पूरा बन्न नपाउँदै सरकारको आयुको चर्चा ?

पूरा बन्न नपाउँदै सरकारको आयुको चर्चा ?
सुन्नुहोस्

नेपाली काँग्रेस र एमाले अर्थात् प्रमुख दुई दल मिलेर सरकार बनाउनु पर्ने दावी गर्दै आएका काँग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा अहिलेको सरकारमा सामेल नभएपछि विभिन्न कोणबाट प्रश्नहरु उठ्न थालेको छ।

सरकारमा यी दुई नेताको अनुपस्थितिले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारको आयु पनि निकै छोटो र दुई दिनको रामछाँया भएको टिप्पणी पार्टी पंक्तिभित्रै हुन थालेको छ । 

अहिले प्रधानमन्त्री ओलीले देउवाको टिमबाट आरजु र रमेश लेखक लिएपनि शेखरका टिमबाट शेखर र गगनको टिमबाट कसैलाई पनि विश्वासमा लिन सकेको अवस्था छैन । काँग्रेसभित्रको यी दुवै समूहलाई चित्त नबुझाए सरकार कुनै बेला पनि ढल्ने अवस्था रहेको देखिन्छ । त्यसैले प्रधानमन्त्री ओलीले सोचे जस्तो काँग्रेसका दुवै पक्षलाई सन्तुलनमा राखेर सरकार जोगाइराख्नु सहज भने देखिदैंन । 

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै मिलेर अघिल्लो सरकार बनाएकै बखत शेखर कोइराला र गगन थापा भारततर्फको भ्रमणमा निस्केका थिए । भारतमैं यी दुवै नेताले गुरुमन्त्र लिएपछि रवि लामिछानेको हर्कतलाई उछाल्दै सरकार ढाल्ने योजना बनेको दाबी स्रोतको छ । योजना मुताविक नेपाली काँग्रेसले सरकारको विशेष गरी रवि लामिछानेको धुँवाधार विरोध गरेको थियो । 

अर्कोतर्फ प्रधानमन्त्रीपछि महत्वपूर्ण मन्त्रालय मानिदैं आएको गृहमन्त्रालयमा अहिलेको गठबन्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पात्र रमेश लेखक गृहमन्त्री भएका छन । यसअघि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनको सरकार बनेको करिब ६ महिना बितेपछि पटना युनिवर्सिटीबाट उत्तिर्ण गरेको विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय व्यक्तित्वको रुपमा लेखकलाई सम्मान गरिएको थियो ।

त्यसबखत सो विश्वविद्यालयले ५। ६ जनालाई मात्रै यो सम्मान दिएको थियो । यसैकारण गृहमन्त्री लेखकलाई भारतसँग जुइनो जोडिएका काँग्रेसी नेताका रुपमा पनि चिन्ने गरिएको छ । त्यसैगरी लेखकको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी सांसद आरजु राणासँग पनि घनिष्ठ मित्रता रहेको छ । त्यसो त उनलाई शेखर कोइराला र गगन थापाले समेत अहिलेको अवस्थामा धाप मारेको बताइन्छ । 

यसबिच आरजु राणा लगातार दिल्ली भ्रमणमा निक्लेकिछिन् । पहिला छोराको कारणले जापान र बेलायत अनि आफ्नै उपचारमा भ्रमणमा गईरहन्थिन् । अहिले भारतीय चौथाईवालालाई राखी बाँधेर भाई बनाउनेदेखि दिल्ली जाने क्रम निकै बाक्लिएको थियो । अर्कोकारण भने सांसद विनोद चौधरी पनि हुन । उनले आफ्नो छोराको विवाह श्री ३ रविशंकरको बैङ्लुरुस्थित आर्ट अफ लिभिङमा गराएका थिए । उनकै नेपालको ठूलो भक्तका रुपमा सांसद चौधरीले पहिचान बनाएका छन । र, रविशंकर भारतिय जनता पार्टी (भाजपा) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भित्रिया हर्ताकर्ताका मानिन्छन् ।

शंकर नेपाल आउने कार्यक्रम तय भए पनि चौधरीको भागमभाग चलेपछि कार्यक्रम त्यतिकै थाँति राखिएको स्रोतको दाबी छ । र, यसैकारण आरजुले पनि भाजपाका धार्मिक नेताहरुसँग सम्बन्ध घनिष्ठ बनाउने अवसरका रुपमा चौधरीसँग हातेमालो गरेको बताइन्छ । 

लामिछानेले गृहमन्त्री हुँदा अनेकन फन्डा गरेरै भए पनि सांसद विनोद चौधरीसँग बाँसबारी जग्गा प्रकरणमा वयानसम्म लिने काम गर्यो । वयान लिएपछि त चौधरी खोरमा जाकिने नै परिस्थिति थियो भन्ने अनुमान सबैले गरेका थिए । तर लामिछानेले वयान लिने र छुटकारा दिने भन्दा अर्थोक कुनै काम गरेनन । 

नेपाली काँग्रेसको आर्थिक विभागको सदस्य रहेका सांसद चौधरीले यसबिच अर्थमन्त्री हुने प्रयास नगरेका भने होइनन् । एमालेका विष्णु पौडेल अर्थमन्त्री भएपछि चौधरीको अर्थमन्त्री बन्ने दौडधूप गानाबजानामा सिमित हुन पुगेको छ । 

तुरुप थरिथरीका ? 

अहिलेको सत्ता परिवर्तनको लागि रोल मेकर भनिएका भारतीय पक्षले बहुपक्षीय भूमिका निर्वाह गरेको महसुस गरेपछि नेपाली राजनीतिक वृतका विश्लेषकहरु छक्क परेका छन । भारतका नेताहरुले माओवादी केन्द्रका नेता तथा तत्कालीन प्रधानमन्त्री दाहाललाई पनि मख्ख पारेका पठाएका थिए । त्यसैले प्रचण्ड र देउवाबिच हामी मिलेर जाऔं भनेर कुराकानी नै भयो ।

एमाले अध्यक्ष ओलीलाई झस्काउनका लागि यी दुई नेताबिचको भेटघाट नै काफी भयो । अर्कोतर्फ पोहोर नैं समातिर छाडिएका बेचन झालाई अहिले पक्राउ गरी सशस्त्र प्रहरीको जिम्मा लगाइयो । यसरी नेपालको राजनीतिक कमजोरीलाई दह ठानेर बेलाबेला झा जस्ता तरङ्हरु उठाउने र खेलिरहने ताकमा भारत देखिएको राजनीतिक विश्लेषकहरुको दाबी छ । नेपालमा सुख र शान्ति भइरहेको अवस्थामा भारतीय भूमिका शून्य हुने, कमजोर हुने भएकाले भारतले जहिले पनि मल्टिपल च्यानल र मल्टिपल पर्सनालिटीलाई छुट्टाछुट्टै बनाएर मैं हुँ भन्ने भाव नेपाली नेताहरुमा जगाइ दिन्छ तर भारतले त्यस्ता नेताहरुबाट आफ्नो स्वार्थपूर्ति गर्नका लागि भने कुनै कसर बाँकी नराख्ने देखिएको छ ।

नेपालभित्र अस्थिरता भारतको मिसन बन्दै आएको दाबी छ । उदाहरणका लागि दुईतिहाई बहुमतका आधारमा संविधान संशोधन गर्ने कुरा गरे पनि नेपाली काँग्रेसका संस्थापन इतर पक्ष भनेर चिनिएका शेखर कोइराला र महासचिव गगन थापाहरु सरकारभन्दा बाहिर बसेपछि भारतको खेलप्रति नेपाली विश्लेषकहरुले ओली नेतृत्वको सरकारसँग पनि गतिलो सौदावाजी गर्ने वातावरण तयार गरेको अनुमान लगाउन थालिएको छ । अझ महामन्त्री गगन थापाले यी दुई ठूला दलको सम्झौताले मुलुक अथोटोरियन (तानाशाही) हुने खतरा भएकाले बाहिर बसेर खबरदारी गर्न आवश्यक छ भन्दै आपूm बाहिर बसेको औचित्यता स्पष्ट पार्ने प्रयास पनि गरेका छन । 

नेपाली राजनीतिक विश्लेषकहरुका अनुसार अहिलेको गठबन्धन हुनुको प्रमुख कारणमध्ये अहिलेका परराष्ट्र मन्त्री बनेकी सांसद आरजु राणाको सुरक्षाको विषय एउटा कारण हो भने रअका नेपाल प्रमुख राघव भटनागरको चार महिनाअघि कार्यकाल समाप्त हुँदा पनि केही महिना थपेर नेपालमा चलखेल गरिरहेका थिए । सत्ता गठबन्धन फेरिने अवस्था सिर्जना हुने वित्तिक्कै उसलाई बदलि गर्न अंशु शर्मा नेपाल आए र नेपालीस्थित भारतीय दूतावासका सैनिक सहचरी कर्णेल अमित शर्माको बदलामा कर्णेल सुब्रह्यणमलाई नेपाल पठायो ।

बाहिर देखिदा नरम र पजल भए जस्तो देखिए पनि नेपाली काँग्रेस र एमालेबिच १७ गते राती रामेश्वर थापाको चपलिहाइटस्थित घरमा भएको सात बुँदे सहमति पछि बसेको नेपाली काँग्रेसको भातृ संगठनको बैठकमा हामी बिआरआई लिन्नौं भन्ने एजेन्डाले प्रवेश पाएको देखिन्छ । यो एजेन्डाले कसलाई किन के सन्देश दिन खोजेको हो भन्ने कुराको विश्लेषण गर्ने हो भने अहिलेको सत्ता समिकरणका पछि भारतीय इन्ट्रेस्टको राम्रै अनुभव गर्न सकिने दावी विश्लेषकहरुले गरेका छन ।

किनभने एमाले वृतभित्रै अध्यक्ष ओलीलाई दक्षिण दाहिना भएको हो भन्ने सवाल गर्न थालिएको छ भने जवाफमा प्रधानमन्त्री ओलीले होइन भनेर जवाफ दिन सुरु गरेको बताइन्छ । यो जवाफले अहिलेको सरकार कागती निचोर फाल्दिने भन्ने निष्कर्षमा एकथरीका एमालेहरु पुगेको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू