश सरकारतिर पर्ने भएको छ । अब सबै प्रदेश प्रमुख फेरिने भए । प्रचण्डको भूमिका के हुने ? त्यो पनि निश्चित छैन । ‘दुनियाँलाई घुमाउँछु’ भन्दाभन्दै उहाँ आफैं डुब्नुभएको छ । सक्दासम्म ओलीले प्रचण्डलाई जेलसम्मै पुर्‍याउने नियत साँच्नुभएको चर्चा छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू