जाने सेनापतिले आउनेलाई कुन–कुन स्टाफ खटाए ?
प्रधानसेनापति प्रभुराम शर्माले घर जातेजाते झण्डै साढे तीन दर्जन सैनिक अधिकृतको सरुवा तथा काज नियुक्ति गरेका छन् । ४ प्रमुख सेनानी, ९ सेनानीसहित ४० सैनिक अधिकृतलाई यताउता गरिएको भनी सैनिक सचिव ज्योतिन्द्र महतद्वारा जारी पत्रमा यो निर्णय साउन १८ गतेबाट लागू हुने व्यहोरा उल्लेख छ । जसअनुसार निरीक्षणाधिकृत विभाग (काज–बलाध्यक्ष विभाग) मा कार्यरत प्रमुख सेनानी शिवप्रसाद पौडेललाई सेनापतिको कार्यालयमा सरुवा गरिएको छ ।
प्रभुरामसँग काम गरेका जीवन शर्मा प्रशासन तथा व्यवस्थापन महाशाखा (सैनिक हवाई सेवा) तिर पुग्दा सैनिक आवासीय महाविद्यालयका दीपक टण्डन क्षेत्रीले आइन्दा प्रधानसेनापतिको कार्यालयमा हाजिर गर्नेछन् । नम्बर ३ बाहिनी अड्डा, पोखराका लेफ्टिनेन्ट कर्णेल कमल केसी पनि प्रधानसेनापतिको कार्यालयमा खटिनेछन् । सेनानी पवन विष्ट गुणस्तर नियन्त्रण महाशाखातिर पुगेका छन् । उनी भैरवीदल गणमा थिए । फष्र्ट राइफल गणका मेजर विकास गुरुङलाई प्रधानसेनापतिको कार्यालयमा ल्याइएको छ । सेनानी भावना केसी भने त्यहाँबाट प्रशासन तथा व्यवस्थापन महाशाखा (सैनिक हवाई सेवा) तिर पुगेकी छन् ।
नयाँ सबुज गणमा सेनानी सुविना राणा आएकी छन् । उनी सैनिक परिवहन (मुभकन) महाशाखामा थिइन् । गरुडदल गणका सज्जनध्वज थापालाई उपत्यका पृतना हेडक्वार्टर सरुवा गरिएको छ । नम्बर २२ बाहिनी अड्डाका मेजर प्रवल देउवालाई प्रधानसेनापतिको कार्यालयमा खटाइएको छ । प्रधानसेनापतिको कार्यालयमा कार्यरत सेनानी रघुनाथ रूपाखेती नम्बर ६ बाहिनी अड्डा, बैरेनी पुगेका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टरका सेनानी विश्वास थापा प्रधानसेनापतिको कार्यालयमा आएका छन् । सेनानी प्रमोद अधिकारीको पशुपतिप्रसाद गणमा सरुवा भएको छ । उनी नरसिंहदल गणमा थिए ।
मेजर अनिषा खड्कालाई प्राड विवाक (कानुन) मा लगिएको छ । उनी नम्बर ६ बाहिनीमा थिइन् । फष्र्ट राइफल गणका क्याप्टेन रमेश नेपालीलाई अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमा सरुवा गरिएको छ । सहसेनानी ईन्द्रकुमार खड्कालाई मध्यपश्चिम पृतना तालिम शिक्षालय ल्याइएको छ । उनी शेर गणमा थिए । मध्यपूर्वी पृतना तालिम शिक्षालय जाने अर्का सहसेनानी सुमित भण्डारी हुन् । उनलाई नम्बर २ राजदल गणबाट त्यता सरुवा गरिएको हो । रुद्रध्वज गणका सहसेनानी प्रशान्त केसीलाई स्वास्थ्य सेवा महाशाखामा खटाइएको सैनिक सचिव विभागले जनाएको छ । प्रधानसेनापतिको कार्यालयमा कार्यरत सहसेनानी कृति राई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान पुगेकी छन् । सहसेनानी सलिना खड्कालाई एकीकृत सैनिक बन्दोबस्ती शिक्षालय पु¥याइएको छ । उनी नम्बर १६ बाहिनी अड्डामा थिइन् ।
युद्धभैरव गण (काज–प्रधानसेनापतिको कार्यालय) का सहसेनानी अमित लामालाई पुरानो गोरख गण लगिएको छ । लेखा सहसेनानी सपना साह प्रधानसेनापतिको कार्यालय पुगेकी छन् । उनी बहुव्यवसाय उद्योग कार्यालय (पहिरन सामग्री शाखा) मा थिइन् । प्राड सहसेनानीद्वय हरिचन्द्र खड्का नम्बर ९ बाहिनी प्राड र राज सिलवाल नम्बर ५ बाहिनीमा सरुवा भएका छन् । उनीहरू क्रमशः नम्बर २६ बाहिनीमा थिए । उपसेनानी अभिमानसिंह थापा सरुवा भएर चण्डीदल गणबाट युद्धकवच गण गएका छन् । क्याप्टेन मुना कार्की नम्बर ६ बाहिनीमा सरुवा भएकी छन् ।
सविना बुढाथोकीलाई कानुनमा खटाइएको छ । उनी नम्बर ३ बाहिनीमा थिइन् । सुनिता बोहरालाई नम्बर २६ बाहिनीमा काज सरुवा गरिएको छ । त्यस्तै, उपसेनानी सिग्मा कुँवरलाई नम्बर २७ बाहिनी मध्यपूर्वी पृतनामा काजमा खटाइएको छ । रणदल गुल्ममा उपसेनानी वसन्तकुमार खड्का आएका छन् । उनी अर्जुनवाण गणमा थिए । गुरु गोरख गुल्ममा चण्डीप्रसाद गणका उपसेनानी घनश्याम भट्टराई आएका छन् । नयाँ रणभीम गुल्ममा रणसिंहदल गणका उपसेनानी बालकृष्ण अर्यालको सरुवा भएको छ । उपसेनानी सविन्द्र शाह भैरव गणबाट समशेर गुल्म पुगेका छन् । देवीबक्स गुल्ममा उपसेनानी श्यामचन्द्र श्रेष्ठलाई ल्याइएको छ । उनी रणशार्दुल गणमा थिए । प्राड उपसेनानी आरती अर्याललाई नम्बर ३ बाहिनी (पश्चिम पृतना), सुरुची बिडारीलाई नम्बर २ बाहिनी (पूर्वी पृतना), रमेश बस्नेतलाई नम्बर ७ बाहिनी (मध्य पृतना) र दीपक बस्न्यातलाई नम्बर २२ बाहिनी (मध्यपश्चिम पृतना) मा काजमा पठाइएकोे छ ।
टिप्पणीहरू