आलम समात्नेलाई ओलीको जिम्मा

आलम समात्नेलाई ओलीको जिम्मा

श्रमिकहरूलाई दिनदहाडै भट्टीमा जलाउने रौतहटका कांग्रेसी मन्त्री मोहम्मद आफ्ताब आलमलाई जेलको चिसो छिँडीमा पुर्‍याउने डिएसपी नवीन कार्की प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रहरीतर्फबाट सुरक्षा कमाण्डर तोकिएका छन् । सल्यानमा कार्यरत कार्कीले आलमलाई अनेक धम्की सहँदै समातेर नख्खू जेल पुर्‍याएको भिडियो अहिले पनि भाइरल छ । 

प्रधानमन्त्रीमा ओली आउने भएसँगै सुरक्षाको जिम्मा लिन प्रहरीभित्र निकै प्रतिस्पर्धा चलेको थियो । तिनैमध्ये एमाले उपमहासचिव तथा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग नाता लगाउने डिएसपी सुदिप पाठक पनि हुन् । हाल भोजपुरमा कार्यरत छन् ।

मारिएका सनम शाक्य र हाल जेलमा रहेका चुडामणि उप्रेती ‘गोरे’ संलग्न ३३ केजी सुनकाण्ड छानबिन गर्ने वसन्त लामाको टिममा पनि थिए । धादिङका एमाले डन चरी भनिने दिनेश अधिकारीलाई प्रहरीले फर्जी इन्काउण्टरमा मार्दा उनलाई मीरा चौधरीको टोलीमा खटाइएको थियो । अब भने ओलीको सुरक्षार्थ डिएसपी कार्कीको कमाण्डमा नेपाल प्रहरीका तर्फबाट ११ जना सुरक्षाकर्मी तैनाथ हुने व्यवस्था छ । सेना र सशस्त्रको फौज त छुट्टै छ । 

अर्कोतर्फ निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ डिएसपीकै कमाण्डमा खुमलटारस्थित ठेकेदार शारदा अधिकारीको निवासमा प्रहरीहरू तैनाथ गरिएका छन् । उनले खतराका नाममा यसअघि पनि कानुनले व्यवस्था गरेभन्दा बढी नै सुरक्षाकर्मी राख्दै आएका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू