अर्को काण्डमा पनि उपसभामुख आरोपित

प्रधानमन्त्री ओलीले कता राख्नुभयो फाइल

अर्को काण्डमा पनि उपसभामुख आरोपित

दुई हजारभन्दा बढी बालबालिका हुर्काइबढाई गरिसकेको बताउने उपसभामुख इन्दिरा रानामगरले सभामुख र संसद सचिवालयलाई जानकारी नगराई बाहिरका मान्छेसहित वैदेशिक भ्रमणका लागि भिसा आवेदन दिएको चर्चा सेलाउन नपाउँदै अर्को गल्ती फेला परेको छ । जुन अघिल्लो काण्डभन्दा पनि गम्भीर छ ।

२०७२ सालको महाभूकम्पले बाल मन्दिरको भवन भत्किएपछि उनले पालनपोषण गर्ने भन्दै पाँच जना बालिका लगेकी थिइन् । कतैबाट इजाजत नलिइकन सुटुक्क लगिएका ती बालिका कहाँ छन् ? अत्तोपत्तो छैन । रानामगरले ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ नामक संस्था चलाउँछिन् । काठमाडौंमा कार्यालय रहेको सो संस्थाले बुवा–आमा जेलमा भएर अलपत्र परेका बालबालिकाको जिम्मा लिँदै आएको छ । हाल सो संस्थामा दुई सय बढी बालबालिकाले आश्रय लिइरहेको बताइन्छ । उनले आफ्नो संस्थामा आश्रय दिने भनी पाँच बालिका लगेको जाँचबुझ आयोगकै प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सो कार्यलाई बालबालिकाविरुद्धको संगठित अपराध भनिएको छ । र, त्यो कुरा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रिता सिंह वैद्यले पनि स्विकारेकी छन् । उनले अन्य संस्थालाई पनि बच्चा दिएको प्रतिवेदनमा लेखिएको छ । धर्मपुत्र–धर्मपुत्रीको नाममा विदेशमा बच्चा पठाइएका थुप्रै उदाहरणसमेत त्यसमा छ । 

अनाथ बालबालिकालाई आश्रयका लागि सरकारले छुट्याएको जग्गामा केन्द्रीय नेतृत्वको निरंकुश शासन चलेको, जग्गा हिनामिना भएको, मनोमानी रूपमा जग्गा लिजमा दिएको गुनासो आएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारले आयोग गठन गरेको थियो । त्यतिबेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ थिए । पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा बनेको ‘नेपाल बालसंगठन तथा बालमन्दिर उच्चस्तरीय जाँचबुझ आयोग’ ले सो संस्थामा पारदर्शिता नभएको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । 

आयोगले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।  प्रतिवेदनमा रानामगरको संस्थाले बच्चा लगेको भन्दै उनीसहितलाई कारबाहीको सिफारिस गरिएको छ । एक बालगृहको बालबालिका आफ्नो मर्जीले अर्को बालगृहमा लैजान पाइँदैन । स्रोत भन्छ, ‘बालगृहका बालबालिकालाई एउटा कोठाबाट अर्को कोठामा त सार्न पाइँदैन भने उनले पाँच जना बालबालिका कता लगिन् भन्ने कुनै जानकारी छैन । उच्चस्तरीय जाँचबुझ आयोगले बालबालिकाको अवैध ओसारपसार भएको निश्कर्ष निकाल्दै कारबाहीको माग गरेकोमा बीचैमा सरकार ढलेकाले कसैमाथि कारवाही हुन पाएन ।’ उनले बच्चा लगेको कुरा तत्कालीन इञ्चार्जलाई पनि जानकारी भएन । तिनका आमाबुवा सन्तान खोज्दै बालमन्दिर पुगेपछि बल्ल वास्तविकता खुलेको हो । 

पत्रकारको जागिर धराप

सबै प्रमाण जुटाएपछि पोहोरको दशैंअगाडि ‘स्पेस फोर–के टेलिभिजन’ का  पत्रकार सुमन ढुंगानाले वास्तविकता बाहिर ल्याउने तयारी गरे । उनको सो खोजमूलक सामग्रीको टेलिभजनका निर्देशकदेखि अन्य सहकर्मीले पनि तारिफ गरे । टेलिभिजनमा प्रशारण हुने ‘एंगल ३६०’ कार्यक्रममार्फत प्रोमो सार्वजनिक भयो । तर, केही घण्टामै हटाइयो । यता, उनलाई लगत्तै जागिरबाट पनि निकालियो । छिनमै भाइरल भएको उक्त प्रोमोमा एक सरकारी अधिकारीले उनले बच्चा लगेको देखेको बताएकी छन् । त्यस्तै, रानामगरले ती बच्चाको थर नै फेरेको र सो कुरा कानुनको बर्खिलाप भएकोसम्म  जानकारी दिएकी छन् । 

उपसभामुखको चित्त दुखाइ

अवैध रूपमा बालबालिका लगेको आरोप लागेपछि रानामगरले प्रतिनिधिसभाअन्तर्गत एउटा समितिको बैठकमा आफूलाई मानव तस्करी भनेको भन्दै चित्त दुखाएकी थिइन् । ३४ वर्षदेखि निःस्वार्थ बालबालिकाका लागि काम गर्दै आएकी आफूलाई तस्कर बनाएकोमा आपत्ति पनि जनाइन् । सोही बैठकमा पाँच जनालाई बाल मन्दिरबाट लगेको स्वीकारेकी उनका अनुसार ती केटाकेटी अहिले कलेज पढ्दै छन् । उनले भनेकी छन्, ‘सरकारीको रूपमा चल्ने एउटा बाल मन्दिर थियो । भूकम्पपछि केटाकेटी सबैलाई एकै ठाउँमा राखियो । १३ वर्षको केटा र केटी सँगै राख्दाखेरि दुर्घटना हुने सम्भावना भएर बुवाआमाले मलाई सम्पर्क गरी छोरीहरूलाई निकालिदिनु भन्नुभयो । ती बच्चा अहिले कलेज पढ्दै छन् । मलाई तस्कर बनाइयो यही देशमा । कति रुन मन लाग्छ होला घोचीघोची पिस्दाखेरि !’

यसो भन्दै आँशु खसालेर बैठकमा उपस्थित भएकाहरूबाट सहानुभूति लिने कोसिस पनि भएको थियो । आफूमाथि आरोप लागेपछि रानामगर

बाल मन्दिरकी वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई भेट्न गएको स्रोत बताउँछ । ‘आफूलाई कानुन थाहा भएन भन्दै भेट्न गएकी थिइन् । त्यहाँ गएर रोइन् पनि । विदेशी सम्मान थाप्ने, यहाँचाहिँ अवैध भन्दा चलाउने ?’ स्रोतले भन्यो । 

इन्दिरा मुछिएपछि सुमना चुप 

रास्वपाकी सांसद सुमना श्रेष्ठले २०७९ फागुन १० गते बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाएकी थिइन् । तर, आफ्नै पार्टीबाट उपसभामुख बनेकी रानामगरलाई नै कारबाही  सिफारिस गरिएको थाहा पाएर पछि हटिन् । त्यसपछि त्यो कुरा निकाल्दै निकालिनन् । 

तत्कालीन अध्यक्ष प्रमुख दोषी 

वरिष्ठ राजनीतिज्ञ गणेशमान सिंहकी छोरी रितासिंह वैद्य बाल संगठनको तत्कालीन अध्यक्ष हुन् । बाल मन्दिरको जग्गा हिनामिना गरेको आरोपमा उनीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रानामगरलाई बालबालिका दिने उनी नै हुन् । उनले खुशी नेपाललगायत संस्थालाई पनि बालबालिका दिएको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू