गिरिबन्धुमा जसले फाइल उठाए

गिरिबन्धुमा जसले फाइल उठाए

प्रधानमन्त्री र भूमिमन्त्री एमालेबाट बनेसँगै गिरिबन्धु टी इस्टेटमा जोडिएका कर्मचारीलाई हाइसञ्चो भएको छ । केपी ओलीको अघिल्लो सरकार हुँदा यो प्रक्रिया अगाडि बढाउने उपसचिव हुन्– रोशनशंकर घिमिरे, जो पाँच वर्र्षदेखि भूमिव्यवस्था तथा अभिलेख विभागको निर्देशक छन् । निजामती सेवा ऐनमा कुनै पनि कर्मचारीलाई दुई वर्षभित्र सरुवा गर्नुपर्ने प्रावधान छ । 

०६२ साल मंसिर १७ गते शाखा अधिकृत तहबाट निजामती सेवामा पाइला राखेका घिमिरेले यसबीच सञ्चार, इलाका हुलाक, इनरुवा, गोश्वारा हुलाक, स्थानीय विकास मन्त्रालयमा काम गरेको देखिन्छ । जिविस सोलुखुम्बु र धनुषामा काम गरिसकेका उनी ०७२ सालमा उपसचिव बढुवा भएयता भूमि मन्त्रालय छोडेर अन्यत्र गएको देखिँदैन । ०७३ साल कात्तिक ३ गते प्रमुख मालपोत अधिकृत बनेर भद्रपुर पुगेका उनै रोशनले त्यहाँ २ वर्ष बस्दा गिरीबन्धुको खर्ब रूपैयाँभन्दा बढी पर्ने जग्गा सरकारबाट सट्टापट्टाको निर्णय गराउने र किनबेच गर्ने काम थालेको देखिन्छ । निजामती किताबखानाको अभिलेखअनुसार ०७५ साल असोज २४ गते साँखु मालपोतमा सरुवा भएर आउँदासमेत गिरिबन्धुको फाइल बोकेर मन्त्रालय धाउने गरेको कर्मचारी वृत्तमा चर्चा छ । ०७६ जेठ १९ सम्म साँखु मालपोत, त्यहाँँबाट सहकारी प्रशिक्षण प्रतिष्ठान हुँदै ०७७ साल माघ १० देखि उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक छन् ।

यस्तै यो प्रकरणमा जोडिने मुख्य पात्र हुन् टेकनारायण पाण्डे । जो अहिले कारागारमा पुगेका छन्, नक्कली शरणार्थी प्रकरण लागेर । लामो समय शिक्षा सेवामा बसेका उनलाई भूमिमा तानेर यो काम तमाम गर्न लगाइएको थियो । त्यस समय केपी ओलीको मिसनलाई साथ दिने सहसचिव थिए शेष पौडेल, जो भूमिव्यवस्था विभागका महानिर्देशक थिए । यो अपराध कर्ममा सामेल गराउन खोजिएको थियो तत्कालीन सचिव केदार न्यौपानेलाई । जसलाई ६ फागुन २० मा भूमिमा ल्याएर ५ महिनामै फालिएको थियो । जीवनभर शिक्षा सेवामा काम गरेका टेकनारायण पाण्डेलाई कर्णाली प्रदेशको प्रमुखबाट भूमिमा ल्याएर गिरिबन्धुको जग्गा सट्टापट्टा दिन मिल्नेगरी नियमावली तयार पारिएको थियो । यो प्रकरणमा जोडिएका सचिव अहिले कारागारमा छन् । महानिर्देशक पौडेल पिएचडी अध्ययनका लागि जापान पुगेका छन् भने रोशनशंकर घिमिरे भूमि व्यवस्थापन विभागमै छन् । प्रचण्डको सरकार हुँदा अत्तालिएका रोशनशंकर पुनः एमाले सरकारमा कम ब्याक हुनु र मन्त्रीसमेत एमालेकै बलराम अधिकारी दोहोरिँदा ढुक्क देखिएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू