हेर्दै जाँदा यस्तो पनि हुन सक्छ !
राजनीतिका खेलाडीले राजनीतिक कार्यदिशा छोडेर प्रतिस्पर्धीलाई विभिन्न सांकेतिक काममार्फत् तर्साउन र ‘ठाउँमा’ ल्याउन खोजिँदा देश कता जान्छ भन्ने अन्योल अझै छ ।
माओवादीसँग सरकारमा साझेदारी गरेर केपी ओलीले र त्यसअघि नै प्रचण्डले अपनाउनुभएको बाटो त्यस्तो थियो । ओलीको नियुक्ति हावी रहेको अख्तियारले तत्कालिन सञ्चार र पछि मुख्यसचिव रहेका बैकुण्ठ अर्याललाई टेरामक्स काण्ड लगाएपछि ज्ञानेन्द्र कार्की र मोहनबहादुर बस्नेतलाई पनि त्यही मुद्दा देखाएर कांग्रेस तर्साइयो ।
उपेन्द्र यादव नेतृत्वको जसपालाई फुटाएर सात जना ल्याइसकेँ भन्ने ढंगले ओली चल्नुभयो । अब कुनै पनि बेला माधव नेपालको पार्टी फुटाउन सक्छु र नेपाली कांग्रेसभन्दा ठूलो बन्नसक्छु भन्दै कांग्रेसलाई तर्साइयो ।
यदि अहिले संविधानको धारा ७६ (२) अनुसार बनेको सरकार ढल्यो र उपधारा ३ अनुसार अर्को सरकार बन्ने भयो भने पनि कांग्रेस हैन, एमालेलाई नै त्यसबेलासम्म ठूलो बनाइसक्छु भन्ने सन्देश ओलीले दिन खोज्नुभएको छ ।
यी सारा झिनाझप्टीमा राजनीतिका तिकडमबाजी थोरै, हल्लाखल्लामा रमाउने कच्चा खेलाडी रवि लामिछाने फसे । उनी कुरा नबुझेरै अर्काको लहलहैमा हौसिए । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समात्ने चाहना ओलीको थियो । प्रचण्डले नसमातौं भन्दाभन्दै रविले ओलीलाई खुशी पार्न छापामार शैलीमै समाते । यसबाट कहीँ, कतै ओली वा प्रचण्ड आलोचित हुनुभएन, रविमात्रै फँसेको पाइयो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू