जेलभित्रबाट ज्यान मार्ने धम्की, त्रसित धनिषा
नदीमा हामफालेर १६ वर्षीया बालिका बेपत्ता
शनिबार साँझ दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सिमानाका छेउबाट १६ वर्षीया धनिषा कुँवर महाकाली नदीमा हाम फालिन् । नदी छेउमा एक्लै उभिएको अवस्थामा प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनलाई उद्धारको प्रयास गरेको थियो । प्रहरी नजिक पुग्न लाग्दा धनिषा नदीमा हाम फालिन् र उर्लंदो महाकालीमा बेपत्ता भइन् ।
बर्खायामको उर्लंदो महाकाली नदी छेउ उभिएको देखेपछि आवतजावत गरिरहेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पनि होहल्ला गरेर धनिषालाई नदी किनारबाट माथि आउन भनिरहेका थिए । तर, स्थानीयको होहल्लालाई बेवास्ता गरिरहेकी उनी छेउमा प्रहरी पुगेको देख्नेबित्तिकै ५ मीटर अग्लो तटबन्ध संरचनामाथिबाट नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा फैलिरहेको छ ।
नदी किनारमा एक्लै उभिरहेकी धनिषालाई ३०–४० जना स्थानीयले माथिबाट हेरिरहेका थिए । प्रहरी र सशस्त्र प्रहरीको टोलीले एउटा छेउबाट धनिषालाई झ्याप्प समात्ने प्रयास गरेको थियो तर एक जना सशस्त्र प्रहरी छेउमा पुग्नै लाग्दा नदीमा हामफालिन् । प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार सशस्त्रका ती जवानले धनिषाको हात समात्ने प्रयाससमेत गरेका थिए तर उनी सुरक्षाकर्मीलाई छलेर नदीमा हाम फाल्न पुगिन् ।
महाकाली नगरपालिकाको वडा नम्बर ४ स्थित दिदीको घरमा बस्दैआएकी धनिषा केही समयदेखि मानसिक तनावमा रहेको परिवारजनले बताएका छन् । घर दुहुँ गाउँपालिका वडा नम्बर ४ धारी हो । गतवर्ष मात्रै महाकाली नगरपालिका–१ कोट गाउँका २२ वर्षीय उमेश कुँवरसँग भागेर विवाह गरेकी उनी सदरमुकाम खलंगाकै कन्या माविमा कक्षा ८ मा अध्ययनरत थिइन् । अभिभावकको सहमति नलिई भागेर विवाह गरेको स्थानीय बताउँछन् । उमेशले आफूसँग विवाह गर्न दबाव दिएकोले अभिभावकको समेत सहमति पाएकी थिइनन् । उमेशसँग फोन सम्पर्क र भेटघाट भइरहेको पृष्ठभूमिमा गत भदौमा भागेर विवाह गर्ने अवस्थामा पुगेकी थिइन् ।
१८ वर्ष उमेर नपुगेको अवस्थामै उमेश केही वर्षअघि कर्तव्यज्यान मुद्दामा पक्राउ परेका थिए । केही वर्ष बालसुधार गृहमा बसेर २१ वर्षको उमेरमा घर फर्किएका थिए । आपराधिक मानसिकता र पृष्ठभूमिको केटोसँग विवाह बन्धनमा बाँधिएपछि धनिषालाई बिहे गरेको पाँच महिनामै दुःख पर्न थाल्यो । उमेशले कुटपिट गर्ने, जबर्जस्ती शारीरिक सम्बन्ध राख्ने, त्रसित बनाउने व्यवहार निरन्तर थालेपछि धनिषाले २०८० माघ पहिलो साता प्रहरीमा निवेदन दिएकी थिइन् । आफूलाई कुटपिट गरेको, जबर्जस्ती गरेको र बारम्बार यातना दिँदैआएको निवेदन दिएपछि उमेशलाई प्रहरीले पक्रन खोज्यो । तर माघ ७ गते प्रहरी टोलीलाई चक्कु प्रहार गरी उमेश फरार भइदिए । त्यतिबेला प्रहरीकै अगाडि उमेशले धनिषालाई खुकुरी प्रहारको प्रयाससमेत गरेका थिए । दुईजना प्रहरीलाई खुकुरी प्रहार गरी भागेका उमेशलाई तीन महिनापछि खलंगाकै सीमाक्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।
धनिषालाई जबर्जस्ती करणी गरेको र प्रहरीलाई खुकुरी प्रहार गरी ज्यानमार्ने उद्योग गरेको मुद्दा लगाइएको थियो । यी दुई मुद्दाको अनुसन्धान गर्ने क्रममा उमेशले अर्को घटना घटाए । प्रहरी हिरासतबाटै भाग्ने प्रयास गरे । महाकाली नदी किनार छेउमा अवस्थित जिल्ला प्रहरी परिसरबाटै भाग्न खोजेका उमेशलाई समात्नेक्रममा एकजना प्रहरी जवान सुहान चौधरीको लडेर मृत्यु भयो । उमेश भने महाकाली नदी तरेर भारत पुग्दा पारी रहेको भारतीय सेनाको गोरखा पल्टनका सुरक्षाकर्मीले तत्काल समातेर नेपाल प्रहरीसम्म बुझाएका थिए ।
उमेशमाथि कर्तव्यज्यानको तेस्रो मुद्दा पनि दर्ता गरिएको छ । हाल उनी पुर्पक्षका लागि दार्चुला कारागारमा रहेका छन्् । मन पराएको केटोबाट शारीरिक यातना पाएको, प्रहरीले उमेशमाथि जर्बजस्तीकरणीको मुद्दा चलाएको, जिप्रकाभित्रैबाट उमेश भाग्नेक्रममा एकजना प्रहरीको मृत्यु भएको जस्ता परिस्थिति र घटना भोग्नुपरेपछि १६ वर्षीया धनिषालाई मानसिक तनाव बढेको अनुमान छ । कारागारभित्र रहेका उमेशले धनिषाको कारण आफू जेल परेको भन्दै छुटेपछि मार्ने धम्की दिने गरेको स्थानीय बताउँछन् ।
उमेशसँगको सम्बन्ध र गत वर्षदेखि भएका घटनाले भने धनिषालाई मानसिक असर परेको हुनसक्ने प्रहरीको भनाइ छ । ‘१६ वर्षसमेत उमेर पूरा नभएकोले धनिषाले विवाह गरेको भन्ने अवस्था रहँदैन, हामीले गतवर्ष उद्धार गरेर अभिभावकको जिम्मा लगाएका हौं’ जिप्रका दार्चुलाका प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले भन्नुभयो । शनिबार साँझ नदी किनारमा हाम फालेकी धनिषालाई त्यही दिन दिउँसो दिदीले नदी किनारबाटै फर्काएकी थिइन् । हाम फालेर मर्छु भनेर साथीलाई बताउने गरेकी थिइन् । शनिवार साँझ दोस्रो पटक दिदीलाई छलेर धनिषा महाकाली नदी किनार पुगिन् ।
धनिषाको शरीरमा चक्कु प्रहारले बनेका धेरै घाउ रहेको आफन्तजन बताउँछन् । उमेशले पटक–पटक कुटपिट र यातना दिँदा धनिषाको शरीरमा धेरै घाउ बनेका थिए । शनिवार साँझदेखि खोजीकार्य गरिए पनि प्रहरी र सशस्त्र प्रहरीले धनिषालाई भेट्टाउन सकेको छैन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू